६ भाद्र २०८३, शनिबार
,
Latest
युक्रेनमा भएको रूसी आक्रमणमा दुई जनाको मृत्यु भूमिसम्बन्धी समस्या समाधान सरकारको उच्च प्राथमिकतामा छः मन्त्री रावल गरिमालाई न्याय माग्दै माईतीघरमा प्रदर्शन सङ्गठनात्मक कार्य सम्पन्न गरी सडक सङ्घर्षमा केन्द्रित हुन नेतृ सुवेदीको आह्वान वागमती प्रदेशका मुख्यमन्त्री थापाले भदौ ८ गते विश्वासको मत लिने मधेस सरकारद्वारा नीति तथा योजना आयोगको ‘ओएण्डएम सर्वे’ स्वीकृत दोषीलाई कारबाही गर्न अध्यक्ष घिसिङको माग हेटौँडा कपडा उद्योग सञ्चालनका लागि सरकारले लगानी गर्ने उद्योगमन्त्री यादवको प्रतिवद्धता पारिश्रमिक बढेपछि विद्यालय कर्मचारीको आन्दोलन स्थगित इबोला प्रकोपबिच डीआर कङ्गोमा १६ हजार २५० डोज खोप आइपुग्यो
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान



अ+ अ-

काठमाडौं: पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनकै नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोश्रो तथा कोशी प्रदेशका सुपर राई तेश्रो  भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान बनाए । ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोशीका सोमनाथ राई दोश्रो तथा बागमतीका मानबहादुर राना मगर तेश्रो बने ।

पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरे । बागमतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गरे ।

पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे । गण्डकी प्रदेशका पवन घर्ती मगर दोश्रो तथा बागमतीका दीपक तिमल्सिना तेश्रो स्थानमा रहे ।

पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण चुमे । उनले ५० केजी वजन उठाए । कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कांस्य हात पारे । पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० केजी तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोश्रो तथा बागमतीका रामकाजी मगर तेश्रो  भए ।

विजेतालाई राखेपकी अध्यक्ष एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा मधेश बाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा ३ गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।