१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित

खडेरीले बारीमै कोदो सुकेपछि किसान चिन्तित
अ अ+ अ-

पर्वत । केही दिनयताको अत्यधिक गर्मी र खडेरीका कारण पर्वतका कृषकले रोपेको कोदो बारीमै सुक्न थालेको छ ।  जिल्लाका अधिकांश भागमा जेठ दोस्रो सातादेखि कोदो रोपाइँ सुरु भएको थियो । लामो समयसम्म नपरेको वर्षा र अत्यधिक गर्मीका कारण रोपेको कोदो सुकेर नष्ट भएको कृषकले गुनासो गरेका छन् । पर्वतमा धानबाली पछि कोदो दोस्रो मुख्य बाली हो ।

बारीमा लगाएको मकै गोडमेल गरेर कोदो रोपेका कृषक वर्षा नभएपछि चिन्तित हुन थालेका छन् । जनशक्तिको अभावमा बल्लतल्ल रोपेको कोदो खडेरीले नष्ट गरिदिएको कुश्मा नगरपालिका–१२ की कृषक राधाकुमारी सापकोटाले बताउनुभयो । “दुई दिन लगाएर कोदो रोपियो, यही बेला पानी परेन, पूरै सुकेर नष्ट भइसक्यो ।”

एकपटक रोपेको ठाउँमा फेरि वर्षा भएपछि पुन: रोप्नुपर्ने अवस्था आएको कृषकले गुनासो गरेका छन् । पर्वतका ६१ वटै वडामा कोदोखेती हुँदै आएको छ । पछिल्लो केही वर्षयता कोदोको माग गाउँ, सहर र विदेशमा समेत निर्यात हुने क्रम बढेपछि पर्वतमा कोदो खेतीतर्फ आकर्षण बढ्दै गएको छ । कोदो रोपेर धान रोप्ने तयारी गरेका कृषक बारीमै कोदो सुकेर नष्ट भएपछि समस्यामा परेको फलेवास नगरपालिका–५ का कृषक धर्मराज पौडेलले बताउनुभयो ।

धानखेती हुने ठाउँमा सिँचाइको सुविधा हुने भए पनि पर्वतका अधिकांश क्षेत्रको बारीमा भने वर्षाकै भरमा खेती गरिँदै आएको छ । खडेरीसँगै अत्यधिक गर्मीले जनजीवनसमेत प्रभावित बनेको छ । पर्वतमा यस वर्ष सबैभन्दा धेरै ३५ डिग्री सेल्सियससम्म तापक्रम पुगेको छ ।

कृषि ज्ञान केन्द्र पर्वतका बागवानी विकास अधिकृत शङ्कर पौडेलले जिल्लाका अधिकांश ठाउँमा कोदो रोपाइँ भइरहेको बताउनुभयो । खडेरीका कारण रोपेको कोदो सुक्दै गएको गुनासो आएको भन्दै पौडेलले क्षतिको यकिन विवरण भने आइनसकेको बताउनुभयो । पालिकामार्फत खडेरीले कोदोखेतीमा पुर्‍याएको क्षतिको तथ्याङ्क सङ्कलनको काम भइरहेको पौडेलको भनाइ छ । कार्यालयले गत वर्षदेखि कोदोबाली प्रवद्र्धन कार्यक्रमअन्तर्गत कृषकलाई विभिन्न सहयोगसमेत गर्दै आएको छ ।

कृषि ज्ञान केन्द्र पर्वतले रैथाने बाली उत्पादन प्रवद्र्धन कार्यक्रमअन्तर्गत कोदो उत्पादन गर्ने कृषकलाई अनुदान दिन थालेको छ । चालु आर्थिक वर्षमा थप साढे २८ हेक्टर क्षेत्रफलमा कोदो खेती विस्तारका लागि केन्द्रले सहयोग गरेको हो । कोदो खेती गर्ने कृषकलाई यान्त्रिकीकरणमा सहयोग गरिएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख पर्शुराम अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार चालु आवमा रु पाँच लाख कोदो बालीको प्रवद्र्धनका लागि कृषकलाई वितरण गरिएको छ ।

कृषकलाई यान्त्रिक हलो र थ्रेसर मेसिन उपलब्ध गराइएको छ । यसले बाँझो बारी खनजोत गर्न र उत्पादन भइसकेपछि कोदो झार्न सहज हुने भएको छ । कृषकलाई कार्यबोझ घट्नुका साथै उत्पादन लागतसमेत कम होस् भन्ने उद्देश्यले यान्त्रिकीकरणमा सहयोग गरिएको कार्यालयले जनाएको छ ।

पर्वतमा झापे, डल्ले, मङ्सिरे र स्थानीय जातको कोदो उत्पादन हुँदै आएको छ । जिल्लाको आठ हजार तीन सय ४० हेक्टर क्षेत्रफलमा कोदोको उत्पादन हुने अधिकारीले बताउनुभयो । यस वर्ष पर्वतमा आठ हजार तीन सय १० मेट्रिक टन कोदो उत्पादन भएको थियो । जसमध्ये पाँच हजार एक सय ७५ मेट्रिक टन कोदो निर्यात भएको कार्यालयले जनाएको छ ।

कोदो बाली लगाउने बेला वर्षा नहुँदा आगामी वर्ष उत्पादनमा केही गिरावट आउन सक्ने कार्यालयले जनाएको छ । कोदोको बीउ निर्धारित समयमै रोप्न सकिएन भने उत्पादन कम दिने कार्यालयको भनाइ छ । रासस