• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

‘इट्स माइ शो’ को विवादित दृश्य र संवाद हटाउन कान्तिपुर टीभीलाई प्रेस काउन्सिलको निर्देशन



काठमाडौं । प्रेस काउन्सिल नेपालले कान्तिपुर टेलिभिजनबाट प्रसारित कार्यक्रम ‘इट्स माई शो’ को विवादित एपिसोडको दृश्य र संवाद हटाउन निर्देशन दिएको छ ।

प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनका कार्यक्रम उत्पादकलाई बोलाएर स्पष्टीकरण लिँदै विवाद एपिसोडको दृश्य र संवाद तत्काल हटाउन निर्देशन दिएको हो ।

यसअघि आपत्तिजनक ढंगले कार्यक्रम चलाएको, गोपनीयता हनन हुने काम गरेको र अश्लीलता देखाएको भन्दै प्रेस काउन्सिलले कान्तिपुर टेलिभिजनलाई पूर्जी काटेको थियो । झण्डै एक घण्टा सिटौलाले उक्त कार्यक्रमबारे विभिन्न तर्क गरेकी थिइन् । काउन्सिल अध्यक्ष बालकृष्ण बस्नेतसहितसँग भएको छलफलमा प्रस्तोता सिटौलाले आफ्नो कार्यक्रममार्फत अरुको चरित्र हत्या गर्ने, गोपनीयता हनन् हुने निहित उद्देश्य नराखेको प्रष्ट पारेकी थिइन् ।

उनले एक साता अघि उक्त शोमा नायिका स्वस्तिमा खड्का, सामाग्री राज्य लक्ष्मी शाह ल्याएकी थिइन । त्यहाँ सोधिएका प्रश्न र प्राप्त जवाफ अश्लील, आपत्तिजनक, गोपनीयताको हक विपरित रहेको भन्दै प्रेस काउन्सिल कडा एक्सनमा उत्रिएको हो । उनले काउन्सिलमा अन्य कलाकारको मानमर्दन भएमा माफी माग्ने र प्रेस काउन्सिलको सल्लाह र निर्णय मान्न तयार रहेको बताएकी थिइन ।

काउन्सिलले विवादास्पद र आपत्तिजनक हुने गरी कुनै पनि सामाग्री प्रसारण नगर्न कान्तिपुर टेलिभिजनलाई निर्देशन समेत दिएको काउन्सिलका एक सदस्यले बताए । छलफलमा अध्यक्ष बस्नेत, पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, नेपाल बार एशोसिएसनका महासचिव अन्जिता खनालसहित सहभागी थिए । उक्त शोका निर्माता, कान्तिपुर टिभीका समाचार र प्रशासनको समेत प्रतिनिधित्व थियो ।

प्रेस काउन्सिलले पछिल्लो समय विभिन्न मिडियामा आएका आचारसंहिता विपरितका सामाग्री, हुबहु कपी गरी दिएका सामाग्री र बार्गेनिंग गरेका मुद्धामा सक्रियता देखाइरहेको छ । यसअघि सिधाकुरा, नेपालआज, दैनिकी, फरकधारसहित ३ दर्जन सञ्चारमाध्यमलाई काउन्सिलले कडा कारवाही गरिसकेको छ ।