२ कार्तिक २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भेडेटारको स्काइ वाक निर्माण सकियो, शुक्रबार मुख्यमन्त्रीले उद्घाटन गर्ने



अ+ अ-

काठमाडौं । धनकुटाको भेडेटारमा स्काइ वाक निर्माण सम्पन्न भएको छ । आन्तरिक तथा बाह्य पर्यटकको लागि हब नै मानिने भेडेटारलाई थप आकर्षक बनाउने लक्ष्यले स्काइ वाक निर्माण गरिएको हो ।

धनकुटा र सुनसरीको सिमानामा पर्ने भेडेटारमा रहेको भ्यु टावर भत्काएर स्काई वाकका लागि संरचना गरिएको हो । यो परियोजना सञ्चालनका लागि कोशी प्रदेश लगानी प्राधिकरणले २५ वर्षका लागि अनुमति दिएको छ । वण्डर्स अम्युजमेन्ट पाक्र्स एण्ड अट्याक्सन्स प्रालिले ३० करोड रुपियाँ लागतमा स्काइ वाक निर्माण गरिएको हो ।

स्काइ वाकको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले शुक्रबार गर्नुहुने छ । सार्वजनिक निजी साझेदारीमा निर्माण गरिएको कोशी प्रदेशको यो पहिलो परियोजना हो ।

५० मिटर लामो स्काइवाक क्यान्टिलिभर टावरको मोडलमा निर्माण भइरहेको हो । जहाँ एक पटकमा दुई सय जना हिँड्न सक्ने बताइएको छ । स्काइवाकको उचाइ एक सयदेखि ५ सय मिटरसम्म र चौडाइ ४ मिटर छ । घुम्तीमा १० मिटर रहने स्काइवाक धरानतर्फ ३९ मिटर लामो छ ।

भेडेटारमा निर्माण भएको यो स्काइ वाक दक्षिण एसियाकै साहसिक पर्यटकीय परियोजना हुने र भेडेटारको पर्यटन प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।