• २ भाद्र २०८१, आईतवार
  •      Sun Aug 18 2024
  •   Unicode
Logo

भेटिएनन् ५७ यात्रु, सिमलतालमा आफन्तको बिलौना



चितवन । नारायणगढ–मुग्लिन सडक खण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ सिमलतालमा गएको पहिरोमा परेर चार दिनअघि (शुक्रबार) त्रिशूली नदीमा हराइरहेकामध्ये अहिलेसम्म पाँच वटा शव मात्र फेला परेका छन् । शनिबार दुई र हिजो (आइतबार) तीन शप फेला परेका हुन् । बाँकी ५७ जनाको अवस्था अझै अज्ञात छ ।

घटनास्थलभन्दा ५० किलोमिटर तल गैंडाकोटदेखि गोलाघाट क्षेत्रमा ती शव फेला परेका हुन् । गण्डक नहरमा दुई र सुस्तामा एक शव फेला परेका छन् । तर ती शवको पहिचान भएको छैन ।

चितवन प्रशासनले आइतबार नयाँ विवरण सार्वजनिक गर्दै काठमाडौंदेखि गौर जाँदै गरेको बसमा ३८ जना र वीरगन्जदेखि काठमाडौं जाँदै गरेको बसमा २७ गरी ६५ जना यात्रु रहेको जनाएको छ । जसमा तीन यात्रु पौडिएर बाँच्न सफल भए पनि दुई बस र बाँकी ५७ यात्रु भने चार दिन बित्दा पनि फेला पर्न सकेका छैनन् । सनाखत भएका पाँच शव आफन्तले बुझिसकेका छन् ।

चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले हराईका दुई बससँगै यात्रुको खोजी जारी रहेको बताए । आज पनि बिहानैदेखि खोजी गरिने उनको भनाइ छ । घटनास्थल आसपास खोजी कार्यमा संलग्न सशस्त्र प्रहरीको गोताखोर टोली र सेनाको टोलीले बसको एक थान पर्दा र बच्चाको ट्राउजर मात्र फेला पारेको छ । बस घटनास्थल नजिकै रहेको संकेत मिलेको भन्दै प्रजिअ यादवले सोमबार गोताखोर पानीभित्रै गएर खोजी गर्ने बताए । हराइरहेका यात्रुका आफन्त धमाधम सिमलताल क्षेत्रमा आएर बिलौना गरिरहेका छन् । उनीहरूले घटनास्थलमा भएको उद्धार सुस्त र प्रविधियुक्त नभएको भन्दै आफन्त भेटिनेमा आशंका व्यक्त गरिरहेका छन् ।

अहिलेसम्म फेला परेकामध्ये अधिकांश शव बालुवाले शरीरको भाग पुरेको अवस्थामा छन् । नदीको बहाव कम हुँदै जाँदा शव फेला पर्न थालेका हुन् । प्रहरीका १५ वटा टोली खोजीका लागि गोलाघाटसम्म खटिएका छन् । सेनाका तीन टोली र सशस्त्रको एउटा मोटरबोट, सातवटा र्‍याफ्टिङ बोटसहित १५ टोली खटेका छन् ।

हराएका यात्रुका आफन्तले विदेशबाट गोताखोर मगाएर भए पनि खोजी गर्न माग गरिरहेका छन् ।