२८ मंसिर २०८२, आईतवार
,
Latest
पदक विजेता चन्द्र स्वदेश फिर्ता गृहमन्त्रीद्वारा प्रहरी सहायक हवल्दार गुरुङको परिवारसँग भेटवार्ता सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छः वरिष्ठ उपाध्यक्ष पोखरेल मन्त्री घिसिङद्वारा निर्माणाधीन चार लेनको पुलको निरीक्षण अर्थतन्त्रमा हस्तकला क्षेत्रको योगदान उल्लेख्य विपन्न विद्यार्थीलाई चिसोबाट जोगाउन न्यानो कपडा नेपालका परम्परागत खेलहरुको संरक्षण र सम्वर्द्धन गर्नुपर्छः मन्त्री नेपाल एमालेको नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक भदौ २४ को जेन-जी आन्दोलन मारिएका प्रहरी परिबारलाई भेट्न पुगे गृह मन्त्री र प्रहरी महानिरीक्षक डिजिटल युगको सांस्कृतिक सेतु: त्रिविबाट सुरु भएको हिमालयन रिम चलचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा गत आर्थिक वर्षमा चार हात्ती मरे



अ+ अ-

बनियानी । झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

विगत १४ वर्षको तथ्याङ्क हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च हो । आव २०६७/६८ देखि आव २०७९/८० सम्म एक–दुई र आव २०७५/७६ मा तीन हात्तीको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा छ । दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको सिकार भइरहेको पुष्टि भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका चारजनाका परिवारले रु १० लाखका दरले रु ४० लाख र अन्य क्षति (घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको) बापत रु ३० लाख क्षतिपूर्ति पाएका छन् । हात्तीको आक्रणमा घाइते भएकालाई रु दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राई बताउनुहुन्छ ।

“झापा देशभरिमै सबैभन्दा बढी हात्ती प्रभावित जिल्लामा पर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष देशभरि बाँडिएको राहत रकममध्ये करिब ११ प्रतिशत झापामा बाँडिएको थियो ।” हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेको उहाँ बताउनुहुन्छ ।

गत आवमा जिल्लामा हात्तीपीडितका लागि रु एक करोड ५० लाख राहत माग गरिए पनि रु ७० लाख मात्र आएको कार्यालय प्रमुख राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राहत रकम बेलैमा नआउँदा समस्या भएको छ, चाँडै आउने जानकारी पाएका छौं ।” झापामा आव २०६७/६८ देखि आव २०८०/८१ सम्म ६० जना मानिस र २१ हात्तीको मृत्यु भएको छ । त्यसमध्ये सातजना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।

विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई रु नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ ।

पछिल्लो समय हात्तीलाई जङ्गलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ । हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताउनुभयो ।