१९ असार २०८३, शुक्रबार
,
Latest
सामुदायिक शिक्षाको गुणस्तर सुधार गरी दक्ष जनशक्ति उत्पादन गरिने शिक्षामन्त्रीद्वारा विश्वविद्यालयका नवनियुक्त उपकुलपतिको शपथ    जगदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ ३६ लाख मूल्यका भन्सार छलीका सामान बरामद हेलिकप्टरबाट यात्रु र सवारी खोजी गर्न निर्देशन बर्डफ्लु सङ्क्रमणबाट सचेत र सुरक्षित हुन आग्रह प्रहरीसँग गोली हानाहान, लागुऔषध कारोबारी पक्राउ बैतडीमा बस दुर्घटना : घाइतेको सङ्ख्या २० पुग्यो एमालेको नजरमा सरकारको १०० दिन: सुशासनको आवरणमा प्रतिशोध र स्वेच्छाचारिता जनअपेक्षा सम्बोधन गर्दै सुशासनको जग बसाल्न सरकार सफल भयोः सभापति लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिग्रिए सिसी क्यामरा : थपिए सुरक्षा चुनौती



अ+ अ-

झापा । मेचीनगरका विभिन्न चोक, बजार र राजमार्गमा राखिएका सिसी क्यामरा बिग्रिएर काम नलाग्ने भएका छन् । 

पूर्वी नाका काँकडभिट्टासमेत रहेको मेचीनगरका विभिन्न ठाउँमा राखिएका सिसी क्यामेरा बिग्रिएर काम नलाग्ने भएका हुन् । सुरक्षा दृष्टिकोणले संवेदनशील मानिएका ठाउँमा राखिएका सिसी क्यामेरा मर्मत गर्ने वा नयाँ जडान गर्ने भरपर्दो प्रयास अहिलेसम्म हुनसकेको छैन् । 

काँकडभिट्टा क्षेत्रमा दुई वर्षअघि स्थानीय तहसँगको साझेदारीमा २३ वटा सिसी क्यामेरा जडान गरिएका थियो । तीमध्ये अधिकांश क्यामेरा बिग्रिएर काम नलाग्ने भइसकेको इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक राजेन्द्र पोखरेलले जानकारी दिनुभयो । 

‘हङकङ मार्केट’को रुपमा परिचित धुलाबारी बजारको हालत पनि उस्तै छ । दुई वर्ष अघि नै धुलाबारी ट्राफिक प्रहरी बिटका हबल्दार योगेन्द्र थापाले आफ्नो तलब र स्थानीयवासीको स्वेच्छिक सहयोगमा मुख्यचोकमा चार वटा सिसी क्यामेरा जडान गर्नुभएको थियो । ती क्यामेरा अहिले बिग्रिएको अवस्थामा झुण्डिरहेको छ भने बिटमा राखिएको कन्ट्रोल रुममा थोत्रो टिभी स्क्रिन मात्र रहेको छ ।

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष रवीन बस्नेतले थोत्रिएका सिसी क्यामेरामर्मत गर्नुभन्दा नयाँ सिसी क्यामेरा जडान गरिनुपर्ने आवश्यकता औल्याउनुभयो । उहाँले स्थानीय सरकारसँगको साझेदारीमा नयाँ सिसी क्यामेरा किनेर जडान गर्ने योजना अघि बढाइएको बताउनुभयो । 

अन्तरराष्ट्रिय नाकाका रुपमा रहेका मेचीनगरको काँकडभिट्टा र धुलाबारीमै सिसी क्यामेराको यो हालत हुनुले सुरक्षा जस्तो संवेदनशील विषयमा नयाँ प्रविधिको प्रयोगप्रति भइरहेको चरम बेवास्तालाई झल्काएको छ ।

सिसी क्यामेराको सहायताले सीमा क्षेत्रमा हुने तस्करी, आपराधिक व्यक्तिहरुको गतिविधि र दुर्घटनामा संलग्नको पहिचान तथा नियन्त्रणमा ठूलो मद्दत पुग्छ । काँकडभिट्टा नाकाबाट सुरक्षा निकायको आँखा छलेर मानव तस्करी र लागुऔषधको ओसारपसारसमेत हुँदै आएको छ । सिसी क्यामेरा जडानपछि त्यसको सञ्चालनका लागि आवश्यक  पर्ने स्रोतको अभावमा मर्मत सम्भार हुन नसकेको हो । अर्कातिर समुदायले स्रोत जुटाएर जडान गरेका ती क्यामेराको सञ्चालनका लागि नगरपालिका र वडा कार्यालयले चासो दिएका छैनन् ।  

धुलाबारी बजार व्यवस्थापन समितिका अध्यक्ष बस्नेतले आपराधिक गतिविधि नियन्त्रणमा सिसी क्यामेरा महत्वपूर्ण भएको हुँदा हाल समिति नै बनाएर मेचीनगर–१० को खयरडाँगीदेखि वडा नं ९ को खुट्टेडाँगीचोकसम्म ५० वटा क्यामेरा जडान गर्न रकम सङ्कलन गरिरहेको बताउनुभयो । उहाँले चोकमा बिग्रिएका सिसी क्यामेरा मर्मत गर्नुभन्दा राम्रो क्वालिटीको क्यामेरा खरिद गरेर जडान गर्नेतर्फ समिति लागि परेको बताउनुभयो । 

समितिले रु दुई लाख, मेचीनगर नगरपालिकाले रु पाँच लाख, वडा नं १० ले रु तीन लाख र मेची चेम्बर अफ कमर्सले रु ५० हजार क्यामेरा जडानका लागि उपलब्ध गराइसकेको छ । ‘‘यो नै पर्याप्त बजेट होइन’’, उहाँले भन्नुभयो, ‘‘५० वटा क्यामेरा खरिद र जडानका लागि रु २० लाख खर्च लाग्छ । स्थानीयवासी, व्यापारी र व्यवसायीसँग समन्वय गरेर काम गर्ने सोच छ । हामी सफल हुन्छौं ।’’

इलाका प्रहरी कार्यालय काँकडभिट्टाका प्रहरी नायब उपरीक्षक पोखरेलले अपराध अनुसन्धानमा सिसी क्यामेरा प्रभावकारी प्रविधि भएको हुँदा चोकचोकमा जडानका लागि सबैले तदारुकता देखाउनुपर्ने बताउनुभयो । केही दिनअघि मेचीनगरका उपप्रमुख मीना उप्रेती सवार गाडीमा आक्रमण गर्न खोज्नेलाई सो स्थानमा सिसी क्यामेरा नभएका कारण तत्काल पक्राउ गर्न नसकिएको उहाँले बताउनुभयो ।

मेचीनगरका काँकडभिट्टादेखि चारआलीसम्म राजमार्ग क्षेत्रमा र बाहुनडाँगी बजार, भृकुटीलगायत नगरका विभिन्न ग्रामीण बजारमा सिसी क्यामेरा आवश्यक रहेको उहाँको भनाइ छ । ‘‘ क्यामेरा जडान गर्नु नै ठूलो कुरा होइन’’, उहाँले भन्नुभयो,‘‘जडानसँगै मर्मत सम्भारका लागि समेत स्रोत चाहिन्छ । त्यसको समेत जोहो हुनुपर्छ ।’’