२१ भाद्र २०८३, आईतवार
,
Latest
तादीखोलामा एक्रोब्रिज जडान तीब्र पूर्वी चीनको जियाङ्सीमा पहिरोः एकको मृत्यु, ११ जना बेपत्ता चीनको विपद् कुटनीतिः ‘राहतदाता’ देखि ‘पार्टी–पार्टी’ सहायतासम्मको बहुआयामिक अभ्यास पहिराले रोल्पाको सहिदमार्ग अवरुद्ध नुवाकोटका राहत शिविरमा बाढी प्रभावितलाई सुविसुको निःशुल्क इन्टरनेट सेवा सामाजिक सञ्जालमा सिकेको ज्ञानबाट ड्रागन फ्रुटखेती चितवनमा फेला परेका ३६२ शवमध्ये ३३३ को व्यवस्थापन, ६८ जना आफन्तको ‘डिएनए’ नमूना संकलन एसिसी प्रिमियर कपः नेपाललाई साउदी अरेबियाविरुद्ध फिल्डिङको निम्तो नाढीमन ताल अवलोकन गर्न पर्यटक आकर्षित पहिराले साँफे–मार्तडी सडकखण्ड अवरुद्ध
तपाईं के खोज्दै हुनुहुन्छ ?

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण



अ+ अ-

म्याग्दी । म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ । स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो ।

रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताउनुभयो । “खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।”

स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ । स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले नि:शुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । हाल हङ्कङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा रु १८ लाख छ हजार एक सय ५३, बेलायतमा रहनुभएका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा रु छ लाख ९१ हजार, अष्टे«लियामा रहेका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा रु दुई लाख १५ हजार र सिङ्गापुरबाट रु एक लाख सहयोग प्राप्त भएको क्लबले जनाएको छ ।

रघुगङ्गा गाउँपालिकाले चालु आव २०८०र८१ मा रु सात लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले रु आठ लाख १८ हजार पाँच सहयोग गरेका छन् । पाखापानीका एक सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र रु १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट रु ११ हजार र पाखापानी गाउँबाट रु नौ हजार सहयोग प्राप्त भएको थियो ।

स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उहाँका छोराहरू खिम पुन र भीम पुनले रु तीन लाख छ हजार खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गर्नुभएको छ । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताउनुभयो । रासस