२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

म विदुषी होइन, सानोतिनो त्रुटि हुँदा क्षमा दिनुहोला: चन्द्रकला सखी



अ+ अ-

काठमाडौँ । राजधानीको पशुपतिस्थित वनकाली क्षेत्रमा आयोजित कोटिहोममा प्रवचन दिने क्रममा ‘ट्रोल’ भएपछि लन्डनबाट आएकी कथावाचिका चन्द्रकला सखीले आफ्नो गल्ती स्वीकार गरेकी छन् ।

प्रवचनका क्रममा उनले ‘गोरुको प्रिय भोजन मयूर’ भनेपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भइरहेको छ ।

आलोचित हुनुपरेपछि उनले आफू कुनै विदुषी नभएकाले सामान्य त्रुटिहरू हुनसक्ने बताएकी हुन् । उनले भनिन्, ‘जिभ्रोको स्वभावै चिप्लिनु हो । बोल्दा कहीँकतै जिभ्रो चिप्लिन पनि सक्छ । त्यसलाई ध्यानमा नदिएर कथाको उद्देश्य के हो, विषयवस्तु के हो, त्यसतिर ध्यान आकर्षण गर्नुपर्छ’, ।

आफु कुनै पण्डित, विदुषी नरहेको बताउदै उनले सानी बालिकाले बोलेको सम्झेर क्षमा गरिदिनहुन आग्रह गरिन् । उनले थप भनिन्, ‘म कुनै विद्वान होइन । म कुनै पण्डित, विदुषी होइन । जसको कारण यहाँ प्रस्तुत गर्ने कुरामा कहीँ कतै त्रुटिहरू हुन सक्लान् । त्यसलाई हजुरहरुले पक्कै पनि एउटा सानी बालिकाले बोलेको सम्झेर क्षमा गर्नुहुन्छ होला ।’

चन्द्रकलाले बोलेको यस्तो थियो:

शिवजीले गलामा के लगाउनुहुन्छ? सर्पलाई धारण गर्नुहुन्छ । शिवजीको बहान गोरु हुनुहुन्छ । माता पार्वतीको बहान सिंह । कार्तिकेयको बहान हो मयूर । फेरि गणेशजीको बहान हो मुसा । त, सिंह जो छ, साइन्समा भनिएको छ, इकोलोजी सिस्टममा भनिएको छ, कि सिंहको अत्यन्त प्रिय भोजन भनेको गोरु हो । गोरुको अत्यन्त प्रिय भोजन मयूर हो । त्यस्तै मयूरको प्रिय भोजन सर्प र सर्पलाई अत्यन्तै मन पर्ने भनेको मुसा हो । तर, शिव परिवारभित्र एक(आपसमा कहिले पनि कलह झगडा छैन । यसबाट हामीले के बुझ्नुपर्छ भने हामी अनेकौं जातजाति त छौं, सबैले एकसाथमा मिलेर बस्न सक्छौं । मिलेर बस्नुपर्छ । जुन राष्ट्रमा पशुपतिनाथ हुनुहुन्छ, त्यो राष्ट्रमा कलह कसरी हुन सक्छ ?