१९ माघ २०८१, शनिबार
,
Latest
प्रदेश सरकारले माग गरेका कानुन चाँडै बन्नेछन्ः सभामुख घिमिरे अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता: डडेल्धुराको विजयी सुरुआत बागमती शारीरिक सुगठनमा श्रेष्ठ निर्विरोध ‘राज्यबाट अभिव्यक्ति स्वतन्त्रता कुण्ठित हुने सम्भावना छैन’ सोलुखुम्बुमा आगलागी र हावाहुरीकले २९ संरचनामा क्षति निजगढ अन्तरराष्ट्रिय विमानस्थल तत्काल बनाउनुपर्नेमा जोड पाँडे, शाह र बाउसेलाई ‘वानीरा पुरस्कार’ मगर र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन सुझाव सङ्कलन महाकुम्भबाट फर्किरहेको गाडी दुर्घटना हुँदा ५ नेपालीको मृत्यु, ४ घाइते युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दाना–खुर्कोट प्रसारण लाइन निर्माण सकियो



अ+ अ-

म्याग्दी । म्याग्दीमा कालीगण्डकी करिडोरअन्तर्गत २२० केभी क्षमताको दाना–खुर्कोट सबस्टेशन र प्रसारण लाइन निर्माण सकिएको छ । म्याग्दीको दाना र पर्वतको खुर्कोटमा दुई सबस्टेशन तथा बीचमा ११० टावर बनाएर ३९.६ किलोमिटर तार तान्ने काम सकिएको छ । आयोजनाका सहायक प्रबन्धक लक्ष्मण फुँयालले दाना र खुर्कोटमा सबस्टेशनका साथै प्रसारण लाइनको पूर्वाधार निर्माण र उपकरण जडानको काम सकिएको बताउनुभयो ।

“टावर ठड्याउने, तार तान्ने र सबस्टेशनको उपकरण जडान सकेर आन्तरिक परीक्षण शुरु गरेका छौँ”, उहाँले भन्नुभयो, “सबस्टेशन चार्ज र परीक्षणको तयारीका लागि कार्यतालिका बनाउँदैछौँ ।” करिब १५ दिनभित्र सबस्टेशन र प्रसारण लाइन सञ्चालनमा ल्याउने तयारी छ । एशियाली विकास बैंकको सहयोगमा नेपाल विद्युत् प्राधिकरणले सन् २०१६ देखि शुरु गरेको यो आयोजना लक्ष्यभन्दा दुई वर्ष ढिला सकिएको हो । सन् २०१८ को नोभेम्बरमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

आयोजना निर्माणमा रु तीन अर्ब खर्च भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । सन् २०१६ मा रु दुई अर्ब ९० करोडमा टाटा प्रोजेक्ट्स र चिन्ट इलेक्ट्रिक जेभीसँग ठेक्का सम्झौता भएको थियो । कालीगण्डकी तथा सहायक नदी र मुस्ताङमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली केन्द्रीय ग्रिडमा जोड्न सबस्टेशन र प्रसारण लाइन निर्माण गरिएको आयोजना प्रमुख चन्दनकुमार घोषले बताउनुभयो ।

“यो सबस्टेशन र प्रसारण लाइन कालीगण्डकी करिडोरको विद्युत् विकासको आधार हो”, उहाँले भन्नुभयो, “सबस्टेशन र प्रसारण लाइन कुरेर बसेका धेरै जलविद्युत् आयोजना निर्माणले तीव्रता पाउनेछन् ।” जग्गा अधिग्रहण, मुआब्जा वितरण, वन क्षेत्रको जग्गा प्राप्ति, बाढी र पहिरोका कारण आयोजना निर्माण प्रभावित भएको हो । म्याग्दीका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले लामो समयको प्रयासपछि पोखरेबगरको विवाद समाधान गरेर आयोजना निर्माण गर्ने वातावरण बनाएको बताउनुभयो । पोखरेबगरका जग्गाधनीसँगको विवादले त्यहाँ छ टावर बनाउन दुई वर्षसम्म प्रयास गर्नुपरेको थियो ।

आयोजना निर्माणसँगै ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला, पाँच मेगावाटको घलेम्दीखोला र १३।६ मेगावाट क्षमताको थापाखोला जलविद्युत् आयोजनाको विद्युत् केन्द्रीय लाइनमा जोडिने अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले बताउनुभयो । थापाखोला र घलेम्दी यसअघि नै निर्माण सम्पन्न भए पनि प्रसारण लाइनको अभावमा पूर्ण क्षमतामा सञ्चालन हुनसकेका थिएनन् । निर्माणको अन्तिम चरणमा पुगेको मिस्ट्रिखोला जलविद्युत् आयोजनाले संरचनाको परीक्षण शुरु गरेको छ ।