२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिउँ छिचोल्दै सीमामा नेपाली सुरक्षाकर्मीको गस्ती



अ+ अ-

सिमकोट (हुम्ला)। चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् । हिल्साको सीमा सुरक्षा चौकीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ । अहिले यहाँको तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरिसकेको र अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे दिनुभयो ।

बिहान उठ्दा धारा, शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी दिँदै जटिल अवस्थामा पनि सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर गस्ती जारी राखिएको उहाँले स्पष्ट पार्नुुभयो । बीओपीमा २० देखि २५ जना सुरक्षाकर्मी बस्नुपर्नेमा हिल्सामा हाल २० जना छन् । चार हजार छ सय मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ छ र हावा पनि लाग्ने भएकाले समस्या हुने गरेको छ । हिल्सा कर्णाली नदीको गहिरो खोँचमा भएका कारण हिउँदमा घाम पनि थोरै समय लाग्छ । हावा पनि त्यतिकै चल्ने भएको हुँदा त्यहाँको बसाइँ कष्टकर हुने गरेको छ । हिमपातका कारण मङ्सिरदेखि चैतसम्म नारा लेकमा आउजाउ बन्द हुन्छ ।

पारिपट्टि चिनियाँ सुरक्षाकर्मी पक्की घरमा बस्दै आएको भए पनि नेपाली सुरक्षाकर्मीलाई भाडाको घरमा बस्नुपर्ने बाध्यता छ । प्रतिकूल अवस्थाका कारण सीमा सुरक्षा पोस्टमा खटिने सुरक्षाकर्मीका लागि छ महिना पुग्ने राशनपानी, दाउरा र अन्य बन्दोबस्तीका सामान हिल्सामा व्यवस्था गरिसकिएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआईजी राजु अर्यालले
जानकारी दिनुभयो ।

अन्य सञ्चार माध्याम नभएको हिल्सामा चौकीका लागि सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा सम्पर्क हुने गरी एक लाइन भिस्याट फोन जडान गरिएको छ तर त्यो घाम लागेको दिन मात्र सञ्चालन गर्न सकिने इञ्चार्ज केसीले बताउनुभयो । नेपाल प्रहरीको हिल्सामा रहेको चौकी केही समयअघि सदरमुकाम फिर्ता भइसकेको छ । गोरखापत्र दैनिक