१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar निर्माणाधीन ट्रान्समिसन लाइनको अवरोध फुकाउँदै ऊर्जा मन्त्रालय, १२ प्रसारण लाइनको काम यसै वर्ष सकिने News Polar खोप सेवाको सुक्ष्म कार्ययोजना तयार गर्दै काठमाडौँ महानगरपालिका News Polar जुम्लामा एक हजार ४९ क्विन्टल नुन मौज्दात News Polar हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित News Polar गाउँमै रोजगारीको बाटो खोज्दै भोजपुरका युवा News Polar तनहुँमा चैते धान प्रवर्द्धन गरिँदै News Polar रेलेखोलाको बाँधमा बाढी, विद्युत् उत्पादन बन्द   News Polar म्याग्दीमा प्रसारण लाइन मर्मत सुरु News Polar तटबन्धले जोगायो गैँडाकोटको बस्ती News Polar नेपाली क्रिकेट टोली जापानबाट स्वदेश फिर्ता News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो

पदमार्ग निर्माणसँगै शिवपुरीको लौके झरनामा आन्तरिक पर्यटकको घुइँचो
अ अ+ अ-

थानापति । गोठाला र घाँसीहरूले गीत गाउँदै हिँड्ने छहरेको वन र झरनामा जान पहिला–पहिला निकै कठिन हुन्थ्यो । घारीको बाटोमा काँढा बिझ्ने, जुका लाग्ने र खोल्सीहरूमा फसिने जोखिम हुन्थ्यो । भिरबाट लडिने डरले मानिस गोठालो–घाँस–दाउरा र पानी लगाउन जाँदा एक्लै हिँड्दैनथेँ । अहिले पदमार्ग बनेपछि छहरे खोलामा बग्ने लौका आकारको सुन्दर झरनासम्म पुग्न ज्येष्ठ नागरिक र बालबालिकलाई पनि सहजता मिलेको छ । साथै यहाँ आन्तरिक पर्यटकको घुइँचो लाग्न थालेको छ ।

काठमाडौँ, विदुर वा अन्य सहरका उकुसमुकुसलाई मेटाउने नजिकको सुन्दर प्राकृतिक गन्तव्यस्थलमा पूर्वाधार विकास भएपछि आक्कलझुक्कल गाउँ बस्ने र अरु बेला सहर बस्ने स्थानीयवासी पनि झरनाको सौन्दर्य र विकासको नयाँ उपक्रमलाई नजिकबाट नियाल्न झर्नामा पुग्न थालेका छन् ।

गाउँलेहरूको त्यो उत्साह शनिबारको पदमार्ग उद्घाटनको कार्यक्रममा देखिएको थियो । खेतीपातीका काम छाडेर स्थानीयवासी आफ्नै जीवनकालमा त्यो भिरपाखामा देखिएको आधुनिक विकासको निर्माता र साक्षी हुन पाएका छन् । त्यसैले होला, उनीहरु असारे पानीको पर्वाह नगरी झरना क्षेत्रमा जम्मा भएका देखिन्थे । नव प्रशिक्षित महिला बाजा समूहको पञ्चेबाजाको प्रस्तुतिले वारीपारी डाँडाकाँडा गुञ्जयमन त भएकै थियो । झरना र दहमा पुग्नेहरुले सुसेलीका भाका पनि हाल्न भ्याएका थिए ।

“त्यस्तो भिरमा के लगानी गरेका होलान् ?” शिवपुरी गाउँपालिका–८ को माथिल्लो ढोडिनीबाट सानो छहरे र ठूलो छहरे (लौके) झरनासम्मको पदमार्ग निर्माणका लागि बजेट विनियोजन गर्दा नुवाकोटको जनप्रतिनिधिमाथि यस्ता प्रश्न नआएका होइनन् । गाउँपालिकाको कटिबद्धता, विभिन्न निकायको सहयोग र जनश्रमदानका कारण छोटो अवधिमै पदमार्गमा ढलान र आवश्यक सिँढीहरू निर्माण सम्पन्न भई यात्रीका लागि विश्रामस्थल पनि बनेपछि त्यस्ता प्रश्न आफैँ फिक्का सावित भएका छन् ।

शिवपुरी गाउँपालिको वडा नं ८ र ककनी गाउँपालिकाको वडा नं ५ को सिमानामा पर्ने ठूलो छहरे (लौके) झरना जान अहिले काठमाडौँ–टोखा छहरे सडकबाट निकै सहज भएको छ । काठमाडौँ–टोखा छहरे सडकको स्तरोन्नति र कालोपत्रपछि काठमाडौँ–विदुर र अन्य स्थानबाट उक्त सडक प्रयोगको क्रम बढेको छ । यस पर्यटकीयस्थलमा पूर्वाधार विकासपछि आन्तरिक र बाह्य पर्यटक वृद्धि हुने ठानिएको छ । वन र भिरको बीच भागमा रहेको सानो छहरे र ठूलो छहरे झरनामा करिब १० वर्षअघि नेपाल क्यानोनिङ सङ्घबाट क्यानेनिङ सञ्चालन गरिएपछि यसको पर्यटकीय पहिचान उजागर भएको थियो । अहिले पदमार्ग र विश्रामस्थलको निर्माणले झरनाप्रति थप आकर्षण बढेको छ ।

नवनिर्मित पदमार्ग र विश्रामस्थलको गाउँपालिकाका अध्यक्ष गोविन्द थपलियाले शनिबार उद्घाटन गरिरहँदा स्थानीय र आन्तरिक पर्यटकको एक प्रकारले लर्को लागेको थियो । सोही क्रममा ‘छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्था’को पनि उद्घाटन भएकाले यसप्रति स्थानीयवासीको चासो बढेको छ । काठमाडौँबाट माथिल्लो ढोडिनीसमको सडकमार्गको दूरी २९ किलोमिटर रहेको छ भने टोखा छहरे सडकबाट घट्टेखोलाबाट सानीपिपल हुँदै तीन किलोमिटर सडकबाट ढोडिनी पुग्न सकिन्छ । अहिले ढोलिनीसम्म चारपाङ्ग्रे सवारीसाधन पुग्ने बाटो बनिसकेको छ । ढोडिनीबाट झरनासम्म आठ सय मिटर पदमार्ग निर्माण गरिएको हो ।

‘शिवपुरी विकास र समृद्धिको आधार : शिक्षा,, कृति, पर्यटन र पूर्वाधार’को नाराका साथ कार्यरत गाउँपालिकाका अध्यक्ष थपलिया कृषि पर्यटनको विकास कसरी गर्ने भन्ने विषयमा आफूहरूले योजनाबद्ध रूपमा काम गरिरहेकाले छहरे झरना क्षेत्रमा थालनी भएको पूर्वाधार विकासलाई त्यही रूपमा बुझ्न आग्रह गर्नुभयो । उहाँले झरनामा पर्यटक आउन थालेपछि स्थानीय रूपमा घरबासलगायत अन्य व्यवसाय सञ्चालन आउने र स्थानीय उत्पादनले बजार पनि पाउने भएकाले अनेक दु:खकष्ट सहेर पनि स्थानीयवासीको समृद्धिको चाहनालाई पूरा गर्न लागि पर्ने अठोट व्यक्त गर्नुभयो ।

सोही गाउँपालिकाका उपाध्यक्ष वीरबहादुर तामाङले शिवपुरीको समृद्धिको एउटा आधार पर्यटन हो भन्ने पहिचान गरेर आफूहरूले पूर्वाधार विकासको काम आरम्भ गरेको बताउनुुभयो । गाउँपालिकाका वडा नं ८ का अध्यक्ष केशव रिजालले आगामी दिनमा ठूलो छहरे झरनामा ककनी जोड्ने झोलुङ््गे पुल निर्माण गर्ने, सो स्थानमा सेल्फी खिच्न मिल्ने ‘स्ट्याण्ड’ बनाउनेलगायत योजना रहेको सुनाउनुभयो । उहाँका अनुसार पदमार्ग र विश्रामस्थल निर्माणका लागि गाउँपालिकाको रु पाँच लाख, वडाको रु दुई लाख, नेपाल पर्यटन बोर्डको रु १७ लाख र प्रधानमन्त्री स्वरोजगार कोषको रु आठ लाख गरी करिब रु ३० लाख लागत रहेको छ ।

छहरे झरना पर्या–पर्यटन प्रवर्द्धन संस्थाका अध्यक्ष गोपाल सिलवाल गाउँपालिकाको नेतृत्व र स्थानीयवासीको श्रमदानबाट झरनासम्मका लागि पदमार्ग र विश्रामस्थल बनेकाले अब आन्तरिक र बाह्य पर्यटक नियमित भित्र्याउन घरबास र रिसोर्ट सञ्चालनको योजना अघि बढाइने बताउनुहुन्छ । स्थानीय राजनीतिकर्मी राजेन्द्र वलीले पर्यटन पूर्वाधारको विकासमा सबैको साथ रहने बताउँदै लौके झरनामा स्वदेशी र विदेशी पर्यटक ल्याउन लागिपर्ने जनाउनुभयो । उक्त झरनामा क्यानोनिङको थालनीमा भूमिका निर्वाह गर्ने स्थानीयवासी हरि सिलवालले क्यानेनिङ महोत्सवलाई निरन्तरता दिन सकिए आन्तरिक र बाह्य पर्यटक स्वत: बढ्ने बताउनुहुन्छ ।

नुवाकोटको दक्षिण पूर्वी भागमा अवस्थित शिवपुरी गाउँपालिका साविकका तलाखु, छाप, लिखु, सिक्रे महाकाली, समुन्द्रादेवी, सुनखानी र थानापती गाविस समावेश गरी बनेको हो । समुद्री सतहको छ सय २९ मिटरदेखि दुई हजार पाँच सय २० मिटरको उचाइमा रहेको गाउँपालिकाको केन्द्र सेराबगर जिल्ला सदरमुकाम विदुरबाट ३० किलोमिटर र सङ्घीय राजधानी काठमाडौँबाट ४० किलोमिटर सडकको दूरीमा रहेको छ । विदुर र काठमाडौँको करिब मध्यदूरीमा पर्ने भएकाले पनि छहरे (लौके) झरना पर्यटकीय प्रचुर सम्भावनाको बोकेको स्थल हुन पुगेको छ ।

परापूर्वकालमा भगवान् शिवले क्रिडा गर्नुभएको मानिएको यस भूमिमा शिवको आराधना र तपस्याका लागि ऋषि, महर्षि र तपस्वी आउने गरेका जनविश्वास छ । शिवको बसोबास ठानिएको यो धार्मिक महत्वको क्षेत्रलाई शिवपुरी भनिने गरिएको छ । यो गाउँपालिका शिवपुरी राष्ट्रिय निकुञ्जसँग पनि जोडिएको छ । रासस