• ११ भाद्र २०८१, मंगलवार
  •      Tue Aug 27 2024
  •   Unicode
Logo
Latest
★   थामे बाढीपीडितको उद्धारमा खटिएका प्रहरी पुरस्कृत ★   नेपालगञ्जबाट सुनचाँदीसहित चारजना नियन्त्रणमा ★   नेकपा एकीकृत समाजवादीको वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे निर्बिरोध निर्बाचित ★   नेकपा एसको निर्वाचन: कुन पदमा क–कसको पर्‍यो उम्मेदवारी ? सूचीसहित ★   एन्फा कार्यसमिति बैठक शुरु, २३ बढी एजेण्डा ★   मुकुल ढकाललाई साधारण सदस्यसमेत नरहने गरी निष्काशन गर्ने रास्वपाको निर्णय ★   मुख्य बाली कोदोको उत्पादन घट्दै, माग बढ्दै ★   बागमती प्रदेशमा राजस्व सङ्कलन नौ अर्ब घट्यो ★   करोडौँको योजना कार्यान्वयन हुन सकेन ★   साइन्समा फेल भएपछि ड्रोन मर्मतमा जमेका राजकुमार

मोहर्रममा नेपालगञ्ज ताजियाले झिलीमिली



राँझा । मोहर्रम पर्वका अवसरमा नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी चाँदबाबु राहीले करिब ६५ फिट उचाइको ताजिया स्थापना गर्नुभएको छ । यो वर्ष राहीले करिब रु एक लाखमा भारतको आलीनगरबाट ताजिया खरिद गरेर ल्याउनुभएको हो । नेपालगञ्जसम्म ल्याउन ढुवानी र जडान गर्दा करिब रु ६० हजार थप खर्च भएको उहाँले बताउनुभयो ।

नेपालगञ्जको गणेशपुर चोकमा पनि विगत सात वर्षदेखि बच्चा राहीको नेतृत्वमा अग्लो ताजिया राख्ने गरिएको छ । यो वर्ष पनि ६० देखि ७० फिटसम्म अग्लो ताजिया राखिएको राहीले बताउनुभयो । “यो हाम्रो परम्परा बनेको छ, सात–आठजनाले पैसा लगाउँछौँ, टोलका सबैजसोले सहयोग गर्नुहुन्छ”, राहीले भन्नुभयो, “अग्लो ताजिया ‘फिट’ भएपछि मनमा शान्ति र खुसीयाली हुने गरेको छ ।”

राहीले जस्तै बाँकेका अन्य मुसलमान समुदायका व्यक्तिले पनि आफ्नो गच्छेअनुसारको ताजिया घरमा स्थापना गरेका छन् । चाँदबाबुले केही वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्दै आउनुभएको छ । राहीले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताउनुभयो ।

बाँकेमा मात्रै रु एक करोडभन्दा बढीका ताजिया राखिएको अनुमान गरिएको छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रूपमा आज घर नजिकै रहेका कर्बलामा विसर्जन गर्छन् । नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ–आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घरघरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियतअनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिस्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीले बताउनुभयो । उहाँले सानो–ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताउनुभयो ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रूपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजाअर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उहाँले बताउनुभयो ।

पैगम्बर हजरत मोहम्मदका नातिहरू हजरत इमाम हुुसैन र हजरत इमाम हसनको सम्झनामा मुस्लिम धर्मावलम्बीले १० दिनसम्म विविध कार्यक्रम गरी मोहर्रम मनाउँदै आएका छन् । बाँकेमा बसोबास गर्ने विभिन्न धर्म समुदायले मिलेर धार्मिक सद्भाव र सामाजिक एकताका रूपमा मोहर्रम पर्वलाई मनाइरहेको मोहर्रम तथा कर्बला संरक्षण समिति नेपालगञ्जका महासचिव मोहम्मद हारुन हलवाईले जानकारी दिनुभयो । यो पर्व सबैले मिलेर मनाउने तथा सबैले ताजिया ९इमाम हसन र हुसैनको समाधिको प्रतीक० राख्ने हुँदा यसलाई सद्भाव र एकताको पर्व मानिन्छ ।

गए राति घरघरमा राखिएकोे ताजिया आज जुलुससहित सेलाउने कार्यक्रम रहेको मोहर्रम तथा कर्बला संरक्षण समितिका महासचिव हलवाईले जानकारी दिनुभयो । हजरत हुसैन र हसनको सहादतको सम्झनामा अरबी क्यालेण्डरअनुसार मोहर्रम महिनाको पहिलो १० दिन विविध कार्यक्रम गरेर मनाइने यो पर्वमा उहाँहरूकै सम्झनामा कागज र काठबाट बनाइएका ताजिया राख्ने परम्परा छ । रासस