• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   भारत र दक्षिण अफ्रिकाबीचको फाइनलमा पानी पर्ने सम्भावना, आज खेल नभए के हुन्छ ? ★   वामपन्थी सहकार्यलाई सफल बनाएर एकताको ढोका खोल्नुपर्छ: प्रधानमन्त्री ★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण

हरिवन नगरपालिकाको इन्दुशङ्कर चिनी उद्योग सञ्चालन शुरु



सर्लाही । हरिवन नगरपालिका–११ मा रहेको इन्दुशङ्कर चिनी उद्योगले यस वर्षको उखु क्रसिङको काम शुरु गरेको छ । यस वर्षका लागि उद्योग सञ्चालन गर्न मंसिर २६ गते डोङ्गा पूजा गरिएको र सोही अनुसार किसानलाई जानकारी पनि गराइसकिएको उद्योगका प्रबन्धक योगनारायण रजकले बताउनुभयो । 

उहाँका अनुसार उद्योगले यो वर्ष २५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य लिएको छ । गत वर्ष २६ लाख ६७ हजार ९७१ क्वीन्टल उखु क्रसिङ गरेको  उद्योगले दशैँअघि नै उखु उत्पादक किसानको सम्पूर्ण भुक्तानी गरेको थियो । जिल्लामा तीन चिनी उद्योग रहे पनि इन्दुशङ्कर उखु उत्पादक किसानको भुक्तानी चुक्ता गर्ने एक मात्र उद्योग रहेको उखु प्रबन्धक रजकले बताउनुभयो ।

जिल्लाको धनकौलमा रहेको अन्नपूर्ण चिनी उद्योग र महालक्ष्मी चिनी उद्योग बगदहले उखु उत्पादक किसानको गत वर्षको भुक्तानी नगरेसम्म मिल सञ्चालन गर्न नदिइने उखु उत्पादक किसान महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताउनुभयो । यी दुवै उद्योगविरुद्ध जिल्लाका उखु उत्पादक किसानले काठमाडौँमा आन्दोलन गरिरहेका छन् । गत वर्ष सञ्चालनमा आउन नसकेको अन्नपूर्ण चिनी उद्योगले किसानलाई तीन÷चार वर्षदेखिकै भुक्तानी दिन बाँकी छ ।

दुई वर्ष उखु क्रसिङ गरिसकेको महालक्ष्मी चिनी उद्योगले यस वर्ष पनि सञ्चालन गर्ने तयारी गरिरहेको छ । उद्योगले आफ्नातर्फबाट सम्पूर्ण भुक्तानी गरिसकेको जिकिर गर्दै आए पनि किसानले भने सो उद्योगबाट पनि केही रकम पाउन बाँकी रहेको भन्दै आन्दोलन गरिरहेका छन् ।  

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा गठित कार्यदलले यस वर्षका लागि किसानलाई प्रतिक्विन्टल उखुको मूल्य रु ५४४ दिन सिफारिस गरिसकेको छ । यता किसानले भने सो मूल्य मान्य नहुने भन्दै उखुको मूल्य प्रतिक्विन्टल रु ६१७ कायम हुनुपर्ने माग राखेका छन् ।