विजय बस्याल
पोखरा त साँच्चिकैको पोखरा पो रैछ…….
फेवातालमा माछापुच्छ्रे पौडी खेल्दो रैछ ।
प्रेमप्रकाश मल्लको धेरै पुरानो यो गीत अहिले झन् सान्दर्भिक छ, झनै जनजिब्रोमा झुण्डिएको छ । मानिसले पोखरा हेरेपछि बल्ल त्यसको सुन्दर रहस्य खुल्छ, अनि त यो गीत नगुनगुनाएर धरै छैन ।
पोखरा, जति जति मौसम सामुन्ने खुल्छ त्यति त्यति यसको भेद खुल्छ कि प्रकृतिले कुनै एक ठाउँलाई कतिसम्म बरदान दिएको छ भनेर । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा पौडी खेल्दा देखिने दृश्यको बयान गर्ने शब्द सितीमिती पुग्दैन साहित्यकारसँग ।
पहिलो पटक आउने हुन् या पटक पटक यो दृश्य देख्दा नलोभिने कोही छैन । फेरि अर्काे एउटा के तथ्य पनि पोखराले बोकेको छ भने एकमात्र होइन पटकौँ पुगेर पनि अघाउँदैनन् मानिस । अनि त्यहाँ पुग्ने हरेकले भन्ने गर्छन्– पोखराले सुन्दरता त पाएकै हो, जसको रसस्वादनले कैयौँ पटक पनि अघाउँदैन मानिस ।
पोखराको सौन्दर्यसँग जोडिएका आकर्षक वस्तु हुन् हिमाल र ताल हुन् । अनि पृथ्वीको गर्भबाट निर्मल आवाज दिँदै कलकल बग्ने सेती नदी । उत्तरतर्फ देखिने माछापुच्छ्रे, अन्नपूर्ण र धौलागिरि हिमशृङ्खलाको त झन् कुरै भएन ।

यहाँका अरु धेरै आकर्षमध्यका यी प्रमुख हुन् । फेवा, रुपा, वेगनास, गुँदे, दिपाङ, खास्टे, निउरेनी, मैदी र कमलपोखरीजस्ता नौ ताल त छँदै छन् । नौ तालले सिगारिएको पोखरा उपत्यकाका शान्ति स्तुपा, पातले छाँगो (डेभिज फल्स), गुप्तेश्वर गुफा, चमेरे गुफा, महेन्द्र गुफा, विन्ध्यवासिनी आदि थप गहना हुन् ।
अनि पछिल्लो समय पोखरामा थपिएको पहिचान हो विविध साहसिक खेल र त्यसको अगुवा खेल हो– प्याराग्लाइडिङ । त्यसपछि जिप फ्लायर, टावरसहितको बञ्जी जम्प, अल्ट्रालाइट, क्यानोनिङ, हट एयर बेलुन, स्काइ डाइभ, सँगै पर्यटकले रमाइलोका लागि गर्ने साइकलिङ्, बोटिङ्ग, घोडा सवारी, सेती नदीमा गरिने र्याफ्टिङ पनि छँदै नै छन ।

अहिले पोखराको सुन्दरताको रसस्वादन गर्न प्रयोग हुने साहसिक खेलको नमूना हो– प्याराग्लाइडिङ । यतिखेर पोखरामा लोकप्रिय यो उडानका लागि लगभग स्वदेशी तथा विदेशी पर्यटकहरु नै लाम लागेको सुनिन्छ । यतिराम्रो पोखरालाई वेलुनमा चढेर हेर्न पाएपछि मानिस नजाउन् पनि कसरी ? मैले पनि यही सुन्दर पोखराको सुन्दर निलो आकाशबाट चिहाएको यो दृश्य यहाँ प्रस्तुत गरेको छु ।













