२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्रोहपछि तोकिएको छ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइनः कार्यवाहक प्रमुख आयुक्त भण्डारी कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

झापामा गत आर्थिक वर्षमा चार हात्ती मरे



अ+ अ-

बनियानी । झापामा एक वर्षको अवधिमा छ मानिस र चार हात्तीको मृत्यु भएको छ । गत आर्थिक वर्ष २०८०/८१ मा जिल्लाका विभिन्न स्थानमा हात्तीको आक्रमणमा परी छजना मानिसको मृत्यु भएको र विभिन्न स्थानमा चार हात्ती मरेको अवस्थामा फेला परेको डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले जानकारी दिनुभयो ।

विगत १४ वर्षको तथ्याङ्क हेर्दा हात्ती मृत्युको सङ्ख्या उच्च हो । आव २०६७/६८ देखि आव २०७९/८० सम्म एक–दुई र आव २०७५/७६ मा तीन हात्तीको मृत्यु भएको कार्यालयको तथ्याङ्कमा छ । दाह्रा काटिएको अवस्थामा हात्ती मृत फेला परेकाले जिल्लामा हात्तीको सिकार भइरहेको पुष्टि भएको छ ।

हात्तीको आक्रमणबाट मृत्यु भएका चारजनाका परिवारले रु १० लाखका दरले रु ४० लाख र अन्य क्षति (घाइते, घर भत्काएको, अन्नपात नष्ट गरेको) बापत रु ३० लाख क्षतिपूर्ति पाएका छन् । हात्तीको आक्रणमा घाइते भएकालाई रु दुई लाख क्षतिपूर्ति दिने व्यवस्था भए पनि घाइतेको उपचारमा मोटो रकम खर्च हुने गरेको प्रमुख राई बताउनुहुन्छ ।

“झापा देशभरिमै सबैभन्दा बढी हात्ती प्रभावित जिल्लामा पर्छ”, उहाँले भन्नुभयो, “गत वर्ष देशभरि बाँडिएको राहत रकममध्ये करिब ११ प्रतिशत झापामा बाँडिएको थियो ।” हात्तीलाई छेकबार गर्न जति नै प्रयास गरे पनि हरेक वर्ष हात्ती पूर्वबाट प्रवेश गरेर कोशी पुगेर फर्किने गरेको उहाँ बताउनुहुन्छ ।

गत आवमा जिल्लामा हात्तीपीडितका लागि रु एक करोड ५० लाख राहत माग गरिए पनि रु ७० लाख मात्र आएको कार्यालय प्रमुख राई बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “राहत रकम बेलैमा नआउँदा समस्या भएको छ, चाँडै आउने जानकारी पाएका छौं ।” झापामा आव २०६७/६८ देखि आव २०८०/८१ सम्म ६० जना मानिस र २१ हात्तीको मृत्यु भएको छ । त्यसमध्ये सातजना गैरनेपाली रहेको कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो ।

विगत १४ वर्षमा चार हजार पाँच सय हात्तीपीडितलाई रु नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ । झापामा २५ देखि ३० रैथाने हात्तीमध्ये १० रैथाने हात्तीको नामकरणसमेत गरिएको छ ।

पछिल्लो समय हात्तीलाई जङ्गलभित्रै रहने वातावरण निर्माण गर्न वनभित्र सिमसार, हात्तीफल, केरा, बाँस लगायतका हात्तीले मन पराउने आहारा लगाउन थालिएको छ । हात्ती प्रभावित क्षेत्रमा टर्चलाइट, साइरन लगायतका सामग्री वितरण गरिएको कार्यालयका वन अधिकृत ऋषिराज पराजुलीले बताउनुभयो ।