२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड खिम्ती जलविद्युत्को शेयर हस्तान्तरण टुंग्याउन प्राधिकरणले पुनर्गठन गर्‍यो वार्ता समिति सुशासन सबैभन्दा ठूलो जनअपेक्षा छ : सभामुख अर्याल विद्युत् प्राधिकरणको पुनःसंरचनामा स्थानीय तह र समुदायको भूमिका सुनिश्चित गर्न माग जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिलौटो बेचेर जीविकोपार्जन गर्दै धरानका विशाल



अ+ अ-

धरान । धरान उपमहानगरपालिका–८ बरगाछीमा सिलौटा बनाउँदै गर्दा भेटिएका खनार सुनसरीका विशाल शर्मा मसला पिस्ने लोहोरो, जाँतो र सिलौटोको व्यापारबाट जीविकोपार्जन गरिरहनुभएको छ । उहाँले सिलौटा बनाउने पुर्खौली पेसा भएकाले यसलाई निरन्तरता दिएको बताउनुभयो ।

ढुङ्गाबाट बनेका सामग्री विभिन्न आकार र बुट्टाले भरिएका छन् । शर्माले ती सामग्री बिक्रीका लागि लहरै राख्नुभएको छ । उहाँले भन्नुभयो, “विदेशमा गएर दु:ख गर्नुभन्दा यही सिलौटो व्यापार गरेर जीविकोपार्जन भइरहेको छ ।” स्वदेशमा केही गर्दा आन्दानीसँगै आत्मसन्तुष्टि प्राप्त हुने उहाँको बुझाइ छ ।

सिलौटो बनाउने ढुङ्गा मोरङको केराबारी, जाँते लेटाङलगायत स्थानबाट खरिद गरी ल्याउने गरेको शर्माले बताउनुभयो । उक्त व्यापारबाट मासिक रु ३५ देखि रु ४० हजारसम्म आम्दानी हुँदै आएको उहाँले जानकारी दिनुभयो ।

“व्यापार गर्न एउटै स्थान बनाएको छैन । एक ठाउँमा तीन/चारदिन व्यापार गर्छु । तीन/चारदिनपछि ठाउँ परिवर्तन गर्छु”, शर्माले भन्नुभयो, “पूर्खाले गर्दै आएको पेसा भएकाले पेसाको संरक्षण र आम्दानी हुने भएकाले निरन्तरता दिएको छु ।”

निर्माण गरिएका सामान धरानका साथै पाहाडी भेग, भेडेटार, धनकुटा, इटहरी, बेलबारी, मोरङ, झापालगायत स्थानमा बिक्री हुँदै आएको शर्माले बताउनुभयो । माग अनुसार कतिपय सामान बनाउने गरेको उहाँको भनाइ छ । “एउटा सिलौटो बनाउन ३० देखि ४० मिनेट लाग्छ । एउटा रु चार सयदेखि आठ सयमा दैनिक १० वटासम्म बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो ।

पछिल्लो समय महँगी र आधुनिकताका कारण व्यवसाय सङ्कटमा पर्दै गएको शर्माको भनाइ छ । “अहिले सिलौटोमा मसला पिस्ने चलन हराउँदै जान थाल्यो, व्यवसाय सङ्कटमा पर्छकी भन्ने डर छ”, उहाँले भन्नुभयो, “पुर्खौली पेसा भएकाले संरक्षणका लागि पनि निरन्तरता दिँदै आएको छु ।”

ढुङ्गाको सिलौटो बनाउने पेसालाई संरक्षण र प्रवर्द्धन गर्नुपर्ने कोशी प्रदेशका सांसद रमेश बस्नेतले बताउनुभयो । “परम्परागत रुपमा प्रयोग गर्दै आइएको ढुङ्गाको सिलौटोलाई संरक्षण र प्रवर्द्धन गर्दै लैजानुपर्छ”, उहाँले भन्नुभयो, “स्थानीय सरकारले यस्तो पेसा गर्नेलाई सहयोग गर्नुपर्छ । प्रत्येक घरमा ढुङ्गाको सिलौटो छन् । आधुनिकताले गर्दा प्रयोगमा कम आउन थालेको मात्रै हो ।”