१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो News Polar भोटेकोशी बाढीपछिको प्रश्न-फेरि बाढी आउँदा हामी कति तयार छौँ? News Polar नयाँ अभ्यासले संसद्लाई बलियो बनाएको सभामुख अर्यालको दाबी News Polar धक्का खाए पनि दुई तिहाईको लक्ष्यमा पुग्न सकिन्छः अध्यक्ष ओली News Polar आइपियुमा जलवायु विपद्बारे नेपालले ‘आपतकालीन प्रश्ताव’ लैजाने, ५० देशको समर्थन News Polar रसुवा बाढीपछि शव व्यवस्थापन र आश्रयस्थलको खोजी मुख्य चुनौतीपूर्ण रह्योः प्रहरी News Polar अनलाइन हिंसामा परेकाले गर्दैनन् उजुरी News Polar जनकपुरधाममा प्रधानाध्यापकहरूको राष्ट्रिय शिखर सम्मेलनः शैक्षिक रूपान्तरणका लागि साझा कार्यदिशा तय हुने News Polar प्रधानमन्त्री कार्यालयका १५ उपलब्धि सार्वजनिक, विपद् व्यवस्थापनदेखि डिजिटल शासनसम्म प्राथमिकता

नौ वर्षपछि बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै

नौ वर्षपछि बागलुङमा ऐतिहासिक हनुमान नाच प्रदर्शन हुँदै
अ अ+ अ-

गण्डकी । नौ वर्षपछि हनुमान नाच सुरु हुन लागेको थाहा पाएपछि सोमबार हामी बागलुङ बजारको नारायणचोक पुग्यौँ । सूर्यास्तको समय भइसकेको थियो । घामका पहेँला किरणले नारायणचोक सुनौलो र मनमोहक देखिन्थ्यो । पुरानो लक्ष्मीनारायण मन्दिर, छेवैमा वरपिपल चौतारी, परम्परागत घर, पसल, गल्ली आदिले उहिलेको बागलुङ बजारको झल्को दिन्थ्यो ।

चौतारी र मन्दिरछेउ ढुङ्गा बिछ्याइएको चौडा गल्लीनेर हामी टक्क अडियौँ । जसलाई स्थानीय नेवार समुदायले ‘अखडा’का रूपमा लिने गर्छन् । हामी त्यहाँ पुग्दा स्थानीयवासीको चहलपहल सुरु भइसकेको थियो । पाकापुरानादेखि बालबालिकासम्म नारायणचोकमा भेला भएका थिए । केहीबेरमा नारायण मन्दिरको अघिल्तिरबाट मृदङ्गा र झ्यालीको ताल गुञ्जिन थाल्यो । ‘अखडा’मा लौरो समाएर तम्तयार भएका युवाहरू सोही तालमा लौरो जुझाउँदै नाच्न थाले । यो क्रम झण्डै डेढ घण्टा चल्यो ।

युवाहरू नौ वर्षको अन्तरालमा आगामी भदौ ११ देखि सुरु गर्न लागिएको ऐतिहासिक हनुमान नाचको प्रशिक्षण लिँदै थिए । नाच र वाद्यवादनमा पारङ्गतहरूबाट युवाहरूले उक्त कला सिकिरहेका थिए । बागलुङको नेवार समुदायमा प्रचलित हनुमान नाचको पूर्वाभ्यास सँगसँगै नयाँ पुस्तामा उक्त नाचबारेको ज्ञान, कला र शिल्प सिकाउने उद्देश्यले हनुमान नाच संरक्षण परिषद्ले सो प्रशिक्षण चलाएको हो । यही साउन १ गतेदेखि सुरु भएको उक्त प्रशिक्षण यो महिनाभर चल्नेछ ।

पहिलोपटक प्रशिक्षण लिइरहनुभएका अनिल प्रधानलाई हामीले नारायणचोक भेट्यौँ । ऐतिहासिक नाचको सदस्य कलाकार हुन पाउँदा आफू उत्साहित उहाँले हामीसँग सुनाउनुभयो । “म लगायत केही युवा साथी पहिलोपटक हनुमान नाच नाच्दैछौँ, अग्रजहरूबाट आफ्नो सांस्कृतिक नाच सिक्न पाउँदा हामी खुसी छौँ”, उहाँले भन्नुभयो । नेपाल भाषा मंका खल: बागलुङका सचिव सुदीप राजभण्डारीले आफू तेस्रोपटक हुनमान नाच नाच्न लागेको बताउनुभयो ।

“हाम्रा परम्परागत नाच, गीत नयाँ पुस्तामा हस्तान्तरण नहुँदा लोप हुने खतरा छ, यिनको जगेर्नाका लागि पनि बेलाबेलामा अभ्यास तथा प्रशिक्षण भइरहनुपर्छ”, उहाँले भन्नुभयो, “यसपालिको हनुमान नाचमा नयाँ पुस्ताको उल्लेख्य सहभागिता रहनेछ, नाचको अभ्यासका क्रममा पनि किशोर र युवाहरूको आकर्षण बढी देखिएको छ ।” प्रशिक्षण सहभागीमध्ये झण्डै ४० जना नाचका लागि छनोट हुनेछन् । तीमध्ये अधिकांश युवा रहनेछन् । वाद्यवादनतर्फ पनि आठदेखि दस जनासम्म छनोट हुने जनाइएको छ ।

विसं २०७२ पछि यो वर्ष विधिवत रूपमा हनुमान नाच देखाउने तयारी भइरहेको परिषद्का अध्यक्ष तीर्थप्रसाद श्रेष्ठले बताउनुभयो । त्यसअघि विसं २०६३ मा उक्त नाच प्रदर्शन गरिएको थियो । तीन, पाँच, सात र नौ गरी बिजोड वर्ष पारेर नाच नचाउने परम्परा रहेको अध्यक्ष श्रेष्ठले बताउनुभयो । “भदौ ११ गते मङ्गलबारदेखि सुरु हुने नाच चैतको अन्तिम मङ्गलबार बिर्सजन हुनेछ”, उहाँले भन्नुभयो ।

भदौको पहिलो या दोस्रो मङ्गलबार पारेर नारायणचोकमा हनुमानको मूर्ति प्रतिस्थापन गरी पूजा विधि गरेपछि हुनमान नाच सुरु गर्ने चलन छ । सोही दिन भीमसेनको मन्दिरमा विशेष पूजाआजा गरी बोका बलि दिने परम्परा रहिआएको छ । पौराणिककालका वीर हनुमानको आराधानाले शक्ति प्राप्त हुनुका साथै सुख, समृद्धि प्राप्त हुने विश्वासमा हनुमान नाच नाच्ने गरिएको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । रामायणका प्रमुख पात्र रहेका हनुमानमा निहित पराक्रम, वीरता, अनुशासन र भक्तिभावलाई नृत्यको माध्यमबाट प्रदर्शन गरिने उहाँको भनाइ छ ।

“नाचमा १३ जोडी कलाकारले हनुमानको स्वरुप धारणा गरेर दिने प्रस्तुति कलात्मक हुन्छ, विभिन्न दश तालमा यो नाच नाचिन्छ”, उहाँले भन्नुभयो, “यो पाँच सय वर्षभन्दा पहिले भक्तपुरबाट सुरु भएको नाच हो, पछि त्यहाँबाट बागलुङ बसाइँ सरेर आएका नेवारहरूले हुनमान नाचको संस्कृति पनि सँगै ल्याए ।” बागलुङमा नेवार समुदायको इतिहास झण्डै साढे तीन सय वर्ष पुरानो छ ।

विसं १७६८ मा पहिलोपटक नेवार जाति बागलुङ प्रवेश गरेको इतिहासमा उल्लेख रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । उहाँका अनुसार हनुमान नाच मल्लकालीन समयमा भक्तपुरका राजा भुपतिन्द्र मल्लले हनुमान नाच सुरु गरेका थिए । हनुमान नाच मङ्गलबार, बिहीबार र शनिबार नाच्ने पराम्परा रहेको उहाँको भनाइ छ । नेवारबाहेक अन्य समुदायका कलाकारले पनि नाचमा भाग लिन पाउँछन् ।

बागलुङ बजारका विभिन्न टोल, बस्ती र माग भए जिल्लाबाहिर पनि पुगेर नाच देखाइने हनुमान नाचका प्रधान कजी (व्यवस्थापक) ईश्वर मलेपतीले जानकारी दिनुभयो । उहाँका अनुसार यसअघि काठमाडौँ, भक्तपुर, पोखरा, भैरहवालगायत ठाउँमा उक्त नाच प्रदर्शन गरिएको थियो । भक्तपुरबाट सुरु भए तापनि हुनमान नाच बागलुङ, बेनीलगायत सीमित ठाउँमा मात्र संरक्षित रहेको उहाँको भनाइ छ ।

“धेरै कलाकार चाहिने हुँदा यो नाच महँगो पनि छ, पूजाआजा, पोशाक, वाद्ययन्त्रलगायत सामग्री व्यवस्थापनमा पनि खर्च बढी हुन्छ”, उहाँले भन्नुभयो । नाच सञ्चालनका लागि प्रधान कजी (व्यवस्थापक), उपप्रधान कजी, कजी, पूजारी, वाद्यवादक, कलाकारलगायत एकैपटक सयौँ व्यक्ति खटिनुपर्छ । हनुमान नाच बागलुङकै सांस्कृतिक धरोहरका रूपमा रहेको उहाँले बताउनुभयो ।

देवालय, सलामी, छ ताल, आठ ताल, १२ ताल, २४ ताललगायत गरी दश तालमा कलाकार नाच्ने गरेको वाद्यवादक निरज शाक्यले बताउनुभयो । पुच्छरसहित हनुमानको भेष पहिरेका कलाकार एकापसमा लौरो जुझाउँदै मृदङ्ग र झ्यालीको तालमा नाच्ने गरेको उहाँको भनाइ छ । नाच्ने क्रममा कतिपयलाई ‘वीर’ उत्रने गरेको छ । “बाजाको ताल छोपेर नाचिरहेका बेला कतै ताल बिग्रियो भने पनि वीर उत्रने गर्छ, बाहिरका व्यक्तिलाई पनि वीर उत्रन सक्छ”, उहाँले भन्नुभयो, “वीर उत्रेर शरीर काँप्ने, दौडने गरेमा पुजारीबाट धूप सुँघाएर सामान्य अवस्थामा फर्काउने गरिन्छ ।”

हनुमान नाचका अग्रज कलाकार शाक्यले पौराणिक ग्रन्थ रामायणको कथाका विभिन्न घटना तथा प्रसङ्गमा आधारित रहेर ताल र नाचको संयोजन गरिएको बताउनुभयो । “हुनमानले लङ्का घेरेकोदेखि लडाइँ जितेर विजयोत्सव मनाएकोसम्मका भाव र विषयलाई नाचद्वारा प्रस्तुत गरिन्छ”, उहाँले भन्नुभयो । बलियो हुने र आवाज पनि राम्रो आउने हुँदा नाचमा पलाँसको लौरो प्रयोग गर्ने गरिएको छ । हुनमान नाचका मुख्य कलाकार (ज्यामाको) नाच्न थालेपछि मात्र अन्य कलाकारले नाच्न सुरु गर्दछन् ।

नाचको उत्पत्ति भएको भक्तपुरबाटै लोप हुन लागेको हनुमान नाचको संस्कृति बागलुङमा भने जीवित रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । पछिल्लो समय युवापुस्ता पनि हनुमान नाचप्रति आकर्षित भएकामा उहाँले खुसी व्यक्त गर्नुभयो । विसं २०४६ मा हनुमान नाच संरक्षण परिषद् गठन भएपछि बागलुङमा नाचको संरक्षण तथा प्रवर्द्धनमा संस्थागत पहल सुरु भएको हो ।

नेपाल भाषा मंका खल: बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले पुस्तान्तरण नहुँदा नेवार समुदायमा प्रचलित कतिपय नाच लोप हुने अवस्थामा रहेको बताउनुभयो । बसाइँसराइ, युवाहरू पढ्न बाहिर जाने प्रवृत्तिले पुरानो कला, संस्कृति जोगाउने चुनौती थपिएको उहाँको भनाइ छ । “सांस्कृतिक पर्वमा नाच्ने, गाउने, बजाउने पुराना पुस्ताका धेरै कलाकार अहिले काठमाडौँ, पोखरालगायत सहरमा छन्”, उहाँले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिप्रति उतिसाह्रो रुचि छैन, पढ्न र रोजगारीका लागि बाहिर जाने प्रवृत्ति बढ्दो छ ।”

अध्यक्ष राजभण्डारीले अहिलेसम्म जेनतेन धानिएको नेवारी संस्कृति सङ्कटोन्मुख रहेको बताउनुभयो । उहाँले विसं २०४६ पछिको परिवर्तन र आधुनिक विकासले पनि परम्परामा मार थपिएको धारणा राख्नुभयो । “पहिले कृषिमा आधारित समाज र जीवनशैली थियो, मानिसहरू एकै ठाउँमा बस्थे”, उहाँले भन्नुभयो, “अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ ।” रासस