६ श्रावण २०८३, बुधबार
,
Latest
सुदूरपश्चिम प्रदेशः अधिकांश मन्त्रालयको पुँजीगत खर्च कमजोर दिल्लीको जंतर–मंतरमा ‘ककरोच जनता पार्टी’को प्रदर्शन ३३औँ दिनमा, हजारौँ प्रदर्शनकारी सहभागी श्रमिकका उजुरी एक घण्टाभित्र सम्बोधन गर्न श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको निर्देशन टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी विभिन्न कार्यक्रम गरी ४४३औँ बिपी स्मृति दिवस मनाइँदै भरतपुर कारागारमा कैदी बस्ने स्थानको अभाव बजेट कार्यान्वयनमा कडाइ गर्न अर्थ मन्त्रालयद्वारा ४७ बुँदे मार्गदर्शन जारी माइतीघर डुवानको प्राविधिक कारणसहित प्रतिवेदन पेश गर्न कार्यवाहक प्रमुख डंगोलको निर्देशन देशका विभिन्न जिल्लाबाट लागुऔषधसहित १९ जना पक्राउ सुनचाँदीको मूल्य वृद्धि
तपाईं के खोज्दै हुनुहुन्छ ?

अण्डा उत्पादक ७५ प्रतिशत किसान विस्थापित



अ+ अ-

चितवन । अण्डा उत्पादन गर्ने ७५ प्रतिशत किसान विस्थापित भएका छन् । पाँच वर्षभन्दा बढी समयसम्म लागत मूल्यभन्दा निकै कममा अण्डा बिक्री गर्नु परेपछि किसान विस्थापित भएका हुन् ।

बैङ्कमा ऋण थपेर केही टिकेका हुन् भने केही नयाँ थपिएका छन् । पोल्ट्री व्यवसायी मञ्चका अध्यक्ष रघुनाथ भट्टका अनुसार दुई वर्षअघि सम्म नेपालमा पाँच हजारभन्दा बढी लेयर्स कुखुरा पाल्ने फार्म रहेकामा हाल यो सङ्ख्या दुई हजारभन्दा तल छ । उहाँले भन्नुभयो, “जसको कुखुरा बाँकी छ, उहाँहरुले ४० प्रतिशतभन्दा माथि ऋण थपेर टिकेको हो ।”

अधिकांश व्यवसायीको अवस्था दयनीय रहेको उहाँको भनाइ छ । अहिले अण्डाको मूल्य बढेर लागत मूल्य नजिक पुगेको उहाँ बताउनुहुन्छ । केही महिनाअघि विज्ञहरुले अण्डाको लागत मूल्य प्रतिगोटा १६ रुपैयाँ ५६ पैसा निकालेका थिए । अहिलेको फार्म मूल्य ठूलो प्रतिगोटा १६ रुपैयाँ ३३ पैसा र ‘मिडियम’ अण्डाको मूल्य रु १६ रहेको छ ।

गत महिनाबाट अण्डाको मूल्य प्रतिगोटा रु १६ हाराहारी आएपछि लागत मूल्य नजिक आएको भट्ट बताउनुहुन्छ । नेपाल अण्डा उत्पादक सङ्घका पूर्वअध्यक्ष त्रिलोचन कँडेल धेरै अण्डा उत्पादक किसानले बैङ्कको ऋण र ब्याज तिर्न नसकेको बताउनुहुन्छ ।

उद्योग सङ्घ चितवनका निवर्तमान अध्यक्षसमेत रहनुभएका कँडेलको भनाइमा दुई लाख ८२ हजार उद्योगी बैङ्कको कालो सूचीमा छन् । तीमध्ये ४० प्रतिशत कुखुरापालक किसान एवं पोल्ट्री व्यवसायी रहेको उहाँको भनाइ छ ।

पोल्ट्री व्यवसायी मञ्चका निवर्तमान अध्यक्ष राजेन्द्र लामिछाने भूकम्प, नाकाबन्दी, कोभिड महामारी, आर्थिक मन्दीलगायत कारण मूल्य पाउन नसक्दा किसान विस्थापित भएको बताउनुहुन्छ । अघिल्ला वर्षहरुमा बैङ्कको ब्याज बढी हुँदा खर्च धान्न कठिन भएको उहाँको भनाइ छ ।

दानाको कच्चापदार्थ र औषधिको मूल्य दोब्बर बढेको, कामदारको ज्याला बढेको, खोरको भाडा बढेको, कार्टुन, क्रेटलगायत सामग्रीको मूल्य बढेको तर अण्डाको मूल्य लामो समयसम्म बढ्न नसक्दा किसानको अवस्था दयनीय बनेको उहाँ बताउनुहुन्छ । नेपालमा अहिले अण्डा उत्पादक किसानमध्ये एक लाखभन्दा बढी लेयर्स कुखुरा पाल्ने किसान एवं फार्मको सङ्ख्या १५ रहेको छ ।

ठूला फार्म बढेका कारण धेरै किसान विस्थापित भएर पनि माग धान्न सकेको हो । किसान पलायन हुन थालेपछि विसं २०७९ असोज २९ गते लेयर्स कुखुरापालक किसानले नेपाल लेयर्स कुखुरापालक सङ्घ गठन गरेका थिए । सो संस्थाले देशव्यापी रुपमा बजारीकरण गरेसँगै पुराना किसानले थप कुखुरा पाल्न थालेको र नयाँ किसानसमेत आउन थालेका हुन् ।

सङ्घका अध्यक्ष विनोद पोखरेलले कुखुरा पालिरहेकाहरु पनि अधिकांशको ठूलो मात्रामा बैङ्क ऋण रहेको बताउनुभयो । उहाँको भनाइमा धितो राखेर ऋण लिएकाहरुले धितो बिक्री गरेर ऋण तिर्ने अवस्थासमेत छैन । तत्कालीन समयमा लिएको ऋणमा ऋण थप्दै ब्याज तिर्दै आउँदा कुखुरा राख्न नसक्ने अवस्थामा धेरै किसान पुगेको उहाँको भनाइ छ । सङ्घ गठन हुँदै गर्दा किसानले अण्डाको मूल्य प्रतिगोटा रु आठभन्दा तल पाएका थिए । त्यतिबेलाको नोक्सान धान्न मुस्किल भएको उहाँको भनाइ छ । अहिले ५० लाख लेयर्स कुखुरा रहेको र २५ लाखभन्दा बढी अण्डा दैनिक उत्पादन हुँदै आएको उहाँले जानकारी दिनुभयो । धेरै कुखुरा हुँदा ६० लाख नाघेका थिए । कुखुरा पाल्दै आएका किसान विस्थापित भएपछि धेरै खोर खाली छन् । रासस