८ श्रावण २०८३, शुक्रबार
,
Latest
पाकिस्तानी र सोमालियाली शरणार्थीहरू भारत हुँदै नेपाल प्रवेश गर्ने क्रम बढ्योः प्रहरी महानिरीक्षक कार्की खुला सीमाना र साइबर अपराध मुख्य सुरक्षा चुनौती, सीमा क्षेत्रमा नेपाल प्रहरीको उपस्थिति बढाइयो सीमा सुरक्षा र अपराध नियन्त्रणमा सशस्त्र प्रहरी प्रतिवद्ध छः महानिरीक्षक पौडेल सेनाको श्रमदानमा महाकाली नदीमा ‘गाइडबण्ड’ पुनःनिर्माण गोरखाबाट सुत्केरी महिलाको आकस्मिक हवाई उद्धार आईभीएफ सेवा व्यवस्थित गर्न कार्यविधि र ऐनको छलफल सुरु मकवानपुर प्रशासनका सबै सेवा एकद्वार प्रणालीबाट अनैतिक कार्यमा संलग्न ४७ विदेशी महिला ‘डिपोर्ट’ झापामा नयाँ कारागार भवन निर्माण गर्न डिपिआर तयार गरिँदै प्लाइउड निर्यातका अवरोध तत्काल हटाउन प्रधानमन्त्रीको निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जलेश्वर नगरपालिकाले पायो कार्यवाहक प्रमुख र उपप्रमुख



अ+ अ-

जलेश्वर । अख्तियारद्वारा भ्रष्टाचार आरोपमा प्रमुख उपप्रमुखसहित १२ जना निलम्वनमा परेपछि ठप्प रहेको जलेश्वर नगरपालिकाले आजदेखि कार्यवाहक प्रमुख र उपप्रमुख पाएपछि काम धमाधम अगाडि बढेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत वैशाख २७ गते जलेश्वर नगरपालिकाका प्रमुख र उपप्रमुखसहित १२ जनामाथि विशेष अदालतमा भ्रष्टाचार कसुरमा मुद्दा दायर गरेपछि नगरपालिकाको कामकाज प्रभावित भएको थियो ।

जलेश्वर नगरपालिकाले बाँकी अन्य कार्यपालिका सदस्यमध्येबाट बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुखमा वडा नं ९ का वडाध्यक्ष रवीन्द्र यादव र उपप्रमुखमा वडा नं ३ का वडाध्यक्ष रतन चौधरीलाई चयन गरेपछि नगरपालिकाको सम्पूर्ण कामकाज अगाडि बढेको प्रमुख प्रशासकीय अधिकृत जयकुमार साहले बताउनुभयो ।

प्रमुख र उपप्रमुख र आवश्यक जनशक्तिको अभावमा आर्थिक वर्ष समाप्त हुन लाग्दा पनि विभिन्न काम रोकिएको अवस्था थियो । नगरपालिकाको कार्यपालिका सदस्यले बैठकले बहुमतीय प्रणालीका आधारमा कार्यवाहक प्रमुख र उपप्रमुख चयन गरेपछि अब सबै कामकाजले गति लिएको प्रमुख प्रशासकीय अधिकृत साहले थप्नुभयो ।

आर्थिक वर्ष २०७९/८० मा नगरपालिकाद्वारा वडा नं १ मा अवस्थित वरुण सरोवर पोखरीको दक्षिण र पश्चिम डिलमा रहेको हाट बजारमा पिसीसी ढलान कार्यमा भ्रष्टाचार भएको उजुरी निवेदन सम्बन्धमा अख्तियारले अनुसन्धान गरी अदालतमा मुद्दा दायर गरेको थियो । मुद्दा दायर भएपछि नगरपालिकाका प्रमुख सुरेश साह सोनार, उपप्रमुख रौशन खातुन, वडा नं १ का वडाध्यक्ष अनिलकुमार झा, कार्यपालिका सदस्य सोगरा खातुन, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाल, वरिष्ठ इञ्जिनियर पवनकुमार झा, अधिकृत छैटौँ धीरेन्द्र झा, इञ्जिनियर राकेशकुमार चौधरी, सवइञ्जिनियर दिपेशकुमार साह, त्यसैगरी उपभोक्ता समितिका अध्यक्ष राकेशकुमार साह, सचिव सिकेन्द्र चौधरी र कोषाध्यक्ष सन्तोषी देवी निलम्वन तथा कारबाहीमा परेका थिए ।

उनीहरुले हाटबजारमा भएको वास्तविक ढलान कार्यभन्दा बढी कार्य भएको भनी गलत विवरण तयार गरेको नापी किताब, कार्य सम्पन्न प्रतिवेदन, उपभोक्ताको बिल र अनुगमन प्रतिवेदन जाँच नै नगरी भुक्तानीका लागि पेस गरिएको टिप्पणी सदर गरी रु पाँच लाख ८४ हजार छ सय ३७ बढी भुक्तानी गरिएको भन्दै अख्तियारले उनीहरुविरुद्ध मुद्दा दायर गरिएको हो ।