२१ आश्विन २०८१, सोमबार
,
Latest
राष्ट्रपति र प्रधानमन्त्रीबीच भेटवार्ता: रोजगारी र सुशासनमा दलहरू मिलेर काम गर्न राष्ट्रपतिको सुझाव बाढीपहिरोमा परी मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ हमास आक्रमणको एक बर्ष: युद्धविराम र बन्धकको रिहाइका लागि विश्व समुदायको दवाव प्रधानमन्त्री ओलीद्वारा विद्युतको क्षमता विस्तार र खपत वृद्धिको कार्ययोजनामाथि छलफल खप्तडमा नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य सेवाबाट बिरामीलाई राहत भाउ सस्तिएपछि च्याङ्ग्राको व्यापार बढ्यो म्याग्दीमा अकबरे खुर्सानीको व्यावसायिक खेती पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान राष्ट्रपतिसमक्ष मुस्लिम आयोगको प्रतिवेदन पेस सिन्धुलीमा बस दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

इच्छाकामनाका २२ चेपाङ परिवारलाई नयाँ घर  निर्माण



अ+ अ-

भरतपुर । चेपाङ आवास कार्यक्रमअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकामा २२ घर निर्माण भएका छन् । सङ्घीय सरकारको रु एक करोड ५० लाख सशर्त अनुदानबाट विपन्न ती समुदायका आवास निर्माण भएका हुन् । मङ्गलबार गाउँपालिकाको वडा नं ७ मा आयोजित कार्याक्रममार्फत गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङले सबै वडामा निर्माण भएका घरको साँचो हस्तान्तरण गर्नुभयो ।

सो अवसरमा उहाँले गाउँपालिकाका सात वडामा आर्थिक अवस्था कमजोर भएका चेपाङ समुदाय छनोट गरेर घर निर्माण गरिएको बताउनुभयो । “पालिकाले  चेपाङ समुदायको घर निर्माणको योजना बनाएर  सरकारलाई अनुरोध गरेपछि अनुदान प्राप्त भएको हो”, उहाँले भन्नुभयो, “टोल र वडाको छनोटका आधारमा उनीहरुको घर निर्माण गरेका हौँ ।”

अध्यक्ष गुरुङले निर्माण सम्झौताअघि घर र उनीहरुको अवस्थाबारे स्थलगत अनुगमनसमेत गरिएको बताउनुभयो । “घडेरी सम्याउने र जग खनेर ढुङ्गा हाल्ने काम सम्बन्धित लाभग्राहीको हो”, उहाँले भन्नुभयो, “अरु सबै गाउँपालिकाले निर्माण गरिदिएको छ ।” उहाँले गाउँपालिकाले खरको छाना भएका र आर्थिक अवस्था कमजोर भएका चेपाङ परिवारलाई टिनको छानाको व्यवस्था गरेको जानकारी दिनुभयो ।

गाउँपालिकाको वडा नं १ मा पाँच, वडा नं २ मा दुई, वडा नं ३ मा दुई, वडा नं ४ मा दुई, वडा नं ५ मा दुई, वडा नं ६ मा तीन र वडा नं ७ मा छवटा घर निर्माण गरिएको छ ।

गाउँपालिका उपाध्यक्ष माया सिलवाल धेरैको आकाङ्क्षा भए पनि बिहान–बेलुका हातमुख जोर्न पनि समस्या हुनेको पहिचान गरेर घर निर्माण गरिएको बताउनुभयो । उहाँले समयमै काम सम्पन्न गर्ने निर्माण कम्पनीलाई धन्यवाद दिनुभयो ।

गाउँपालिकाले आगामी आर्थिक वर्षमा पनि चेपाङ आवास कार्यक्रमलाई निरन्तरता दिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चन्द्रकान्त बस्नेतले जानकारी दिनुभयो । उहाँले घर नभएका र खरको झुप्रोमा बस्दै आएकाहरूलाई प्राथमिकतामा राखेर घर निर्माण गरिने बताउनुभयो  । पालिकाले आगमी आवका लागि रु तीन करोड ३० लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो ।

वर्षौँदेखि खरको झुप्रोमा बस्दै आउनुभएका इच्छाकामना –७ सुन्दरबस्तीका अइतराम प्रजा घामपानीमा अन्यको घर ओत लाग्न जानुपर्ने अवस्थाको अन्त्य भएको बताउनुभयो । उहाँले पालिकाले दुई कोठाको घर निर्माण गरिदिएपछि खुसी लागेको जनाउँदै अब जीवनयापनमा सहज हुने बताउनुभयो ।

इच्छाकामना–१ कोलभन्ज्याङका अरसल चेपाङ भूकम्पले पुरानो घर भत्किएपछि छाप्रामा बस्दै आएको बताउनुभयो । उहाँले बर्खामा पानी चुहिने र हिउँदमा हुरीबतास र आगलागीको डर अब अन्त्य भएकामा खुसी व्यक्त गर्नुभयो । “गाउँपालिकाले घर बनाइदिएपछि निकै खुसी छौँ, छजनाको परिवार एउटै कोठामा बस्नुपर्ने बाध्यता अन्त्य हुने भएको छ”, उहाँले भन्नुभयो । इच्छाकामनामा दुई हजार पाँच सय चेपाङ परिवारको बसोबास छ । रासस