• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   कोलम्बिया कोपा अमेरिकाको क्वाटरफाइनलमा ★   शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् ★   त्रिवि पत्रकारिता केन्द्रीय विभागको प्रमुखमा डा अर्याल ★   एमाले उपाध्यक्ष रामबहादुर थापाका छोरा प्रतिक पक्राउ ★   एसईईमा सबै विषयमा फेल भएका विद्यार्थीेले पनि मौका परीक्षा दिन पाउने ★   रवि लामिछानेले सोधे मुकुल ढकाललाई स्पष्टीकरण ★   चट्याङ लागेर महिलाको मृत्यु ★   हतारमा पार्टी एकताभन्दा पनि राजनीतिक स्थायित्व र लोकतन्त्रको सुदृढीकरणलाई बढी जोड दिइन्छः प्रधानमन्त्री ★   एमालेबाट विद्रोह गरेर सही र न्यायोचित काम गर्यौँः अध्यक्ष नेपाल ★   सिएनएन निर्वाचन बहस: बाइडेन र ट्रम्पबीच नीतिभन्दा आरोप प्रत्यारोप बढी

मनसुनजन्य विपदबाट झापामा ४२ हजार प्रभावित हुने प्रक्षेपण



झापा । यस वर्षको मनसुनमा जिल्लामा ४२ हजारभन्दा बढी मानिस बाढी र डुबानको समस्याबाट प्रभावित हुनसक्ने प्रक्षेपण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार करिब ४२ हजार मानिस बाढी र डुवानबाट प्रभावित हुने अनुमान गरिएको हो ।

समितिको प्रक्षेपणअनुसार १५वटै पालिकाका नौ हजार घरपरिवार मनसुनजन्य विपद्बाट प्रभावित हुनेछन् । जिल्लामा मनसुनजन्य विपद्मा बाढीको समस्या धेरै हुने गरेको विगतको तथ्याङ्कले देखाउँछ । उक्त अनुमान अनुसार अहिलेदेखि नै जोखिम न्यूनीकरण र व्यवस्थापनको तयारी तीव्र बनाइएको समितिले जनाएको छ ।

समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले बाढीको उच्च जोखिमबाट समुदायलाई सुरक्षित राख्न सरोकार भएका सबै निकायलाई तयारी अवस्थामा राखिएको बताउनुभयो । उहाँले जिल्ला विपद् व्यवस्थापनको कोषमा रु एक करोड ५० लाख सञ्चित रहेको जानकारी दिनुभयो । उक्त रकम बाढीलगायत विपद्का कारण जीउधन गुमाउने परिवारलाई तत्काल राहत तथा उद्धारमा खर्च गरिने छ ।

मृतकका परिवारलाई रु दुई लाख र घर क्षति भएका परिवारलाई रु १५ देखि २० हजारसम्मका दरले कोषबाट राहत उपलब्ध गराइने प्रजिअ बाँस्तोलाले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लाका १५ वटै पालिकामा अलग–अलग विपद् कोष स्थापना गरी पालिका अनुसार रु १० देखि ५० लाखसम्मको रकम रहेको छ ।

नेपाल रेडक्रस सोसाइटीले राहत सामग्री, एम्बुलेन्स र स्वयंसेवक दस्ता तयारी अवस्थामा राखेको छ । झापाका नौवटा नदीमा आउने बाढीबाट सबैभन्दा धेरै प्रभावित हुने गरेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिको अभिलेखअनुसार कनकाई, मेची, बिरिङ, रतुवा, कमल, बनियानी, निन्दा, हडिया र टाङटिङ नदीमा आउने बाढीबाट स्थानीय बासिन्दा प्रभावित बन्ने गरेका छन् ।

दक्षिण–पश्चिम झापाको बाढी र डुबानको जोखिममा रहेका बाह्रदशी, झापा र गौरीगञ्ज पालिकामा उद्धार तथा राहत कार्यका लागि रबर बोटको व्यवस्था गरिसकेको प्रजिअ बाँस्तोलाले बताउनुभयो । उहाँले भन्नुभयो, “बाढीको उच्च जोखिममा रहेका गाउँमा जुनसुकै बेला उद्धार तथा राहत पुर्याउन रबर बोटको व्यवस्था मिलाएका छौँ । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसले यसका लागि समन्वय गरेर कार्य गर्नेछन् । जनधनको क्षति हुन नदिन सबै पक्षसँग समन्वय गरेर आवश्यक पूर्वतयारी गरिरहेका छौँ ।”

विपद् व्यवस्थापन समितिले तयार पारेको जिल्ला विपद् प्रतिकार्य योजना २०८१ अनुसार कनकाई नदीको कटान र डुबानले यस वर्ष झापा, गौरीगञ्ज, शिवसताक्षी र कनकाई पालिकाका दुई हजार दुई सय ४९ घरका १० हजार तीन सय ४५ जना विस्थापित हुने सम्भावना छ ।

मेची नदीबाट मेचीनगर, भद्रपुर नगरपालिका र कचनकवलका एक हजार ९० घरका पाँच हजार १४ र विरिङ नदीबाट कनकाई, बाह्रदशी, कचनकवल, झापा, अर्जुनधारा र बुद्धशान्ति पालिकाका दुई हजार एक सय १५ घरका नौ हजार सात सय २९ जना विस्थापित हुने सम्भावना छ ।

यसैगरी, रतुवा नदीबाट दमक, कमल, गौरादह र गौरीगञ्जका एक हजार तीन सय ३० घर, कमल र बनियानीबाट गौरीगञ्ज, शिवसताक्षी र कमलका एक हजार १५ घर, निन्दाबाट मेचीनगरका एक सय ५०, हडिया नदीबाट बुद्धशान्ति र मेचीनगरका तीन सय ५० घर, टाङटिङबाट अर्जुनधाराका दुई सय ५० घर र देउनियाँ नदीबाट भद्रपुर र हल्दिबारीका चार सय ४५ घर विस्थापित हुन सक्ने पक्षेपण गरिएको समितिका अध्यक्ष एवं प्रजिअ बाँस्तोलाले जानकारी दिनुभयो ।