• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo
Latest
★   एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले प्रधानमन्त्रीलाई राजीनामा बुझाए ★   साङ्गीतिक चलचित्र ‘हिरुलालः द सोल अफ कर्णाली’ सार्वजनिक ★   पूर्वप्रदेशसभा सदस्य यादव पुर्पक्षका लागि जेल चलान ★   एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै, केहीबेरमै प्रधानमन्त्रीलाई बुझाइने ★   काखीमुनि प्वाल पारेर मुटुको भल्ब परिवर्तन ★   कोपा अमेरिकाको क्वाटरफाइनल समीकरण पूरा, कुन–कुन टिम पुगे अन्तिम आठमा ? ★   नागढुंगा–नौबिसे सडक दुई रात बन्द हुने, वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध ★   नरबहादुर चन्द, जसले सुदूरपश्चिममा हकी स्थापित गराए ★   लोसपाले कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने ★   नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार

भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा



काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आसन्न दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा भएको छ । यही असार १६ देखि २० गतेसम्म प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजना हुने सो महाधिवेशनमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा छलफल हुने छ ।

महाधिवेशनका बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आसन्न महाधिवेशनमा प्रस्तुत गरिने आवश्यक दस्तावेज तयार भइसकेको जानकारी दिनुभयो । ती दस्तावेज कम्युनिष्ट पार्टीकोे इतिहासमा नयाँ र जनअधिकारको पक्षमा महत्वपूर्ण हुने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

पत्रकार सम्मेलनमा सम्मानित नेता झलनाथ खनालले महाधिवेशनबाट पारित हुने वैचारिक दृष्टिकोण तथा कार्यक्रमका आधारमा नेतृत्व चयन गरिने जानकारी दिनुभयो । उहाँले नेतृत्वमा सहमति हुन नसके लोकतान्त्रिक पद्धतिबाट प्रक्रिया अगाडि बढाउनुपर्छ भन्नुभयो । महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिले भाग लिनेछन् । ती प्रतिनिधिले दुई सय ९९ सदस्यीय कार्यसमिति तथा २१ पदाधिकारीको चयन गर्ने छ । पार्टी अध्यक्ष नेपालले आइतबार महाधिवेशन उद्घाटन गर्नुहुने कार्यक्रम छ ।

पार्टी अध्यक्ष नेपालको नेतृत्वमा गठित महाधिवेशन मूल व्यवस्थापन समितिले महाधिवेशनका आवश्यक सबै काम अन्तिम चरणमा पुगेको जनाएको छ । काठमाडौँ उपत्यका बाहिरका प्रतिनिधिहरू आइसकेको जनाइएको छ ।

महाधिवेशनस्थल आसपासमा उनीहरूलाई आवासको व्यवस्था मिलाइएको छ भने प्रतिनिधिलाई महाधिवेशनस्थलभित्रै खानाको व्यवस्था गरिएको छ । महाधिवेशनस्थललाई आकर्षक बनाउन सिगारिएको छ । करिब तीन वर्षअघि गठन गरिएको पार्टीले आसन्न महाधिवेशनलाई दशौँ राष्ट्रिय महाधिवेशनका रुपमा दाबी गरेको छ । एकीकृत समाजवादीले हालसम्म सम्पन्न भएका नौ अधिवेशनको स्वामित्व लिएर अहिलेको राष्ट्रिय अधिवेशनलाई दशौँ मानेको छ ।