काठमाडौ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश अविलम्ब फिर्ता लिन र तत्काल संसद् अधिवेशन बोलाउन सरकारसँग माग गरेको छ । कांग्रेस संसदीय दल कार्यसमितिको आज बसेको बैठकले ‘संसद् अधिवेशन छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको’ भन्दै अध्यादेश अविलम्ब फिर्ता गर्न र छिटोभन्दा छिटो संसद् अधिवेशन बोलाउन माग गरेको हो ।
कांग्रेस बैठकमा संसद्लाई थप प्रभावकारी बनाउनका साथै पार्टीको भूमिका कसरी निर्वाह गर्नेलगायत विषयमा छलफल भएको सचेतक पुष्पा भुसालले जानकारी दिनु भयो । बैठकले कोभिड–१९ को सङ्क्रमण महामारीको विषम परिस्थितिमा पनि सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त भएको भन्दै छानबिन गरी दोषीलाई कारवाही गर्न माग समेत गरेको छ । यसै गरी उखु किसानको बक्यौता रकम चिनी मिलबाट तत्काल उपलब्ध गराउनका लागि आवश्यक पहलकदमी लिन पनि सरकारलाई गम्भिर रुपमा ध्यानकर्षण गराएको छ । बैठकले मुलुकका विभिन्न स्थानमा कांग्रेस भएकै कारण सरकारले झुटो मुद्दा लगाई त्रास सिर्जना गर्ने काम गरेको र पक्षपात व्यवहार गर्ने गरेको आरोप समेत लगाएको छ । बैठकले नेत्रविक्रम चन्द समूहका कार्यकर्ताबाट भएको व्यक्ति हत्या घटनाको भत्र्सना गर्दै घटनाका दोषीलाई कारवाही गर्न मागसमेत गरेको छ ।











