११ असार २०८३, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कांग्रेस शेखर पक्षको भेलाले भन्यो – स्थानीय चुनाव सार्न पाइँदैन



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रचण्ड र माधव नेपालसहितको सत्तारूढ गठबन्धनसँग मिलेर चुनाव सार्ने तयारी गरिरहेको भन्दै कांग्रेसका संस्थापनइतर समूहले भने त्यसको विरोध गरेको छ ।
 
कांग्रेस नेता शेखर कोइरालाले आफ्नो समूहका नेताहरूसँग सोमबार भर्चुअल छलफल गरेका छन् । सो बैठकमा खासगरी देउवाले चुनाव सार्न गरेको तयारीका बारेमा बढी छलफल केन्द्रित भएको थियो । तीन तहको चुनाव एकैपटक गर्ने तयारीबारे बैठकमा कुरा उठेको थियो । त्यस अवसरमा स्थानीय तहको निर्वाचन वैशाखभित्रै हुनुपर्नेमा नेताहरूले जोड दिएका थिए ।

उता सत्तारूढ गठबन्धनले भने चुनावसँग बाझिने स्थानीय तह निर्वाचन ऐन संशोधन गरेर संविधानअनुसार बनाउनुपर्ने बताइरहेको छ । यसबारेमा पनि सो छलफलमा कुरा उठ्यो । चुनावबारे गठबन्धनमा पटकपटक छलफल भए पनि कांग्रेसले पार्टीमा छलफल भने गरेको छैन । 
उक्त छलफलका क्रममा देउवाले आफ्ना केही नजिकका मानिसहरूलाई लिएर गठबन्धनको नाममा चुनावमा जाने तयारी गरेको भन्दै आक्रोस व्यक्त गरेका थिए । 

सहभागी नेताहरुले भनेका थिए– चुनावजस्तो विषयमा पार्टीभित्र छलफलै नगरी सभापति देउवा अघि बढेका छन्, यसका विरुद्धमा पार्टी उभिनुपर्छ । ती नेताले भनेका थिए– ‘केन्द्रीय कार्यसम्पादन समिति पनि बनेको छैन, अर्को समूहबाट निर्वाचित पदाधिकारीलाई उहाँले पार्टीभित्र छलफलमा सहभागी गराउनुभएको छैन,’ उनले भने, ‘पदाधिकारीको मान मर्दन गरिएको छ ।’

सभापति देउवाले एकलौटी कदम चालेकाले त्यसप्रति सचेत रहनुपर्ने नेताहरूले बताएका थिए । गठबन्धनसँग निर्वाचनमा जान नहुने तर्क बैठकका सहभागीहरूको थियो । ‘कांग्रेस एक्लै चुनावमा जान सक्नुपर्छ, यो गठबन्धनलाई लिएर जान सकिँदैन,’ ती नेताले भने । उनका अनुसार पार्टी कुनै पनि हालतमा चुनाव सार्ने पक्षमा उभिनु हुदैन, यसले कांग्रेसजस्तो पार्टी पनि चुनावबाट भागेको अर्थ लाग्नेछ ।

बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बन्द्री पाण्डे, केन्द्रीय दस्यहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, नेताहरू चन्द्र भण्डारी, मिनेन्द्र रिजाल, रामशरण महत सहभागी थिए ।