२८ मंसिर २०८२, आईतवार
,
Latest
कांग्रेस नेता चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा एमालेका सबै क्लस्टरको केन्द्रीय सदस्यमा ४० वर्षमुनिको युवा कोटा रहने प्रस्ताव एनपिएल: महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित जातिय र भाषिक विविधता नेपालको सम्पतीः मन्त्री खनाल साढे १२ अंकले घट्यो आजको शेयर बजार मुलुकमा नातावाद, कृपावाद र पक्षपातको अन्त्य हुनुपर्दछः प्रधानमन्त्री कार्की कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक ज्ञवाली र शाक्य महाधिवेशनमा कुनै पनि पदमा नउठ्ने सरकारले संघीय संसदलाई अदृश्य ढंगले बन्देज लगाउने प्रयास गरिरहेको छः देवराज घिमिरे मलयालम अभिनेता अखिल विश्वनाथको ३० वर्षको उमेरमा निधन
तपाईं के खोज्दै हुनुहुन्छ ?

थाई नरेशसमक्ष राजदूत ओलीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत



अ+ अ-

काठमाडौं । थाइल्याण्डका लागि नेपाली राजदूत धनबहादुर ओलीले थाइल्याण्डका नरेश वाजिरालोङकोर्न फ्रा वाजिराकलाओचाओयुहुआसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ ।

राजदूत ओलीले शनिबार थाइल्याण्डको एम्फोरन राजदरबारमा आयोजित विशेष समारोहमा आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको बैङ्ककस्थित नेपाली राजदूतावासले जनाएको छ ।

ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेपछि राजदूत ओलीले थाई नरेशासँग शिष्टाचार भेट गर्नुभएको थियो । त्यस अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलका तर्फबाट राजदूत ओलीले थाई नरेशको व्यक्तिगत सुख, सुस्वास्थ्यका साथै थाइल्याण्ड अधिराज्यका मैत्रीपूर्ण जनताको निरन्तर शान्ति, प्रगति र समृद्धिको शुभकामना व्यक्त गर्नुभयो ।

राजदूत ओलीले नेपाल र थाइल्याण्डबीच घनिष्ठ एवं मैत्रीपूर्ण सम्बन्ध रहेको, त्यो सम्बन्ध दुवै देशका सरकार र जनताबीच आत्मीयतापूर्वक कायम रहेको, ऐतिहासिक रुपमा साझा संस्कृति र साझा मूल्यमान्यताले दुवै देश बाँधिएका बताउनुभयो । उहाँले क्षेत्रीय तथा अन्तर्राष्ट्रियस्तरमा दुवै देशले एकअर्कालाई सहयोग एवं समर्थन गर्दै आएका उल्लेख गर्दै नेपाल र थाइल्याण्डका जनताबीचको प्रगाढ सम्बन्धसँगै प्राचीनकालदेखि नै बौद्ध धर्मको विकास हुँदै आएको बताउनुभयो ।

राजदूत ओलीले भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी र महाराजा राजर्षि जनकको राजधानी जनकपुरमा उपयुक्त समयमा थाई नरेशलाई स्वागत गर्न राष्ट्रपति पौडेलको चाहनाबारे अवगत गराउनुभयो ।

प्रत्युत्तरमा थाई नरेशले राष्ट्रपति पौडेलको निमन्त्रणालाई सहर्ष स्वीकार गर्नुभयो । निमन्त्रणाका निम्ति राष्ट्रपति पौडेलप्रति कृतज्ञता ज्ञापन गर्दै उहाँको सुख, सुस्वास्थ्यका साथै नेपाली जनताको उत्तरोत्तर प्रगति र समृद्धिको कामना गर्नुभएको थियो । ओहोदाको प्रमाणपत्र पेस गर्न आयोजित विशेष समारोहमा थाइल्याण्डकी रानी सुथिदा बज्रसुधाबिमलाक्षणा उपस्थित हुनुहुन्थ्यो ।

थाइल्याण्डमा कार्यभार सम्हाल्नुभएका राजदूत ओलीलाई स्वागत गर्दै थाई नरेशले उहाँको कार्यकालको सफलताको कामना गर्नुभयो । रासस