९ मंसिर २०८१, आईतवार
,
Latest
जोस बटलर १५ करोड ७५ लाखमा गुजरातमा अनुबन्धित श्रेयस अय्यरलाई २६ करोड ७५ लाखमा पञ्जावले किन्यो, आईपीएल इतिहासकै महँगा खेलाडी चितवन राष्ट्रिय निकुञ्ज आउने पर्यटक घटे आईपीएल अक्सनः रबाडा १० करोड ७५ लाखमा गुजरातमा अनुबन्धित आईपीएल अक्सनः अर्शदीप सिंहलाई पञ्जाव किंग्सले १८ करोडमा किन्यो खैरो हिरोईन जस्तो देखिने पदार्थ सहित मानिस नियन्त्रणमा विद्यार्थीद्वारा व्यावसायिक च्याउखेती चिकित्सा शिक्षा आयोगको बैठक: पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन संसदमा पेश भएका विधेयकहरु ६० दिनभित्र पास गर्नेगरी काम गर्दैछौँः उद्योगमन्त्री भण्डारी बञ्चरेडाँडामा फाहोर व्यवस्थापन गर्न वैकल्पिक सडक बनाइने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भरतले पेरिस पारालिम्पिक खेल्ने



अ+ अ-

काठमाडौं । पारा तेक्वान्दो खेलाडी भरतसिंह महताले फ्रान्समा हुने पेरिस पारालिम्पिक– २०२४ मा खेल्ने भएका छन् । भरत वाइल्ड कार्ड कोटा मार्फत पेरिस पारालिम्पिकका लागि छनोट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ । विश्व तेक्वान्दोले मंगलबार पत्र पठाइ भरतको सहभागिता निश्चित भएको बताइएको छ ।

भरतले पेरिस पारालिम्पिकमा के– ४४ क्याटगोरीअन्तर्गत पुरुष ५८ केजीमुनि तौलसमूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छन् । पारा तेक्वान्दो प्रशिक्षक कविराज नेगी लामाका अनुसार यो तौलसमूहमा जम्मा १२ खेलाडी रहने छन् । छनोट हुने भरत अन्तिम खेलाडी हुन् । वरीयताका आधारमा ६ खेलाडी तथा बाँकी ५ खेलाडीले छनोट चरण पार गरी सहभागिता सुनिश्चित गरिसकेका थिए ।

दार्चुला अपिहिल गाउँपालिका वडा ८ का २७ वर्षीय भरत विगत १८ महिनादेखि राष्ट्रिय टिममा रहेर प्रशिक्षण गर्दै आइरहेका छन् । भरतसंग हालसम्म २ अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेको अनुभव छ । उनले चीनको ताइयानमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट तथा भियतनामको दनाङमा जेठ ६ गते भएको नवौं एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी सेमिफाइनल पुगेका भरत सेमिफाइनलमा मंगोलियाका खेलाडीसंग चुकेका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१ औं स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए । भियतनामा पनि भरतले एसियाली छनोटकै नतिजा आत्मासात् गरेका थिए । पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीलाई नतिजा सुम्पिएका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८ औं स्थानमा उक्लिएको प्रशिक्षक लामाले जनाएका छन् । अहिले पनि भरत ५८ औं स्थानमा कायम छन् ।

पेरिस पारालिम्पिकमा नेपालबाट तेक्वान्दोमा सहभागी हुने खेलाडीको संख्या २ पुगेको छ । पलेशा गोबर्धन यसअघि नै छनोट भइसकेकी छन् । पलेशा भने छनोट चरण पार गर्दै पेरिस पारालिम्पिकका लागि छनोट भएकी हुन् । चीनको ताइयानमै भएको एसियाली छनोटको के– ४४ क्याटगोरीअन्तर्गत महिला ५७ केजीमुनि स्वर्ण जित्दै पलेशाले पेरिस यात्रा पक्का गरेकी थिइन् । चौथो एसियाली पारा खेलकुदकी ऐतिहासिक कांस्य विजेता पलेशा छनोट चरण पार गरेर पारालिम्पिकमा खेल्ने पहिलो नेपाली खेलाडी हुन् ।