२२ भाद्र २०८३, सोमबार
,
Latest
दमौली-केशवटार-बुद्धसिंह सडक स्तरोन्नति गरिँदै सिर्सिया नदीलाई पुनःजीवन दिन सबै लागौँः मन्त्री गौरी कुमारी इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन बाढीपीडितका लागि काँग्रेसको एक करोड सहयोग, महाधिवेशनको आन्तरिक विवाद समाधान पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन काँग्रेसको १५ महाधिवेशनमा सहभागि हुन क्रियाशील अद्यावधिक नगरेका सदस्यका हकमा तीन शर्त लागू हुने बाढी प्रभावित क्षेत्रका विद्यार्थीका लागि सरकारले ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ ल्याउने रसुवा बाढीबाट २३३ यातायात मजदुर बेपत्ता, ९ सय सवारी साधन क्षतिग्रस्त भएको महासंघको दाबी नेपाल भलिबल लिगः अन्नपूर्णको लगातार दोस्रो जित भोटेकोशी बाढीमा परी निधन भएकाहरूको सम्झनामा दीप प्रज्वलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

भगवानपुर गाउँपालिकाको प्रशासकीय भवन निर्माण अलपत्र



अ+ अ-

गोलबजार । सिरहाको भगवानपुर गाउँपालिकाको आधुनिक सेवासुविधा सहितको प्रशासकीय भवनको निर्माणको काम अलपत्र परेको छ ।

निर्माणको काम ठेक्का लिएको ठेकेदार कम्पनीले विसं २०८० असारमा काम छोडेर हिँडेपछि नगरपालिकाको भवन निर्माणको काम अलपत्र परेको हो । वडा नं १ स्थित रु ११ करोड ५८ लाख आठ सय १२ भ्याटसहितको लागतमा विसं २०७८ असार २० गते भएको सम्झौतामा ३६ महिनाभित्र काम सम्पन्न गर्नेगरी रौता अनसुमन जेभी काठमाडौँले ठेक्का पाएको थियो ।

भवन निर्माण गर्न दुई महिना मात्र समय बाँकी रहे पनि ठेकेदार निर्माणको काम अगाडि नबढाएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत चन्द्रनारायण चौधरीले बताउनुभयो ।

सो भवन ‘अण्डर ग्राउन्ड’ सहित पाँचतले निर्माण हुने पूर्ण अपाङ्गतामैत्री, पर्याप्त शौचालय सुविधाको एकीकृतरुपमा सेवा दिने आधुनिक प्रशासकीय भवन हुने गाउँपालिकाले जनाएको छ । भवनमा सेवाग्राहीका लागि डिपिआरमा लिफ्टको उल्लेख रहे पनि सोका लागि रकम गाउँपालिकाले छुट्याएको छैन ।

भवन निर्माणको काम अलपत्र छाडेको ठेकेदार कम्पनीले पेश्की रकमसहित रु तीन करोड पाँच लाख २० हजार बुझेको गाउँपालिकाका इञ्जिनियर प्रविन भक्तले जानकारी दिनुभयो । भवन निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि निर्माणको काम अगाडि बढाउन कुनै चासो नदेखाएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार प्रशासनिक भवनको ३५ प्रतिशत भौतिक प्रगति रहेको छ । गाउँपालिकाका अध्यक्ष उग्रनारायण यादवले ठेकदारलाई काम अगाडि बढाउन बाँकी रकम भुक्तानी गर्ने बताउनुभयो ।

गाउँपालिकाको आफ्नै भवन नभए पनि साविक भगवानपुर गाविस भवनबाट गाउँपालिकाको काम सञ्चालन गरिँदै आएको छ । केही शाखा र वडा भवन अभावमा निजी घरमा भाडामा लिएर सञ्चालन भइरहेको र वार्षिक रु २६ लाख घर भाडामा रकम खर्च भइरहेको गाउँपालिकाले जनाएको छ ।