• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   बागमती र सुदूरपश्चिम प्रदेशमा आज भारी वर्षाको सम्भावना ★   सम्पदा संरक्षण, महिला सशक्तीकरणको क्षेत्रमा स्व.अम्बिका श्रेष्ठको योगदान अतुलनिय: पूर्वराष्ट्रपति भण्डारी ★   १८ वर्षदेखि विचाराधीन संक्रमणकालीन न्यायमा कसरी जुट्यो सहमति ? ★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री

प्रधानमन्त्री दाहालसँग भारतीय व्यावसायीको भेट



काठमाडौँ । छिमेकी मित्रराष्ट्र भारतको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग त्यहाँको ‘फेडेरेसन अफ इन्डिया च्याम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री’ (फिक्की) को प्रतिनिधिमण्डलले भेटवार्ता गरेको छ ।

प्रधानमन्त्री दाहाल बस्नुभएको होटल ताजमा आज भएको उक्त भेटमा नेपालमा लगानीको सम्भावना एवं लगानीका क्षेत्रका विषयमा प्रधानमन्त्री दाहाल र फिक्कीका पदाधिकारीले छलफल गर्नुभएको हो । सो अवसरमा प्रधानमन्त्री दाहालले नेपाल भारतीय लगानीकर्ताका लागि उपयुक्त देश भएको उल्लेख गर्दै पर्यटन, ऊर्जा, कृषिलगायतका क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभयो । उहाँले काठमाडौँमा सम्पन्न तेस्रो लगानी सम्मेलनका क्रममा नेपालले कानुनी संरचनालाई व्यापक सुधार गरेर लगानीका लागि उपयुक्त वातावरण सिर्जना गरेको बताउनुभयो ।

“लगानी सम्मेलनका क्रममा हामीले विभिन्न कानुन अध्यादेशबाट संशोधन गरेका छौँ, त्यसले लगानीका क्षेत्रमा संरचनागत एवं संस्थागत सुधार भएको छ,” प्रधानमन्त्री दाहालले भन्नुभयो, “लगानीका लागि उपयुक्त वातावरण सिर्जना भएको छ, ढुक्क भएर लगानी गर्न आग्रह गर्दछु ।” उपभोक्ता दृष्टिकोणले पनि नेपाल लगानीका लागि उपयुक्त थलो भएको उहाँको भनाइ छ ।

भारत सरकारसँग दश वर्षमा १० हजार मेगावाट विद्युत् बिक्री गर्ने दीर्घकालीन सम्झौता भइसकेको अवस्थामा नेपालको ऊर्जा क्षेत्रमा लगानी गर्न उपयुक्त हुने सुझाव दिँदै प्रधानमन्त्री दाहालले ठूला जलविद्युत् आयोजना लगानीका लागि तयारी अवस्थामा रहेको जानकारी दिनुभयो ।

सो अवसरमा फिक्कीका अध्यक्ष डा अनिस शाहले नेपालको ऊर्जा, पर्यटन र सौर्य ऊर्जाका क्षेत्रमा आफू र आफ्ना सदस्यहरू लगानी गर्न इच्छुक रहेको बताउनुभयो । प्रधानमन्त्री दाहालले लगानीका लागि लिनुभएको तदारुकतालाई आफूहरूले नजिकबाट अध्ययन गरिरहेको उल्लेख गर्दै अध्यक्ष शाहले नेपालमा लगानीका लागि उत्साहित रहेको बताउनुभयो ।