१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar गोकर्णेश्वर–४ का महाधिवेशन प्रतिनिधि उम्मेदवार श्रेष्ठद्वारा कांग्रेसको निर्वाचन प्रक्रिया छानबिन गर्न माग News Polar पोर्चुगलमा एनआरएनए राष्ट्रिय समन्वय परिषद्को कार्यालय सञ्चालनमा आउने News Polar कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशनः तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न News Polar बाँध भत्किएपछि जलेश्वर जलमग्न News Polar भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको कार्यविधि पारित News Polar कोरला सडक अवरुद्ध हुँदा भन्सारमा १५० बढी कन्टेनर रोकिए News Polar ३५ वर्षीया युवा महिला नेतृ बसन्ती भाट कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्विरोध News Polar नेपाल टेलिकमले ल्यायो भर्चुअल सेट–टप बक्स News Polar नापी कार्यालय कलङ्कीका सर्भेक्षक श्रेष्ठविरुद्ध चार करोड ७४ लाखको बिगोसहित आरोपपत्र News Polar क्यान-११ सँग भुटानको राष्ट्रिय क्रिकेट टोली पराजित News Polar सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति News Polar करेन्ट लागेर गम्भीर घाइते भएका तामाङलाई १७ लाख ७८ हजार क्षतिपूर्ति News Polar दुग्ध विकास संस्थानले किसान भुक्तानी अवधि एक महिनामा झार्‍यो News Polar फिर्के खोलाको खोलाघरभित्रका संरचना हटाउन थालियो News Polar काङ्ग्रेस महाधिवेशनमा ‘कन्टेन्ट कम्पिटिसन’, उत्कृष्ट भिडियोलाई ५० हजार पुरस्कार News Polar स्वास्थ्य कार्यक्रमको वार्षिक समीक्षामा सखुवा प्रसौनी जिल्लामै प्रथम News Polar हिम्लुङ हिमपहिरोमा थप आठ जनाको शव भेटियो News Polar सवारी साधन दर्ता प्रक्रियाका समस्या समाधान गर्न काठमाडौं प्रशासन र नाडाबीच छलफल News Polar परराष्ट्रमन्त्री खनाल ‘प्रि–कोप लिडर्स इभेन्ट’मा भाग लिन फिजी र टुभालु जाँदै News Polar वन व्यवस्थापनबाट तनहुँमा तीन हजार ३३४ क्युफिट काठ उत्पादन

यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ

यता हेर्‍यो सिक्लेस, उता हेर्‍यो ताङतिङ
अ अ+ अ-

गण्डकी । हिउँचुलीको काखमा झुरुप्प परेका बस्ती । वरिपरि हरिया वनपाखा र खर्क । सिरसिरे लेकाली हावा । उस्तै चराको चिरबिर । तलपट्टि सुसाइरहेको मादी खोला । यस्तो लाग्छ सिक्लेस र ताङतिङको भूगोल आफैमा चित्रमय छ । हरेक ऋतुकालमा भिन्न विशेषतामा खुल्ने यी गुरुङ बाहुल्य गाउँ प्रकृति र संस्कृतिका सङ्गम हुन् । ग्रामीण पर्यटनका अनुपम धरोहर हुन् ।

अन्नपूर्ण हिमालको फेदबाट बहने कास्कीको मादी खोलाले सिक्लेस र ताङतिङलाई दुईतिर छुट्याएको छ । मादी गाउँपालिका–१ मा सिक्लेस र २ मा ताङतिङ पर्छ । पर्यटकीय राजधानी पोखरादेखि नजिकको दुरीमा रहेका दुवै गाउँ घुमफिरका लागि चल्तीका गन्तव्य हुन् । सहरको कोलाहलबाट उम्केर केही घण्टामै पुग्न सकिन्छ, सिक्लेस र ताङतिङ । जहाँ न्यानो र आत्मिय आतिथ्यता प्राप्त हुन्छ ।

मनोरम प्रकृतिसँगै गाउँले परिवेश, रहनसहन, रैथाने खाना र आतिथ्य संस्कारले त्यहाँ पुग्ने पर्यटकलाई सजिलै लोभ्याउँछ । एकै बान्कीका घर, ढुङ्गा र जस्ताका छाना । ढुङ्गाकै आँगन र बाटो । पुरानो वास्तु झल्काउने झ्यालढोका । स–साना गल्ली, गल्छेँडा र तगारा ती गाउँका सौन्दर्य हुन् । व्यस्त दैनिकी छलेर त्यहाँ पुग्ने जो कोहीले तनाव भुल्छन् । प्रकृति र संस्कृतिमा नजर अड्याउँछन् अनि मन शान्त पार्छन् ।

पोखरादेखि ४१ किमि दुरीमा सिक्लेस र २७ किमि टाढा ताङतिङ गाउँ अवस्थित छ । सिक्लेसबाट ताङतिङ पूर्व र ताङतिङबाट सिक्लेस पश्चिमपट्टि पर्छ । बिहान र दिउँसोमा चिटिक्क देखिने यी गाउँलाई रातमा भने बिजुलीले झलमल्ल पारेको हुन्छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मा पर्ने यी गाउँ पदयात्राका लागि बढी लोकप्रिय छन् ।

सिक्लेसका पर्यटन व्यवसायी धन गुरुङले सिक्लेस–कपुचे–कोरी पदमार्ग सञ्चालनमा आएपछि पर्यटकको आउजाउ झनै बढ्न थालेको बताउनुभयो । “बर्खा लागेपछि अन्यत्र ‘अफसिजन’ सुरु हुन्छ, कोरीमा भने यही बेला बढी पर्यटक बढ्छन्”, उहाँले भन्नुभयो, “कोरी र आसपासको क्षेत्र अहिले भुइँफूलले ढाकिएको छ, मनसुन ट्रेकमा रमाउनेका लागि कोरी उपयुक्त हो ।”

पदयात्री सिक्लेसबाट अन्नपूर्ण हिमालको काखमा रहेको कपुचे हिमताल हुँदै तीन हजार आठ सय मिटरको कोरी लेक पुग्ने गरेको गुरुङले बताउनुभयो । सिक्लेसबाट तस हुँदै कोरी र कपुचे हिमताल हुँदै कोरी जाने दुईटा पदमार्ग छन् । कोरी ट्रेक तीन दिनमा घुम्न सकिन्छ । पर्यटकीय गतिविधि बढेपछि कोरीमा होटल खुलेका छन् । पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने सञ्चार सामग्री, युट्युबलगायतका सञ्चारमाध्यम त्यस क्षेत्रलाई उजागर गरिदिएपछि पर्यटकको थप आकर्षण बढेको पर्यटन व्यवसायी गुरुङले बताउनुभयो ।

मादी–१ का वडाध्यक्ष देवीजङ्ग गुरुङले दुई दशकअघि सिक्लेसमा पर्यटन व्यवसायको जग बसेको बताउनुभयो । “पहिले सामुदायिक हिसाबले होमस्टे थिए, पर्यटकको सङ्ख्या पनि न्यून हुन्थ्यो”, उहाँले भन्नुभयो, “पछिल्लो समय सिजनमा त गाउँ नै पर्यटकले भरिभराउ हुन्छ, यहाँ आन्तरिक पर्यटक नै बढी आउँछन् ।” सिक्लेसमा महिनामा ५०र६० जनासम्म विदेशी पर्यटक आएको तथ्याङ्क अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०सँग छ ।

वडाध्यक्ष गुरुङका अनुसार सिक्लेस, कोरीलगायतका क्षेत्रमा दर्जनौँ होमस्टे र होटल सञ्चालनमा छन् । होटल व्यवसायमा लगानी थपिने क्रम बढ्दो छ । सिक्लेस–ताराहिल–घलेखर्क नयाँ इको ट्रेक सञ्चालनका लागि पूर्वाधार तयारीको काम भइरहेको छ । सिक्लेस–खिलाङ–चिप्लीसम्म पनि पदमार्ग निर्माण भइरहेको वडाध्यक्ष गुरुङले जानकारी दिनुभयो । “पहिले गोठालाहरु लेक र खर्क जाँदा हिँड्ने गरेको बाटोलाई नै पदमार्गका रुपमा विकास गर्न लागेका छौँ”, वडाध्यक्ष गुरुङले भन्नुभयो, “पर्यटकीय पूर्वाधार निर्माणमा प्रदेश सरकार र गाउँपालिकाको सहयोग छ ।”

सिक्लेसलाई नेपालको शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमासमेत लिने गरिएको उहाँले सुनाउनुभयो । विसं २०६३ असार २ गते तत्कालीन नेपाल कम्युनिष्ट पार्टी माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूमिगत राजनीतिपछि पहिलोपटक सिक्लेसमा सार्वजनिक हुनुभएको थियो । त्यसको केही महिनापछि विस्तृत शान्ति सम्झौता भएको थियो । जनयुद्धको बैठानसँगै शान्ति प्रकृयाको प्रस्थानबिन्दुका रुपमा लिइने सिक्लेसमा शान्ति स्मारक पनि बनेको छ ।

सिक्लेस पुग्ने पर्यटक गुरुङ सङ्ग्रहालय, शान्ति स्मारक, सिक्लेस पार्क, हिमालको दृश्यावलोकन, गुरुङ जातिको मन्दिर, मौलिक संस्कृति, वेषभूषा, झाँकी, नाचगीत आदिमा रमाउँछन् । पदयात्रा रुचाउने पर्यटकले छोटो र लामो दुरीको पदयात्रा तय गर्छन् । पोखरादेखि दुई/अढाई घण्टाको मोटरयात्रामा सिक्लेस पुगिन्छ । पोखरा–सिक्लेस सडक स्तरोन्नति भइरहकाले यातायात सेवा पनि सहज बनेको छ ।

सिक्लेस र ताङतिङको पैदल दुरी तीन घण्टा जतिको छ । दुई हजार मिटर उचाईमा सिक्लेस र १७ सय मिटरमा ताङतिङ अवस्थित छ । दुवै गाउँका घरका बनोट र बान्की उस्तैउस्तै छन् । सिक्लेसमा चार सयभन्दा बढी छन् भने ताङतिङमा त्यसको झण्डै आधा । दुवै गाउँमा ९५ प्रतिशत गुरुङको बसोबास छ । ताङतिङ सामुदायिक घरबास सञ्चालक समितिका अध्यक्ष तिलशोभा गुरुङले गाउँमा १५ होमस्टे र छ होटल सञ्चालनमा रहेको जानकारी दिनुभयो । होमस्टेमा आन्तरिक पर्यटकका लागि रु एक हजार दुई सयको दैनिक प्याकेज छ । जसमा एक छाक खानामासु, एक छाक सादा खाना, बिहान/बेलुकाको खाजा र एक रात सुत्न पाइन्छ ।

“खानामा घरगाउँको आटोढिँडो, गुन्द्रुक, मकै, भट्ट, आलु, लोकल कुखुराको मासु हुन्छ, अहिले निउरोको सिजन छ, हाम्रो भान्छामा निउरो टुट्दैन”, होमस्टेका अध्यक्ष गुरुङले भन्नुभयो, “सिजनअनुसार गाउँमै उत्पादनका परिकार पाहुनालाई खुवाउँछौँ, पाहुनाको रुची अनुसार अरु परिकार पनि पकाउँछौँ ।” पेय पदार्थमा पनि घरेलु उत्पादनलाई नै पाहुनाले बढी रुचाउने गरेका छन् । पर्यटकको मनोरञ्जनका लागि सती घाटुलगायत मौलिक नाच र गीतसङ्गीत प्रस्तुत गर्ने गरिएको उहाँको भनाइ छ ।

मादी–२ का वडाध्यक्ष भोजबहादुर गुरुङले कर्पुडाँडा, कालीलेख, दूधपोखरी, कपुचे, कोरीलगायत त्यहाँका पर्यटकीय महत्वका बोकेका ठाउँ हुन् । गुरुङ जातिको उद्गमस्थल मानिने क्होलासोँथार पनि सोही वडाको साँधमा पर्छ । ताङतिङबाट धेरैतिर पदयात्रा गर्न सकिने उहाँले बताउनुभयो ।

“कास्की, लमजुङ र मनाङको सीमामा पर्ने दूधपोखरी यहाँको महत्वपूर्ण गन्तव्यस्थल हो, जनैपूर्णिमा त्यहाँ ठूलो मेला लाग्छ”, वडाध्यक्ष भोजबहादुरले भन्नुभयो, “ताङतिङ भएर कपुचे, कोरीलगायत ठाउँको पदयात्रा पनि गर्न सकिन्छ ।”

ताङतिङको पर्यटनलाई उकास्न योजनाबद्ध विकासको खाका कोर्ने काम भइरहेको उहाँले बताउनुभयो । “मादी गाउँपालिकामा पर्ने सबै पर्यटकीय गन्तव्यस्थलाई समेटेर बृहत् पर्यटन गुरुयोजना बनाउन आवश्यक छ”, उहाँले भन्नुभयो, “पर्यटकीय पूर्वाधार र प्रवद्र्धनमा ध्यान दिन सकियो भने यस क्षेत्रले पर्यटन व्यवसायबाट ठूलो लाभ उठाउन सक्छ ।”

पुस्तौँदेखि कृषि र पुशपालनमा रमाएका ताङतिङबासीको पेसामा अहिले पर्यटन व्यवसाय पनि जोडिएको छ । ताङतिङबाट लमजुङको भुजुङ, घलेगाउँदेखि मनाङसम्म पदयात्रा गर्न सकिने वडाध्यक्ष भोजबहादुरले बताउनुभयो ।

हिउँदमा दन्तेलहर झैँ देखिने हिमशृङ्खला र वर्षात्मा झरी र बादलको लुकामारीले सिक्लेस र ताङतिङको सौन्दर्य उसैगरी खुल्छ । अन्नपूर्ण दोस्रो र लमजुङ हिमालले यी गाउँको शोभा बढाएका छन् । लेक र खर्कतिर रहेका स–साना तलाउ, कुण्ड र झरानाले पनि पर्यटकलाई तान्ने गरेका छन् । निगालोबाट बन्ने डोको, सेखु, मान्द्रा, चित्रा जस्ता घरेलु उत्पादनका सामग्री त्यहाँ बन्छन् । महिलाहरुले पिँढीमा तान लगाएर अल्लो र ढाकाका कपडा बुनेको दृश्य लोभलाग्दो देखिन्छ ।

विशेष गरी चाडबाडको याम र सार्वजनिक बिदाका दिनमा ती गाउँमा पर्यटकको चहलपहल अघिपछिको दाँजोमा बढी हुन्छ । जागिरे, व्यवसायीलगायत सप्ताहन्त मनाउन त्यहाँ पुग्छन् । विद्यालय र विभिन्न संघसंस्थाले अवलोकन भ्रमणका लागि पनि सिक्लेस र ताङतिङ लैजाने गरेका छन् । “गाउँले जनजीवन, संस्कृति, रहनसहन र पदयात्राको आनन्द बटुल्न पर्यटक यहाँ आउँछन्”, वडाध्यक्ष गुरुङले भन्नुभयो ।रासस