• २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
  •   Unicode
Logo

बीउमा आत्मनिर्भर हुँदै जाजरकोटको भेरी नगरपालिका



काक्रेविहार । जाजरकोटको भेरी नगरपालिकाले परीक्षाण्का रूपमा हाइब्रिड बीउ उत्पादन सुरु गरेको छ । यसअघि उक्त पालिकाले उन्नत जातको बीउ उत्पादन गरेर नगरपालिकालाई आत्मनिर्भर बनाएको थियो ।

भेरी नगरपालिका– २ आरुखेतस्थित रामपुर हाइब्रिड १० जातको मकैको बीउ उत्पादन गर्न कृषि विकास कार्यालयसँग सहकार्यमा परीक्षण सुरु भएको कृषि शाखाका प्रमुख यज्ञ अधिकारीले राससलाई जानकारी दिनुभयो । अघिल्लो वर्ष रामपुर हाइब्रिड १२ जातको मकैको बीउ भेरी नगरपालिका–३ स्यालामा एक हेक्टरमा लगाएर सफल भएको प्रमुख अधिकारीले जानकारी दिनुभयो । उन्नतजातको बीउ उत्पादनको काम सफल भई किसानहरुले आम्दानी लिन थालेपछि हाइब्रिड जातको बीउ उत्पादनमा लागेको उहाँले बताउनुभयो ।

भेरी नगरपालिकाको किसानहरुलाई तालिम तथा बीउ उत्पादन हुने देशका विभिन्न ठाउँमा अध्ययन भम्रणमा जाने गरिएको उहाँले जानकारी दिनुभयो । भेरी नगरपालिकाबाट उन्नतजातका विभिन्न तरकारी तथा अन्नबालीका बीउ उत्पादन भई बजारीकरणको काम समेत भइरहेको उहाँले बताउनुभयो । हाइब्रिड बीउ उत्पादन गर्न अन्य बीउ उत्पादनमाजस्तो सहज नभएको अधिकारीले बताउनुभयो ।

भेरी नगरपालिकाले उन्नत जातको मकैको देउती ,मनकामना–३ जातको– भेरी नगरपालिका ७ रुपाकोट र मिथ्याङ्गामा २० हेक्टरमामा लगाउदै आएको छ । त्यस्तै सावित्री जातको धान भेरी नगरपालिका ३ होलुज्यूलामा १० हेक्टरमा लगाउदै आएको अधिकारीले बताउनुभयो ।

भेरी नगरपालिका १० सानिचोरमा ३ हेक्टर र भेरी नगरपालिका १ कालेगाउँ र स्यालामा गरि २ हेक्टरमा जमिनमा गहुँ ,प्याज,रायो,मुला,केराउ र सिमी लगाएतका तरकारी बालीको उन्नत बिउँ भेरी नगरपालिका २ बाहुनथानामा सात रोपनी र तिलिङ्गेमा छ रोपनीमा उत्पादन भईरहेको उहाँले जानकारी दिनुभयो ।

हाल रामपुर हाइब्रिड १० र १२ तथा सृजना टमाटरको बीउ कृषि विकास कार्यालय जाजरकोट र भेरी नगरपालिका जाजरकोटको समन्वयमा परीक्षण प्रदर्शनी भइरहेको उहाँले बताउनुभयो । रासस