५ पुष २०८२, शनिबार
,
Latest
दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी साफ महिला च्याम्पियनसिपः एपिएफलाई हराउँदै इस्ट बङ्गाल विजयी गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ- नेता सिंह राजनीतिमा मिल्न बाँकी हिसाब ! ‘पार्टीलाई थप सुदृढ बनाउन एकताबद्ध भएर लाग्छौँ’ पत्रकारले आचारसहिंता पुर्ण रूपले गर्नुपर्नेमा जोड टेबलटेनिस प्रतियोगितामा रुविन र इभानालाई स्वर्ण ‘प्रदेश र स्थानीय तहलाई क्षेत्राधिकार हस्तान्तरण नहुँदा सङ्घीयता कमजोर बनेको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

पारा तथा विशेष खेलकुदको भारोत्तोलनमा ४ नयाँ राष्ट्रिय कीर्तिमान



अ+ अ-

काठमाडौं: पारा तथा विशेष खेलकुदअन्तर्गत भारोत्तोलनमा मंगलबार ४ नयाँ राष्ट्रिय कीर्तिमान बनेको छ । चारै कीर्तिमान पुरुषको स्पर्धामा बनेको हो । चारमा दुईले आफ्नै नाममा रहेको कीर्तिमान सुधारे भने दुई खेलाडीले अरुको कीर्तिमान तोड्दै स्वर्ण जितेका हुन् ।

सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा भएको प्रतियोगिताको पुरुष ७२ केजीमाथि बागमती प्रदेशका आशिष मानन्धरले १४५ केजी भार वहन गर्दै आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमानमा सुधार गरे । उनकै नाममा १३० केजीको कीर्तिमान थियो । कर्णाली प्रदेशका किरणकिशोर सापकोटा दोश्रो तथा कोशी प्रदेशका सुपर राई तेश्रो  भए ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजना तथा राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालको व्यवस्थापनमा भएको प्रतियोगिताको पुरुष ५९ केजीमा सुदूरपश्चिम प्रदेशका सुरेश विष्टले ८६ केजी तौल उठाउदै राष्ट्रिय कीर्तिमान बनाए । ८५ केजीको कीर्तिमान दीपक तिमल्सिनाको नाममा थियो । कोशीका सोमनाथ राई दोश्रो तथा बागमतीका मानबहादुर राना मगर तेश्रो बने ।

पुरुष ६५ केजीमा बागमतीका दीपक खड्काले १०१ केजी वजन उचाल्दै राष्ट्रिय कीर्तिमान कायम गरे । उनले ठाकुर श्रेष्ठको ९० केजीको कीर्तिमान भंग गरे । बागमतीका विरु ढुंगानाले रजत तथा लुम्बिनीका लक्ष्मण नेपालीले कांस्य प्राप्त गरे ।

पुरुष ५४ केजीमा बागमतीका ठाकुर श्रेष्ठले १०० केजी भार वहन गर्दै कीर्तिमानी स्वर्ण जिते । उनले आफ्नै नाममा रहेको ९० केजीको कीर्तिमानमा सुधार गरे । गण्डकी प्रदेशका पवन घर्ती मगर दोश्रो तथा बागमतीका दीपक तिमल्सिना तेश्रो स्थानमा रहे ।

पुरुष ४९ केजीमा बागमतीका मनीष पुन मगरले स्वर्ण चुमे । उनले ५० केजी वजन उठाए । कर्णालीका रुपलाल बस्नेतले रजत तथा कोशीका अजित खातीले कांस्य हात पारे । पुरुष ७२ केजीमुनि बागमतीका राजाराम सिलवाल पहिलो भए । उनले ८० केजी तौल उचाले । लुम्बिनीका नारायण तिमल्सिना दोश्रो तथा बागमतीका रामकाजी मगर तेश्रो  भए ।

विजेतालाई राखेपकी अध्यक्ष एवं प्रतियोगिता संयोजक पेमा डोल्मा लामा, राष्ट्रिय पारा भारोत्तोलन खेलकुद संघ नेपालका अध्यक्ष टेकबहादुर गुरुङलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा मधेश बाहेक ६ प्रदेशका ४२ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा ६ र महिलामा ३ गरी ९ स्पर्धामा प्रतिस्पर्धा भएको थियो ।