२३ असार २०८३, मंगलवार
,
Latest
अर्थमन्त्रीको दाबीः सरकारले सय दिनमा अभुतपूर्व काम गरेको छ लचिलो मौद्रिक नीति सार्वजनिक, मुद्रास्फीति ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य (पूर्णपाठ) बैंक तथा वित्तीय संस्थाको पुनर्वर्गीकरण गरिने, पुँजी परिचालन लागत घटाउने राष्ट्र बैंकको नीति राष्ट्रिय हित र सन्तुलित कुटनीतिमा सरकार प्रतिवद्धः परराष्ट्रमन्त्री खनाल उद्योग समितिद्वारा बालाजु औधोगिक क्षेत्रको स्थलगत अनुगमन कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानमा आठ सदस्य मनोनयन कञ्चनपुरमा हात्ती प्रभावित बस्तीमा स्वचालित बत्ती पर्वतका सबै सामुदायिक विद्यालयमा स्मार्ट बोर्ड सरकारले विद्युत उत्पादन भन्दा प्रशारण र वितरण प्रणालीको सुदृढिकरणमा जोड दिएको छः ऊर्जामन्त्री श्रेष्ठ आज अपराह्न ३ः४० बजे मौद्रिक नीति सार्वजनिक हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालीगण्डकीमा बन्यो पुल, साँघु तर्नुपर्ने बाध्यता हट्यो



अ+ अ-

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ र वडा नम्बर–५ पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल निर्माण भएपछि साँघु तरेर कालीगण्डकी वारपार गर्नुपर्ने समस्या हटेको छ । दुई वटा तातोपानी कुण्ड रहेका पर्यटकीयस्थललाई जोड्न पूर्वाधार विकास कार्यालय म्याग्दीले कालीगण्डकी नदीमाथि एक सय २६ मिटर लामो झोलुङ्गे पुल निर्माण गरेको हो । पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय म्याग्दी र निर्माण कम्पनीबीच २०८० साउन महिनामा रु ९३ लाख ५० हजार ४८६ मा ठेक्का सम्झौता भएको थियो ।

प्राविधिक नापजाँच र हस्तान्तरण हुन बाँकी रहेको पुल आवतजावतमा प्रयोग हुन थालेको कार्यालयका प्रमुख विष्णुप्रसाद पौडेलले बताउनुभयो । “उपभोक्ताले प्रयोगमा ल्याइसकेको पुलको मूल्याङ्कन र ठेक्का टुङ्ग्याउन बाँकी छ”, उहाँले भन्नुभयो, “यस पुलले स्थानीयवासीलाई आवतजावतका लागि सहजताका साथै पर्यटन विकासमा प्रभावकारी बन्ने देखिएको छ ।”

पुल निर्माण भएपछि जोखिम मोलेर कालीगण्डकी नदीमा साँघु (अस्थायी काठको पुल) तर्नुपर्ने अथवा नारच्याङको घुमाउरो बाटो प्रयोग गर्नुपर्ने बाध्यता हटेको पाउद्वार तातोपानीका बासिन्दा कमल तिलिजा पुनले बताउनुभयो ।

“कालीगण्डकी किनारमा प्राकृतिक रुपमा निस्कने तातोपानी सङ्कलन गरिएको पोखरीमा शरीर डुबाएर स्नान र उपचार गर्नेको सहजताका लागि हिउँदमा कालीगण्डकी नदीमा साघु राख्ने गरिएको थियो”, उहाँले भन्नुभयो, “बर्खा याममा पाउद्धार तातोपानी कुण्ड आउन नारच्याङ हँुदै ४० मिनेट घुमाउरो बाटो हिँड्नु पर्दथ्यो ।”

कूल रु एक करोड २० लाख लागत अनुमान गरिएको पुल निर्माणका लागि आर्थिक वर्ष २०७८/०७९ र २०७९/०८० मा रु १२/१२ लाख बजेट विनियोजन भएको थियो । विसं २०८० जेठ महिनामा गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको प्रस्तावमा अर्थ मन्त्रालयले रु नौ लाख थप बजेट व्यवस्थापन गरेर बहुवर्षीय ठेक्का लगाउन स्वीकृति दिएपछि योजना कार्यान्वयनका लागि ठेक्का आह्वान भएको थियो ।

नक्साङ्कनमा देखिएको समस्या र कूल लागत अनुमानको २० प्रतिशत बजेट व्यवस्थापन हुन नसक्दा भुरुङ र पाउद्वार तातोपानी कुण्ड जोड्ने कालीगण्डकी नदीमाथि झोलुङ्गे पुल निर्माण योजनाका लागि आव २०७५/०७६ देखि नियमित बजेट विनियोजन भए पनि कार्यान्वयन भएको थिएन ।

म्याग्दी १(क) बाट निर्वाचित प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीले प्रदेश सरकारको वार्षिक योजनामा समावेश भएर बजेट बिनियोजन हुन थालेको पाँच वर्षपछि पुल निर्माण भएको बताउनुभयो ।

“विसं २०७६ मा निर्माणस्थल राष्ट्रिय राजमार्ग कालीगण्डकी कोरिडोरको क्षेत्राधिकारभित्र पर्ने भएपछि ठेक्का रद्द भएको थियो”, उहाँले भन्नुभयो, “२०७७ देखि स्थान र डिजाइन परिवर्तन गरे पनि लागत अनुमानको २० प्रतिशत बजेट विनियोजन र स्रोत सुनिश्चितता नहुँदा अलपत्र बनेको पुल निर्माण योजना लामो प्रयासपछि सफल भएको हो ।” भुरुङ र पाउद्वार तातोपानी जोड्ने झोलुङ्गे पुल बनेपछि मुस्ताङ जाने आउने पर्यटकको बसाइ लम्बाउन, जोखिम मोलेर आवतजावत गर्नुपर्ने अवस्था हटाउन र पर्यटन प्रवद्र्धनमा सहयोग पुग्ने प्रदेशसभा सदस्य भण्डारीले बताउनुभयो । रासस