१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना News Polar धितोपत्र दलाल व्यवसाय सुदृढीकरण नीति लागू News Polar सर्भेयर खटाउने प्रक्रियालाई पारदर्शी बनाउन ‘अटोमेटिक सर्भेयर डेपुटेसन’ प्रणाली, परीक्षण सुरु News Polar ‘ठमेल पर्यटन भेन्ट्रान्स कप’ फुटबल प्रतियोगिताको उपाधि जोरपाटीलाई News Polar अन्तर्राष्ट्रिय नतिजाका लागि खेलकुद क्षेत्रमा लगानी बढाउनुपर्छः मन्त्री पोखरेल News Polar सङ्गीतको सङ्गम बन्यो नीर शाहको पलेँटी News Polar मुख्यमन्त्री शाहीसँग मन्त्रीहरूको कार्यसम्पादन सम्झौता News Polar नाला सफाइ गरी पानीको निकास खुलाइयो News Polar निर्माणाधीन दार्चुला अस्पताल पुस मसान्तमा सम्पन्न हुने News Polar ‘महिला आन्दोलनको सहखोजीः सन्धान सङ्ग्रह’ प्रकाशित News Polar वामआन्दोलनलाई बलियो बनाउने चाहना छः भण्डारी News Polar अध्यक्ष र कर्मचारीमाथी भएको दुर्व्यवहारबारे प्रेस काउन्सिलको ध्यानाकर्षण News Polar वर्षाले पाल्पाका सडक क्षतिग्रस्त, पुलसमेत जोखिममा News Polar प्रधानमन्त्री बर्नहमद्वारा बेलायतका लागि ‘विशेष’ योजना ल्याउन लागेको दावी News Polar मुख्यमन्त्री पाण्डेद्वारा बाढी प्रभावित क्षेत्रको निरीक्षण News Polar छ दिनदेखि अवरुद्ध कालीगण्डकी करिडोर अझै सञ्चालन हुन सकेन News Polar हिमालय एअरलाइन्सको काठमाडौँ–सांघाई–काठमाडौँ सिधा उडान पुनः सञ्चालन News Polar लामो दूरीका सवारीसाधनमा दुई चालक अनिवार्य News Polar न्वागी पर्व मनाउँदै आठपहरिया News Polar किसान सूचीकरणमा उल्लेखनीय वृद्धि, करिब ३ लाख किसान थपिए

बालबालिकाको पहिचानको दस्तावेज जन्मदर्ता प्रमाणपत्र पाउनै कठिन

बालबालिकाको पहिचानको दस्तावेज जन्मदर्ता प्रमाणपत्र पाउनै कठिन
अ अ+ अ-

काठमाडौँ । जन्मदर्ता बालबालिकालाई पहिचान दिने महत्वपूर्ण कानूनी दस्तावेज भए पनि पाउन कठिन हुने गरेको पीडितको गुनासो छ । बाल अधिकारसम्बन्धी महासन्धि १९८९ को धारा ७ मा जन्मनासाथ बालबालिकाको जन्मदर्ता गरी औपचारिक नाम पाउने र राष्ट्रियताको अधिकार एवं सम्भव भएसम्म बाबुआमा थाहा पाउने र स्याहार पाउने अधिकारको व्यवस्था गरेको छ । 

यो महासन्धिको नेपाल पक्ष राष्ट्र हो । नेपालले बनाएका कानून यो महासन्धिसँग बाझिएमा खारेज हुने व्यवस्था छ । तर अझै धेरै नेपाली बालबालिकाले जन्मदर्ताको प्रमाण पत्र पाउन सकेका छैनन् । 

महिला, कानून र विकास मञ्च तथा साथसाथ संस्थाको सहकार्यमा आज राजधानीमा भएको ‘जन्मदर्ताका कानूनी व्यवस्था र व्यवहारमा आइपरेका कठिनाइ’ विषयक अन्तरक्रियामा बाबु पाण्डे, सञ्जय राई र रिया तामाङले जन्मदर्ता प्रमाणपत्र नपाउँदाका पीडा सुनाउनुभएको छ । 

घटना दर्तासम्बन्धी चेतना नभएका कारण धेरै समस्या देखिएको कार्यक्रममा जानकारी गराइएको छ । बालबालिका कक्षा ८ मा पुगेपछि विद्यालयले जन्मदर्ता प्रमाणपत्र माग्छ । त्यसपछि मात्र धेरै अभिभावक जन्मदर्ता गराउन वडा कार्यालय पुग्ने गरेको भेटिएको साथसाथ संस्थाकी कार्यकारी अधिकृत कविता शाहले सुनाउनुभयो । 

पशुपति मित्र माध्यमिक विद्यालय चावहिलमा अध्ययनरत रिया तामाङ पनि यसको प्रतिनिधि पात्र हुनुहुन्छ । बाबुको निधन भएको र आमालाई स्थायी ठेगानासमेत थाहा नभएकाले उहाँले यो समस्या भोग्नुपरेको छ । अन्तिममा वडा कार्यालयको पत्रका आधारमा जन्मदर्ता भएर तामाङले ८ कक्षा पढ्न पाउनुभयो । पाण्डे र राईले जन्मदर्ता प्रमाणपत्र नभएकै कारण विभिन्न समस्या भोग्नुपरेको छ । कोही नभएर पहिले हेल्प नेपालको बालगृह र पछि पशुपति क्षेत्रमा बसेर जीवन गुजारा गर्नुभएका पाण्डेले भारत गएर रोजगारी गरी जम्मा गरेको पैसा जन्मदर्ता प्रमाणपत्रसमेत नभएकाले वचत गर्न पाउनुभएन ।

 तेक्वान्दो शिक्षकका रूपमा कार्यरत राईले जन्मदर्ता एवं नागरिकता नभएकाले विद्यालयमा सिकाउँदा विभिन्न समस्या झेल्नुपरेको छ । कानूनी पहिचानको कागजात नहुँदाका समस्या भोग्ने तामाङ, पाण्डे र राई प्रतिनिधि पात्रमात्र हुनुहुन्छ । यस्ता समस्या देशभर हजारौँ छन् । जसको समाधानका लागि कानूनी एवं व्यावहारिक समस्या समाधानका लागि नीति निर्माताको प्राथमिकतामा परेको छैन ।

संस्थाले विगत तीन वर्षदेखि काठमाडौँ महानगरपालिकाको वडा नं ८, ९ र १५ क्षेत्रका ५१७ बालबालिकाको घटना दर्तामा काम गरेको कार्यकारी अधिकृत शाहले सुनाउनुभयो । तीन सय ७९ जना सडक बालबालिकाको घटनालाई अहिले पनि संस्थाले जन्मदर्ता प्रमाणपत्र दिलाउन पछ्याइरहेको छ । यसमध्येको ८५ बालबालिकासँग कुनै पनि कागजात नहुँदा समस्या पर्ने गरेको छ । यसले गर्दा घटना दर्ता गराउन मुस्किल हुने गरेको छ । संस्थाको पहलमा १३८ सडक बालबालिकाको भने जन्म दर्ता भएको छ । 

कानूनी द्विविधाका कारण जन्मदर्तामा समस्या

मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठ बालबालिकाको पहिचानको तत्व नै जन्मदर्ता भए पनि यसको प्राप्तिमा हैरानी भोगेको गुनासा आउने गरेको बताउनुहुन्छ । जन्मदर्ता गराउन पाउने बालबालिकाको संविधानप्रदत्त मौलिक हक भए पनि कानूनमा भएका द्विविधाका कारण समस्या आउने गरेको उहाँको भनाइ छ । 

संविधानअनुसार नेपालमा जन्मिएका सबै बालबालिकाको जन्मदर्ता हुने व्यवस्था भए पनि कानूनलाई देखाउँदै स्थानीय पञ्जिकाधिकारीले दर्ता गर्न नमान्ने गरेका छन् । मुलुकी देवानी संहिता, २०७४ ले बालक जन्मिएको तीन महिनामा जन्मदर्ता गर्नुपर्ने उल्लेख गरेको छ भने बालबालिका पञ्जीकरण ऐन, २०७६ ले ३५ दिनभित्र जन्मदर्ता गर्नुपर्ने व्यवस्था गरेको छ । बालबालिकासम्बन्धी ऐन, २०७५ मा पनि जन्मदर्ताका विषयमा व्यवस्था गरेको छ ।

तीनवटै कानूनमा आमा वा बाबुले सूचना दिएमा जन्मदर्ता गर्ने व्यवस्था छ । आमाबाबु नभई सम्बन्धित स्थानीय तहको क्षेत्रमा पाइने बालबालिकाका सम्बन्धमा सम्बन्धित वडाध्यक्षले दिएको सूचनाका आधारमा जन्मदर्ता गर्ने गरी वडा पिता वा माताको व्यवस्था भएको अधिवक्ता श्रेष्ठ बताउनुहुन्छ । 

“पञ्जीकरण नियमावली, २०७६ को अनुसूची १० मा निवेदन दिने विषयमा बाबु बेपत्ता वा ठेगाना पत्ता नलागे सोसम्बन्धी प्रहरी प्रतिवेदन चाहिने उल्लेख छ, यो व्यवस्थाले संविधानभन्दा ऐन ठूलो र ऐनभन्दा नियमावली ठूलो भन्ने देखिएको छ, यो व्यवस्था गलत भएको छ”, उहाँले भन्नुभयो । 

जन्मदर्तासम्बन्धी सर्वोच्च अदालतका केही निर्णय भए पनि तिनलाई नजीरका रूपमा कार्यान्वयन नगर्दा बालबालिकाको जन्मदर्ता गर्न जाने अभिभावकलाई कठिनाइ हुने गरेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका निर्देशक विनीता भट्टराई राज्यभित्र जन्मने सबैको जन्मदर्ता गर्ने व्यवस्था रहेको बताउनुहुन्छ । दुई कारणले जन्मदर्तामा समस्या हुने गरेको उहाँले सुनाउनुभयो । एउटा कारण घटना भएपछि सूचना दिने कुरा सूचकलाई थाहा नहुँदा आवश्यक परेपछि मात्र स्थानीय पञ्जिकाधिकारीकहाँ पुग्ने गरेका छन् ।

दोस्रो कारण सूचकलाई जन्मदर्तालगायत घटनाका बारेमा सूचना दिने सम्बन्धमा जनचेतना जगाउन सकिएको छैन । ऐनमा भएको व्यवस्थाका कारण आएका समस्या समाधानका लागि संशोधन गर्न एक वर्षअघि नै कानून मन्त्रालयमा पठाएकामा सरकार परिवर्तनका कारण सकिँदैन भन्ने जवाफ आएको निर्देशक भट्टराईले सुनाउनुभयो । 

देशभरका छ हजार ७४३ वटै वडामा स्थानीय पञ्जिकाधिकारीका रूपमा काम गर्ने वडा सचिव नभएका कारण पनि समस्या आएको छ, एउटै सचिवले १३ वटासम्म वडा हेरेकाले पनि समयमै जन्म, विवाह, मृत्यु, सम्बन्धविच्छेदलगायत व्यक्तिगत घटना दर्तामा समस्या छ, पञ्जीकरण कानून न राज्यले बुझ्यो न नागरिकले”, उहाँले भन्नुभयो ।

पञ्जीकरणका विषयमा ऐनमा अस्पष्टता भएपछि विभागले कार्यविधिसमेत बनाएको छैन । स्थानीय पञ्जिकाधिकारीको स्थायित्व नहुँदा पनि घटना दर्तामा समस्या आउने गरेको छ । विभागले तालिम दिएको केही समयमै वडा सचिव सरुवा हुने गरेकाले यो समस्या आएको हो । यसैले पञ्जीकरणसम्बन्धी हाते कागजात तयार पारेर काम गर्न लागिएको विभागले जनाएको छ ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव शान्तिराज प्रसाईं बालबालिकाको रेखदेख गर्नेले पनि घटना दर्ता गर्नसक्ने व्यवस्था भएकाले कानूनीरूपमा समस्या आउनुपर्ने कारण नरहेको बताउनुहुन्छ । अरु कानून बाझिए पनि बालबालिकाको विषयको सम्बोधन बालबालिकासम्बन्धी ऐनअनुसार गरेमा कुनै समस्या नआउने उहाँले सुनाउनुभयो ।

 राष्ट्रिय बाल कल्याण परिषद्का कार्यक्रम अधिकृत नमूना भुसाल स्थानीय तहमा बाल कल्याण अधिकारी राख्नुपर्ने कानून व्यवस्था कार्यान्वयन गरेर जन्मदर्तालगायत बालबालिकाका समस्या समाधानमा समन्वयको काम गराउन सकिने सुझा दिनुहुन्छ । विद्यार्थी ८ कक्षामा पुगेपछि परिषद्मा पनि जन्मदर्ताको प्रमाणपत्र माग्न आउने गरेको उहाँले सुनाउनुभयो । रासस