२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

संरक्षणको पर्खाइमा विराट राजाको दरबार क्षेत्र



अ+ अ-

विराटनगर । कोशी प्रदेशको राजधानी विराटनगरमा पर्ने भेडियारी बस्तीमा रहेको प्राचिन विराट राजाको दरबार क्षेत्र ऐतिहासिक सम्पदाको रूपमा परिचित छ ।

विराटनगर महानगरपालिका–१८ भेडियारीमा रहेको यो क्षेत्रलाई पाँच हजार वर्ष पुरानो इतिहासका रूपमा चिनिन्छ । तर सम्बन्धित निकायबाट उपेक्षित अवस्थामा पुगेपछि महाभारतकालीन इतिहाससँग जोडिएको विराट राजाको दरबार क्षेत्र संरक्षणको पर्खाइमा छ । तीन तहको सरकारले यसको खोज अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासमा चासो नदिँदा स्थानीय स्वयं अग्रसर बनेका छन् ।

राजा विराट र उनको दरबारप्रति अगाध मोह र विश्वास राख्ने स्थानीय आगन्तुकलाई स्वयंसेवी रूपमा ‘गाइड’ गरिरहन्छन् । इतिहासका दृष्टिले प्रसिद्ध रहेको यो क्षेत्रमा अपेक्षाकृत ढंगले सरकारको चासो नपरेका कारण निराश बनेका स्थानीय विराटनगरको नाम र सम्मानसँग जोडिएको यो क्षेत्रमा राम्ररी उत्खनन गरी बहुमूल्य सामग्रीको अन्तर्राष्ट्रियस्तरको संग्रहालय बनाइसक्नुपर्ने भएपनि त्यसो हुन नसकेको गुनासो गर्छन् ।

विराट राजाको प्राचीन दरबार क्षेत्रमा महाभारत कालमा पाँच पाण्डव युधिष्ठिर, भीम, अर्जुन, नहकुल र सहदेव र पाँच पाण्डव पत्नी द्रौपदी एक वर्षसम्म विराट राजाको दरबारमा गुप्तवास बसेको विश्वास गरिन्छ । जसक्रममा उनीहरूले आफ्नो भेस नै बदलेर राजा विराटको दरबारमा लुकेर बसेको जनविश्वास रहँदै आएको छ । विराटनगरको मुख्य बजारबाट करिव १० किलोमिटर दक्षिणमा रहेको यो क्षेत्रमा अलग–अलग समयमा उत्खनन् हुँदा थरीथरीका पुरातात्विक सामग्रीहरू फेला परेका छन् । जसलाई संग्राहालय स्थापना गरेर संरक्षण गरिएको छ । विभिन्न क्षेत्रमा भेडियारी बस्ती वरिपरि उत्खनन् गर्दा थुप्रै पुरातात्विक अवशेषहरू फेला परेका छन्, जसलाई आफ्नै किंवदन्ती तथा राजा विराटको गाथासँग गाँसेर पुरातत्वविदहरूले प्रमाणित गर्ने जमर्को गरेका छन् ।

उत्खनन्का बेला फेला परेका खेतीपाती गर्दा, घर बनाउँदा, शिकार खेल्दा, घरायसी काम गर्दाका वस्तु, ढुंगाको पिर्का र शिवलिंग आकारका वस्तुहरू स्थानीय संरक्षणकर्ता कमलकिशोर यादवले संरक्षण गरेर राख्नुभएको छ । जमिनको गर्भगृहबाट सतहमा निस्केर भेडियारी बस्ती र सिंगो विराटनगर शहरकै कथा सुनाउने महत्वपूर्ण पुरातात्विक सामग्रीहरू कमलकिशोरको संग्रहालयमा सुरक्षित छन् ।

ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रलाई संरक्षण, संवर्धन र विकास गरेमा एउटा नमूना पर्यटकीय स्थल बन्नेमा दुई मत छैन । तर यस क्षेत्रको संरक्षण, संवर्धन र जगेर्नामा सम्बन्धित निकायले चासो नदिँदा स्थानीयले संरक्षण–प्रवद्र्धनको जिम्मेवारीमा काँध थापेका छन् । करिव २८ वर्षअघि समिति बनाएर आफू नेतृत्वको संस्था दर्ता गरेका संरक्षक कमलकिशोर यादव र समितिको पदाधिकारीका रूपमा रहेका केही स्थानीयले यसको रेखदेख गरिरहेका छन् । प्राचिन सम्पदा एवं जमिनभित्रका बहुमूल्य वस्तु नासिने, मासिने र चोरी हुने जोखिम टार्नेगरी उनीहरू लागिपरेका छन् । विराट राजाको दरबार ब्युँताउनेगरी तीनै तहका सरकार लाग्नुपर्ने भएपनि केन्द्रिय सरकार र प्रदेश सरकारबाट अपेक्षाकृत काम नभएको विराटनगर–१८ का वडाध्यक्ष जितेन साह बताउनुहुन्छ ।

विराटनगर महानगरपालिकाले भने यस क्षेत्रमा विराट राजाको दरबार बनाउने योजनालाई पूर्णता दिन विगत लामो समयदेखि कसरत गर्दै आएको जनाएको छ । विराट राजाको दरबार परिसरमा रहेको धरोहर पोखरी झन्डै १ करोड लागतमा निर्माण भइसकेको छ । विराट राजाको दरबारमा ऐतिहासिकता र आधुनिकताको संगम हुनेगरी काम गरिरहेको महानगर प्रमुख नागेश कोईराला बताउनुहुन्छ ।

कोशी प्रदेश सरकार पनि ऐतिहासिक विराट राजाकोे दरबारमा खोज अनुसन्धान, संरक्षण, संवद्र्धन र विकासमा काम गर्ने तयारीमा छ । यसअघि प्रदेशको पर्यटन, वन तथा वातावरण मन्त्रालयले विराट राजदबारको क्षेत्रलाई पहिचान गरी विकास गर्नेगरी बजेट विनियोजन गरेको थियो ।

तथापि संघीय सरकारमातहतको पुरातत्व विभागले यसको खोज–अनुसन्धान, संरक्षण र विकास गरिरहेकाले त्यसैमा पर्यटन प्रवद्र्धन हुनेगरी सघाउ भुमिकामा काम गरिरहेको मन्त्रालयका सचिव विशाल घिमिरेको भनाइ छ ।

ऐतिहासिक र पुरातात्विक सम्पदा मासिनु भनेको जनताको स्मृति मासिनु हो । आउने पुस्ताले सुन्ने र सुनाउने कथाहरू मासिनु हो । यसैले यहाँ जमिनमुनि पुरिएर रहेका मन्दिर र दरबार उत्खनन गरी जिर्णोद्धार बनाएर जीवित उदाहरण बनाएमा समृद्ध मुलुकको अभियानलाई सार्थकता तुल्याउन सकिन्छ । यस क्षेत्रको विकासका लागि राज्यमात्र नभएर गैर–सरकारी संस्था, धार्मिक संघ–संस्थाहरूको पनि उत्तिकै भूमिका हुनसक्छ । —न्युज एजेन्सी नेपाल