• १९ असार २०८१, बुधबार
  •      Wed Jul 3 2024
  •   Unicode
Logo

राष्ट्रिय सभा सांसदको प्रश्न: महिलाले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ?



काठमाडौँ । राष्ट्रिय सभामा नेकपा (माओवादी केन्द्र) की सांसद रेणु चन्दले छाउपडी गोठमा बसिरहेको किशोरीमाथिको आक्रमणबारे उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग जवाफ माग गर्नुभएको छ ।

आईतवारको राष्ट्रिय सभा बैठकमा बोल्दै उहाँले गृहमन्त्रीको जवाफ माग गर्नुभएको हो । उहाँले महिलाहरुले आफ्नो जीवनको अवधिमा करिव करिव ३० वर्षसम्म महिनावारी हुने उल्लेख गर्दै महिलाको जीवनको सक्रिय समयमा हुने आक्रमणबारे सरकार गम्भीर बन्नुपर्ने बताउनु भयो । उहाँले प्रजनन अंगमा मृत्यु बोकेर कहिलेसम्म हिँड्ने ? भन्दै प्रश्न गर्नुभयो । उहाँले छाउपडी गोठको कुरा निर्मुल नभएसम्म उठाइरहने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘छाउपडी गोठमा बसिरहेको किशोरीमाथि आक्रमण भएको छ । महिलाहरुले आफ्नो जीवनको अवधिमा करिव करिव ३० वर्षसम्म महिनावारी हुन्छौँ । यो हाम्रो जीवनको सबैभन्दा सक्रिय काल पनि हो । यसमा बच्चाबच्ची जन्माउँछौँ । करियर अघि बढाउँछौँ । औषत आयु जो नेपाली महिलाको छ, त्यसको लगभग आधा अवधि हुन जान्छ । यो हाम्रो समाजमा प्रचलित सामाजिक प्रथा हो । प्रजनन अंगमा काल बोकेर मृत्यु बोकेर कहिलेसम्म हामीले हिँड्ने हो । हामी महिलाहरु आफ्नो शरीरमा मृत्यु बोकेर हिँड्ने ? यसको जवाफ कसले दिने हो ? कति पटक छाउपडी गोठको कुरा उठाउनु हुन्छ भन्नुभयो, जबसम्म निर्मुल हुँदैन तबसम्म कुरा उठाउँछौँ । थाक्नेवाला छैनौँ । गृहमन्त्रीज्युले यहाँ आएर जवाफ दिनुपर्छ । यो धेरै संवेदनशील कुरा छ ।’

उहाँले बनेका ऐन,कानूनहरु कार्यान्वयन हुन नसकेको भन्दै आपत्ति जनाउनु भयो ।