• २२ असार २०८१, शनिबार
  •      Sat Jul 6 2024
  •   Unicode
Logo

प्रस्तावित निर्वाचन आयुक्त प्रधानको संसदीय सुनुवाइ आज



काठमाडौं । प्रस्तावित निर्वाचन आयुक्त कृष्णमान प्रधानको आज संसदीय सुनुवाइ हुने भएको छ ।

संसदीय सुनुवाइ समितिको दिउँसो ११ बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकमा आज प्रस्तावित निर्वाचन आयुक्त प्रधानविरुद्ध प्राप्त उजुरीका सम्बन्धमा उजुरीकर्ताहरुसँग छलफल गर्ने छ ।

समितिले भोलि प्रधानलाई बोलाएर छलफल गर्ने कार्यसूची छ ।

गत मंगलबार बसेको संसदीय सुनुवाई समितिको बैठकले प्रधानमाथिको उजुरी र उहाँको कार्ययोजनासहितको सुनुवाई गर्ने मिति तय गरेको हो ।

यसअघि गत असार २ गते बसेको संवैधानिक परिषद् बैठकले रिक्त रहेको निर्वाचन आयुक्त पदमा नेपाल कानून समाजका कार्यकारी निर्देशक प्रधानलाई सो पदका लागि सिफारिस गरेको थियो भने समितिको असार ७ गते बसेको बैठकले उहाँमाथि उजुरी आह्वान गर्दै १० दिने सूचना जारी गरेको थियो ।

निर्वाचन पर्यवेक्षकको रुपमा समेत काम गरिसक्नुभएका प्रस्तावित निर्वाचन आयुक्त प्रधानको नाम संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।