२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टी–२० विश्वकपमा आज महाभिडन्त: भारतलाई हराउने दाउमा पाकिस्तान



अ+ अ-

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा आज चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तानबिच भिडन्त हुँदैछ । अमेरिकाको न्यु योर्कस्थित नासाउ काउन्टी अन्तर्राष्ट्रिय स्टेडियममा हुनलागेको खेल नेपाली समय अनुसार राति ८:१५ बजे सुरु हुनेछ ।

भारत र पाकिस्तान प्रतियोगिताको समूह ‘ए’ मा छन् । त्यो समूहमा आयोजक अमेरिका, क्यानडा र आयरल्यान्ड पनि रहेका छन् । जारी विश्वकपमा भारत र पाकिस्तान दुवैले आफ्नो दोस्रो खेल खेल्न लागेका हुन् । आफ्नो पहिलो खेलमा भारत विजयी भएको छ भने पाकिस्तानले हार बेहोरेको छ ।

समूह ‘ए’ मा दुई खेल खेलेको अमेरिका चार अङ्कसहित पहिलो स्थानमा छ । एक खेल खेलेको भारत दुई अङ्कसहित दोस्रो र दुई खेल खेलेको क्यानडा दुई अङ्कसहित तेस्रो स्थानमा छन् । चौथो र पाँचौँ स्थानमा रहेको पाकिस्तान र आयरल्यान्डले खाता खोल्न सकेका छैनन् । सुपर-८ मा पुग्ने सम्भावना कायमै राख्न पाकिस्तानलाई यो खेल जित्नै पर्ने दबाब छ ।

पाकिस्तान र भारत दुवै राष्ट्रले सन् २००७ मा सम्पन्न पहिलो संस्करणदेखि नै टी–२० विश्वकपमा सहभागिता जनाउँदै आएका छन् । यी दुवै राष्ट्रको टी–२० विश्वकपमा यो नवौँ सहभागिता हो । भारत र पाकिस्तानले हालसम्म एक–एक पटक टी–२० विश्वकपको उपाधि जितेका छन् । भारतले सन् २००७ र पाकिस्तानले २००९ मा सम्पन्न टी–२० विश्वकपको उपाधि चुमेको थियो ।

पाकिस्तानले हालसम्म टी–२० विश्वकपमा कुल ४८ खेल खेलिसकेको छ । त्यसमध्ये पाकिस्तान २८ खेलमा विजयी भएको छ भने १८ खेलमा पराजित भएको छ । पाकिस्तानी टोलीको दुई खेल भने बराबरीमा सकिएको छ ।

यसैगरी, भारतले हालसम्म टी–२० विश्वकपमा कुल ४५ खेल खेलेको छ । त्यसमध्ये भारत २८ खेल जितेको छ भने १५ खेलमा हार बेहोरेको छ। भारतको एक खेल बराबरीमा र एक खेल अनिर्णीत रूपमा सकिएको छ ।

भारत र पाकिस्तानले हालसम्म टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुल १२ खेल खेलेका छन। जसमा भारतले नौ खेल जितेको छ भने पाकिस्तानले तीन खेल मात्र जितेको छ ।

भारतको सम्भावित प्लेईङ ११ :

रोहित शर्मा (कप्तान), विराट कोहली, ऋषभ पन्त (विकेटकिपर), सूर्यकुमार यादव, हार्दिक पाण्ड्या, शिवम दुबे, रविन्द्र जडेजा, जसप्रित बुमराह, अर्शदीप सिंह, मोहम्मद सिराज र कुलदीप यादव ।

पाकिस्तानको सम्भावित प्लेईङ ११ :

बाबर आजम (कप्तान), मोहम्मद रिजवान (विकेटकिपर), उस्मान खान, फाखर जमान, शादाब खान, इफ्तिखार अहमद, इमाद वसिम, साहिन शाह अफ्रिदी, नसिम शाह, मोहम्मद आमिर र ह्यारिस रउफ ।