काठमाडौ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते भएकाे एकता आजबाट औपचारिक रुपमा टुट्दैछ । कानूनी र राजनीतिक रुपमा आफू बलियो देखाउनका लागि केपी ओली र पुष्पकमल दाहाल पक्ष सक्रिय रहेका छन् । जसका कारण नेकपा विभाजन वा चोइटिने भन्ने प्रष्ट खाका आइसकेको छैन ।
प्रधानमन्त्री ओली निकट केन्द्रीय सदस्यहरुको बैठक बालुवाटारमा बस्ने तयारीमा छ भने दाहाल पक्षको केन्द्रीय समितिको बैठक पनि आजै दिउँसो १ बजे कार्की पार्टी प्यालेस बबरमहलमा बस्दैछ । दुबै केन्द्रीय समितिको बैठकले एक अर्कालाई कारबाही गरेको घोषणा गर्दै थप नेतालाई जिम्मेवारी दिनेछन् । यसैबीच एकीकृत नेकपा रहँदाका नेताहरु यतिखेर दुबैतिरको तानातानमा परेका छन् ।
नेकपामा बरिष्ठ उपाध्यक्ष रहनु भएका वामदेव गौतम दुबै पक्षको बैठकमा सहभागी हुनु भएको छैन र आज पनि दुबै समूहको छलफलमा नजाने हुनु भएको छ । यसैगरी गृहमन्त्री रामबहादुर थापा केही दिन यता दुबै समूहको छलफलमा सहभागी नभै आन्तरिक छलफलमा रहनु भएको छ । पछिल्ला दिनमा दाहालसँग चित्त दुखाउँदै निष्कृय बस्नु भएका हरिबोल गजुरेलले दाहाल समूहलाई साथ दिनु भएको छ ।











