५ मंसिर २०८१, बुधबार
,
Latest
अराजकता फैलाउने ९ युट्युव कारवाहीमा देशका अधिकांश भागमा आज मौसम सफा रहने शान्ति सम्झौताको १८ वर्ष : न्यायको प्रतीक्षामा पीडित अनुकूलन कोषको ‘एनआइई’ मा ‘एनटिएनसी’ छनोट, अब अनुकूलन वित्तमा नेपालको सोझै पहुँच चुरे दोहनका कारण जटिल समस्या उत्पन्न हुँदैछ: मन्त्री यादव सेवा प्रवाहका लागि उपकरण र जनशक्ति आवश्यक स् स्वास्थ्यमन्त्री पौडेल डडेल्धुरामा जीप दुर्घटना: दुईको मृत्यु, सात घाइते पोखरामा नियमित अन्तर्राष्ट्रिय उडानका लागि प्रधानमन्त्रीलाई आग्रह युक्रेनलाई हतियार दिने बाइडेनको निर्णयपछि पुटिनद्वारा नयाँ रुसी आणविक सिद्धान्तमा हस्ताक्षर उपनिर्वाचन पर्यवेक्षण गर्न नौ संस्थाले पाए अनुमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्याउखेतीले मनाङका किसानको आम्दानी बढाउँदै



अ+ अ-

मनाङ । यहाँका किसान विकासे स्याउखेतीतर्फ आकर्षित भएसँगै अधिकांशको घरमा स्याउखेती फैलिएको छ । पछिल्लो समय परम्परागत स्याउखेतीलाई छोडेर व्यावसायिक खेतीलाई अङ्गाल्ने किसान जिल्लामा बढ्दै गएका हुन् ।

नासोँ गाउँपालिका–८ ताचैका सोलबहादुर गुरुङका परिवार व्यावसायिक स्याउखेतीमा आवद्ध हुनुहुन्छ । यसअघि परम्परागत खेती गर्दै आएको बताउँदै सोलबहादुर अहिले विकासे (हाइब्रिड) स्याउखेती गर्न थालेको उल्लेख गर्नुभयो ।

सोलबहादुरले भन्नुभयो, “परम्परागत शैली र स्थानीय प्रजातिबाट हुने उत्पादनको तुलनामा विकासे प्रजातिबाट बढी उत्पादन हुने भएकाले यसतर्फ आकर्षित भएका हौँ । अहिले बारीमा स्थानीय स्याउ कम छन् । आम्दानी वृद्धि हुँदै गएपछि विकासे स्याउखेती गरिरहेका छौँ ।”

उत्पादन बढी हुने र बजार माग पनि बढी भएकाले विकासे स्याउखेतीतर्फ लागेको किसान सोलबहादुरले बताउनुभयो । पछिल्लो समय विकासे स्याउबाट प्रशस्त उत्पादन हुन थालेको उहाँले जानकारी दिनुभयो ।

उत्पादन वृद्धि र स्याउको बजार माग राम्रो हुँदा अहिले यहाँका अधिकांश किसानले विकासे स्याउखेती गरिरहेका एग्रो मनाङका संस्थापक पोल्देन छोपाङ गुरुङले बताउनुभयो ।

विदेशबाट बिरुवा ल्याएर जिल्लामा विकासे स्याउखेती सुरु गरिएको जनाउँदै अहिले जिल्लाभर विस्तार भएको जिल्लास्थित कृषि ज्ञान केन्द्रले जनाएको छ ।

एग्रोका संस्थापक गुरुङले चार रोपनी क्षेत्रफलमा उच्च प्रविधिको ‘हाई डेन्सिटी’ प्रविधिबाट विकासे स्याउखेती सुरु गरेको जानकारी दिनुभयो । “फार्मले सुरुमा इटाली र सर्बियाबाट धेरै फल तथा उत्पादन दिने प्रजातिका विकासे स्याउका बिरुवा ल्याएर खेती थालेको थियो । यहाँबाट फुजी, गाला, गोल्डेन र रेड डिलिसिस प्रजातिका स्याउखेती विस्तार भएका छन्”, उहाँले भन्नुभयो । उहाँका अनुसार छ वर्षअघि विस्तार गरिएको विकासे स्याउखेती अहिले जिल्लाभर विस्तार भइरहेको छ ।

यस प्रजातिको स्याउखेतीले करिब दुई वर्षमा उत्पादन दिने भएपछि यसतर्फ किसान आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख मदन रेग्मीले बताउनुभयो । उत्पादन बढेसँगै किसानको आयस्तरमा वृद्धि हुँदै गएको उहाँले उल्लेख गर्नुभयो । उहाँका अनुसार बर्सेनि उत्पादन बढ्दै जाने भएकाले हाइब्रिड स्याउखेतीलाई किसानले पछ्याउन थालेका हुन् । यसले स्थानीय स्याउखेतीलाई केही असर गरेको उहाँको भनाइ छ ।

मनाङको तल्लो क्षेत्रबाट माथिल्लो क्षेत्रसम्म विकासे स्याउखेती विस्तार भइरहेको प्रमुख रेग्मीले बताउनुभयो । स्थानीय प्रजातिका स्याउखेतीलाई परिस्कृत गर्दै आम्दानी बढाउन विकासे स्याउखेतीमा आकर्षण बढ्दै गएको छ ।

स्थानीय प्रजातिको स्याउखेतीबाट मेहनतअनुसारको आम्दानी नहुने भएकाले अहिले यहाँका किसान विकासे स्याउखेती गर्न थालेका छन् । प्रमुख रेग्मीका अनुसार १३ हजारभन्दा बढी क्षेत्रफलमा विकासे स्याउखेती विस्तार गरिएको छ ।

मनाङमा उत्पादित स्याउको बजार पोखरा, काठमाडौँ, चितवनलगायत जिल्ला हुन् । यहाँ उत्पादित स्याउ स्वदेशमा मात्रै नभई विदेशमासमेत निर्यात हुने गरेको कृषि ज्ञान केन्द्रले जनाएको छ । यहाँको स्याउ लमजुङको बेँसीसहर हुँदै पोखरा, नारायणगढ, काठमाडौँसम्म पुग्दछ । रासस