• २८ भाद्र २०८१, शुक्रबार
  •      Fri Sep 13 2024
  •   Unicode
Logo
Latest
★   कर प्रशासनमा उल्लेखनिय सुधार हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन ★   दिल्लीका मुख्यमन्त्री केजरीवाललाई धरौटीमा छाड्न सर्वोच्च अदालतको आदेश ★   कैलाश मानसरोवर जानेको सङ्ख्या बढ्यो ★   उडान कम हुँदा भोजपुरबाट काठमाडौँ जाने यात्रु मारमा ★   बागलुङ दुर्घटना: पुथा उत्तरगंगा गाउँपालिकाकी उपाध्यक्ष बुढाको मृत्यु ★   सुनको मूल्यले बनायो ऐतिहासिक रेकर्ड, तोलामा कति पुग्यो ? ★   कोशी प्रदेशमा मन्त्रिमण्डल विस्तार, कांग्रेसका ४ मन्त्रीले लिए शपथ ★   दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीमा कर्णाली, व्यवस्थापन र पूर्वाधार निर्माणको दबाब ★   अष्ट्रेलियामा असोज २७ गते विजयादशमी मनाउनुपर्ने अन्तर्राष्ट्रिय पञ्चाङ्ग समितिको निर्णय ★   काठमाडौँ महानगरमा ९५ दशमलव पाँच प्रतिशत साक्षर

विधिपूर्वक मनाइयो साउने (कर्कट) सङ्क्रान्ति



काठमाडौँ : असार महिनामा धान रोप्दा लागेको हिलो पखाली छालासम्बन्धी रोग नलागोस् भन्ने कामनाले आज साँझ घरघरमा लुतो फाली साउने सङ्क्रान्ति पर्व मनाइएको छ ।

नेपालीले परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजागरी बेलुकी अगुल्टो फाल्ने विधि छ । यसलाई लुतो फाल्ने भनिन्छ । यो विधि साउने सङ्क्रान्तिको बेलुकी सम्पन्न गरिन्छ ।

अधिकांश नेपाली असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलोमैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद्हरूको भनाइ छ ।

लुतो फाल्दा आ–आफ्नो कुल परम्पराअनुसार नाङ्लो ठटाउने, शङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने चलन नेपाली समाजमा छ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्ति पर्व मनाइएको हो ।

दक्षिणायन सुरु

साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन सुरू हुन्छ । माघ १ गते उत्तरायण र साउन १ गते सुरू हुने दक्षिणायनका दिनलाई विशेष रूपमा मनाउने गरिन्छ । एक महिना काम गरेका किसानले साउन १ गते आज आफन्तका साथ जम्मा भई रमाइलो गर्ने गर्छन् ।

साउन महिना विशेष रूपमा भगवान् शिवको पूजा गरेर मनाइन्छ । महिलाले हरियो चुरालगायत कपडा लगाएर प्रकृतिसँग नजिक भएको देखाउने गरेको पनि धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ ।

यस महिनाभर देशभरका शिवालय विशेषगरी पशुपतिनाथ मन्दिरमा भक्तजनको विशेष भीड लाग्ने गरेको छ । साउन शिवजीको मास र सोमबारलाई शिवको बार भनिन्छ । यसैले साउन महिना एवं सोमबार शिवालयमा भक्तजनको विशेष भीड लाग्ने गरेको हो ।

यस अवसरमा पशुपतिनाथ मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । पशुपति क्षेत्रमा आजैदेखि कोटीहोम र शिवपुराणको पाठ पारायण पनि सुरू भएको छ ।रासस