काेराेनाभाइरसकाे नयाँ स्वरूप बेलायतमा देखिएसँगै विश्वभर नयाँ सन्त्रास फैलिएकाे छ । याे भाइरस अझ घातक र छिटाे सर्ने भएकाले पनि विश्वभरका स्वास्थ्य अनुसन्धाताहरू चिन्तित भएका हुन् ।
याे भाइरसबाट संक्रमितहरू छिमेकी मुलुक भारत र पाकिस्तानमा पनि देखिएपछि नेपालजस्ता मुलुकमा थप चिन्ता बढाएकाे छ । खासगरी बेलायतबाट विमान चढेर भारत आएका व्यक्तिमा याे भाइरस देखिएकाे भारतीय स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
बिबिसीका अनुसार भारतमा हालसम्म ६ जनामा याे भाइरसकाे संक्रमण पुष्टि भएकाे छ । पाकिस्तानकाे सिन्ध प्रान्तमा पनि बेलायतबाट फर्किएका ३ जनामा नयाँ स्वरूपकाे काेराेनाभाइरस देखिएकाे पाकिस्तानी अधिकारीहरूले बताएका छन् ।
नयाँ स्वरूपकाे याे भाइरस विश्वका २० भन्दा बढी मुलुकमा पुगिसकेकाे अनुमान गरिएकाे छ । नयाँ स्वरूपकाे भाइरस देखिएसँगै युराेपेली मुलुकले बेलायतसँगकाे हवाइ, जल तथा जमिनकाे यात्रामा कडाइ गरेका छन् भने अमेरिका, खाडी मुलुकहरू, जापान समेतका कैयाैं मुलुकले हवाइ यात्रामा व्यापक कटाैती गरेका छन् । नेपालले पनि बेलायतबाट फर्कने नागरिकलाइ क्वारेन्टाइनमा राख्ने र काेराेना परीक्षण गर्ने व्यवस्था गरेकाे छ ।
भारत र पाकिस्तानले बेलायतबाट हुने उडान स्थगित गरिसकेका छन् । याे सहित विश्वका ५० भन्दा बढी मुलुकले बेलायतबाट हुने उडान स्थगित गरेकाे बिबिसीले जनाएकाे छ ।
कहाँ कहाँ देखियाे नयाँ भाइरस ?
युराेपः नेदरल्यान्ड्स, डेनमार्क, फ्रान्स, इटाली, स्पेन, स्वीट्जरल्यान्ड, स्वेडेन, फिनल्यान्ड, आयरल्यान्ड, जर्मनी, आइसल्यान्ड, बेल्जियम
उत्तर अमेरिकाः क्यानाडा
एसिया र अस्ट्रेलियाः जापान, सिंगापुर, हङकङ, दक्षिण काेरिया, अस्ट्रेलिया, भारत, पाकिस्तान
मध्यपूर्वः इजरायल, लेबनान
नयाँ भाइरस के हाे ?
काेराेनाभाइरस नयाँ स्वरूपमा सर्वप्रथम बेलायतमा देखा परेकाे थियाे । यहाँ देखिएकाे भाइरस मानिसमा निकै छिटाे सर्ने र बढी घातक रहेकाे अध्ययनले देखाएकाे बेलायती वैज्ञानिकहरूले बताएका छन् । भाइरसहरू एक रूपबाट अर्काे रूपमा बदलिनु सामान्य हाे । भारतकाे मुम्बइस्थित फाेर्टिस अस्पतालका डा राहुल पण्डितका अनुसार भाइरसहरू निरन्तर एकबाट अर्काे स्वरूपमा परिवर्तन भइरहन्छन् । सार्स-काेभ-२ भाइरस स्पेन समेतका अरू देशमा नयाँ स्वरूपमा पहिल्यै देखिएकाे थियाे । अनुसन्धाताहरूका अनुसार याे भाइरस १७ पटकसम्म नयाँ स्वरूपमा देखिन सक्छ । स्पाइक प्राेटिनमा हुने परिवर्तनका कारण याे भाइरस निकै घातक र मानिसहरूमा सहजै सर्न सक्छ, डा पण्डितकाे भनाइ छ ।
याे कति खतरनाक छ ?
डा पण्डित भन्नुहुन्छ, "नयाँ स्वरूपमा रूपान्तरण हुने अधिकांश भाइरस हानिकारक पनि हुन सक्छन् वा कुनै असर नदेखाउने पनि हुन सक्छन् । रिपाेर्टहरूका अनुसार, सार्स- काेभ-२ काे नयाँ स्वरूप भने पुरानाे भाइरसकाे तुलनामा ७० गुणासम्म बढी संक्रामक देखिएकाे छ । अझ चिन्ताकाे विषय के हाे भने याे नयाँ स्वरूपमा बदलिएकाे भाइरसले ३० देखि ६० वर्ष उमेर समूहका मानिसलाइ बढी असर पार्नेछ । बेलायतमा गरिएका अध्ययनहरूले याे भाइरस दक्षिणी इङ्ल्याण्डमा तिब्र गतिमा फैलिइरहेकाे देखाएका छन्, र यसले भाइरसका अरू समूहलाइ विस्थापित गरिरहेका छन् । तर कतिपय प्रश्नहरू अझै अनुत्तरित छन्ः के यसले मानिसलाइ बिरामी नै बनाउँछ ? के बिरामीले लामाे समय उपचार गराउनु पर्ला ? के हाल उपलब्ध खाेपले यसलाइ ठीक गर्ला ?"
कसरी जाेगिने ?
सबैभन्दा उत्तम विधि नियमकाे पालना नै हाे । नियमित हात धुने, अनुहारमा मास्क लगाउने र भाैतिक दूरी कायम राख्ने सबैभन्दा राम्राे उपाय हाे ।











