२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
ग्लोबल आइएमई बैंकको अगुवाइमा १६६ मेगावाट सुपर तमोर जलविद्युत आयोजनाका लागि १९ अर्ब रुपैयाँ वित्तीय… सुनचाँदीको मूल्यमा सामान्य गिरावट, सुन तोलामा २०० र चाँदी ८५ रुपैयाँ घट्यो मुलुकमा प्रणालीगत सुधारका लागि समयसापेक्ष परिवर्तन र युवा नेतृत्वको आवश्यकतामा विज्ञहरूको जोड जातीय विभेद अन्त्यका लागि चेतना र समान व्यवहार आवश्यक छ : नेता आङदेम्बे रोल्पामा बोलेरो जिप दुर्घटना : ३ जनाको मृत्यु जातीय भेदभाव र छुवाछुत उन्मूलनका लागि संसद प्रतिवद्ध छः सभामुख अर्याल औषधि आपूर्ति सुधारमा मन्त्रालय–विभाग छलफल, विवरण उपलब्ध गराउन निर्देशन भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा सामाजिक चेतनाको अभावले जातीय भेदभाव विरुद्धका कानून कार्यान्वयनमा चुनौतीः महान्यायाधिवक्ता कँडेल नयाँ दिल्लीको एक होटलमा भीषण आगलागी, २१ जनाको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा भएका अवसरमा मिलेर लगानी गर्न गैरआवासीय नेपालीलाई अध्यक्ष ढकालको आह्वान



अ+ अ-

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीको प्रचुर सम्भावना रहेको बताउँदै लगानीका लागि अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरुलाई आह्वान गर्नुभएको छ।

नेपाल राष्ट्र बैंक, नेपाल उद्योग वाणिज्य महासङ्घ र गैरआवासीय नेपाली सङ्घ, अष्ट्रेलियाको संयुक्त आयोजनामा अष्ट्रेलियाको सिड्नीमा भएको एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ढकालले नेपालमा लगानीका असमित सम्भावना रहेको र लगानीको वातावरण पनि बन्दै गएकोले नेपालमा लगानी गर्न गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभएको छ।

गत महिना आयोजना भएको लगानी सम्मेलन २०२४ लाई लक्षित गरी नेपाल सरकारले आधा दर्जनभन्दा बढी कानुनहरू संशोधन गर्दै प्रत्यक्ष वैदेशिक लगानी तथा आन्तरिक लगानी वृद्धिका लागि वातावरण सिर्जना गर्न पहल गरेको छ। नेपालमा जलविद्युत, पर्यटन, सूचना प्रविधि, खानी तथा कृषि जन्य उद्योगहरूको प्रचुर सम्भावना रहेको छ। यी सबै सम्भावनालाई अवसरको रूपमा लिँदै नेपालमा लगानी गर्नुस् र यथोचित मुनाफा आर्जन गर्नुस्, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले नेपाल सरकारले हालै आगामी आर्थिक वर्षको लागि ल्याएको बजेट वक्तव्यमा १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र नेपालमा विभिन्न सम्भावित आयोजनाहरूमा लगानी गर्ने विषय समावेश गरेको उल्लेख गर्दै यसलाई अवसरको रुपमा लिन र नेपालमा लगानी गर्न अष्ट्रेलियामा रहेका गैरआवासीय नेपालीहरूलाई आग्रह गर्नुभयो।

नेपाल उद्योग वाणिज्य महासङ्घको नेतृत्वमा हामीले १० अर्ब रुपैयाँ पुँजीको लगानी कम्पनी स्थापना गर्ने र मुलुकका सातवटै प्रदेशमा रहेका स्थानीय सम्भावित आयोजनाहरूमा लगानी गर्ने निर्णय गरेका थियौं । त्यस कुरालाई नेपाल सरकारले आगामी वर्षको बजेटमा सम्बोधन समेत गरेको छ। यसलाई हामी सबै नेपालीहरूले एक अवसरको रूपमा लिएर नेपालमा लगानी गर्ने, रोजगारी सिर्जना गर्ने र मुलुकको आर्थिक विकास र समृद्धिमा हातेमालो गर्ने अवसरका रूपमा लिनुपर्छ, उहाँले भन्नुभयो ।

अध्यक्ष ढकालले नेपाल उद्योग वाणिज्य महासंघमा वैदेशिक लगानी प्रवर्तनका लागि छुट्टै एफडीआइ डेक्स स्थापना गरेको बताउँदै मुलुकमा स्वदेशी तथा विदेशी दुवै लगानी भित्र्याउन आवश्यक सहयोग तथा सहजीकरण गर्न सदैव तयार रहेको बताउनुभयो ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बोमबहादुर मिश्रले कुनै पनि विदेशी व्यक्ति तथा गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्दा त्यहाँ गरेको मुनाफा मुलुक बाहिर लैजान कुनै समस्या नरहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंकले यसमा सहजीकरण गर्ने समेत बताउनुभएको छ।
उहाँले नेपाली बैंकहरू ठूलाठूला लगानीका लागि समेत सक्षम बन्दै गएको बताउनुभयो।

उहाँले गैर आवासीय नेपालीहरूले नेपालमा लगानी गर्न चाहेमा थप पुँजी जुटाउन ऋण लगानीका लागि समेत नेपाली बैंकहरू तयार रहेको उल्लेख गर्नुभयो।

नेपाल राष्ट्र बैंक नेपालमा लगानी बढाउन हरतवरले सहयोग गर्न तत्पर रहेको उल्लेख गर्दै उहाँले यसमा नेपाल राष्ट्र बैंकले सहजीकरण गर्ने बताउनुभयो ।

ग्लोबल आइएमई बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले नेपालमा लगानीका अवसर र सम्भावनाहरू निकै धेरै रहेको बताउँदै ती अवसरहरूलाई रियालिटीमा बदल्न सम्भावित आयोजनाहरू लिएर आएमा आवश्यक पर्ने पुँजी जुटाउन बैंकहरूले ऋण प्रदान गर्न सक्ने बताउनुभयो।

नेपालको बैंकिङ क्षेत्रमा लगानी योग्य पुँजी ठूलो मात्रामा रहेको बताउँदै उहाँले गैरआवासीय नेपालीहरूले नेपालको कुनै सम्भाव्य आयोजनामा लगानी गर्न इच्छुक रहेमा बैंकले सहयोग गर्ने बताउनुभयो ।

उहाँले ग्लोबल आइएमई बैंकले गैर आवासीय नेपालीहरूलाई बैंकिङ प्रणाली मार्फत नेपालमा पैसा पठाउन वा अध्ययन, भ्रमण तथा अन्य प्रयोजनको लागि अष्ट्रेलिया आउने नेपालीहरूलाई विभिन्न बैंकिङ सेवाहरू उपलब्ध गराउने बताउनुभयो।

गैरआवासीय नेपाली सङ्घ अष्ट्रेलियाका अध्यक्ष अनिल पोखरेलले नेपालमा उपयुक्त वातावरण बनेमा गैर आवासीय नेपालीहरू नेपालमा लगानीका अवसरहरु खोजिरहेको बताउनुभयो ।

उहाँले नेपालमा लगानीका लागि उपयुक्त वातावरण बनेमा धेरै नेपालीहरू लगानीका लागि इच्छुक रहने समेत उल्लेख गर्नुभयो।

अष्ट्रेलियामा रहेका हामी नेपालीहरू आफ्नो मातृभूमि नेपालमा लगानी गर्न हरेक हिसाबले इच्छुक रहन्छौ । कुनै न कुनै हिसाबले हामी नेपालको विकास र समृद्धिमा हातेमालो गर्न चाहन्छौं । त्यसका लागि उपयुक्त वातावरण बन्नुपर्छ उहाँले भन्नुभयो।