१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कीर्तिमानी नेपाली आरोही निर्मल पुर्जामाथि यौन दुर्व्यवहारकाे गम्भीर आरोप



अ+ अ-

काठमाडौं । कीर्तिमानी पर्वतारोही निर्मल पुर्जामाथि यौन दुव्र्यवहारको गम्भीर आरोप लागेको छ । पूर्व मिस फिनल्यान्ड लोता हिन्स्टाले पुर्जामाथि यौन दुव्र्यवहारको आरो लगाएकी हुन् ।

अमेरिकाको पत्रिका ‘द न्यूयोर्क टाइम्स’सँग कुरा गर्दै हिन्स्टाले सन् २०२३ को मार्च ३० मा काठमाडौं आएका बेला एक होटलमा पुर्जाले दुव्यर्वहार गरेको बताएकी हुन् । गत डिसेम्बरमा प्रकाशित आफ्नो संस्करणात्मक पुस्तक ‘द माउन्टेन्स अफ माई लाइफ–२’ मा पनि उनले एक जना चर्चित आरोहीसँग अप्रिय घटना भएको उल्लेख गरेकी थिइन् । पुस्तकमा उनले पुर्जाको नाम नलिइ आफ्नो सहमतिविना ती व्यक्तिले चुम्बन गरेको उल्लेख गरेकी थिइन् ।

न्यूयोर्क टाइम्समा शुक्रबार प्रकाशित रिपोर्टमा ती व्यक्ति निम्स भनिने निर्मल पुर्जा भएको खुलाइएको छ । पूर्व मिस फिनल्यान्ड हिन्स्टाले होटलको कोठाभित्र के–के भएको थियो भन्ने पनि खुलाएकी छन् । उनका अनुसार, पुर्जाले लबीमा कफी पिउनको साटो कोठासम्म लिएर गएका थिए । ‘मैले अस्वीकार गर्दागर्दा उसले मेरो कपडा खोल्न थालेपछि म जमे जस्तो भएको थिएँ, शरीरबाट बाहिर गएको जस्तो महसुस गरिरहेको थिएँ’, उनले भनेकी छन्, ‘महिनावारी भएको छ भन्दा पनि उनी रोकिएनन्, एकपटक मेरो गोप्य अंगसम्म हात पुर्‍याए ।’

उनका अनुसार, पुर्जा त्यतिबेला यस्तो अवस्थामा थिए कि जतिबेला ‘नो’ भन्नुको कुनै अर्थ थिएन । बेलायती सेनामा प्रशिक्षण लिएको र बलियो व्यक्ति भएकाले आफू एकदमै डराएको उनले पत्रिकामा भनेकी छन् ।

निरन्तर अस्वीकार गरिरहेपछि पुर्जा एकदमै रिसाएको र उनी शौचालयमा प्रवेश गरेका बेला आफूले लुगा लगाएको दाबी उनले गरेकी छन् । न्यूयोर्क टाइम्सका अनुसार, यो आरोपमाथि निम्सले भने प्रतिक्रिया दिन चाहेनन् । यद्यपि, उनका वकिल फिलिप केलीले लिखित जवाफ दिँदै ‘आरोप झुठो र अपमानजनक भएको’ बताएको रिपोर्टमा उल्लेख छ ।

यसअघि क्यालिफोर्नियाकी एक जना डा. अप्रिल लियोनार्दोले पनि पुर्जाले आफ्नो अनुमतिविना पटक–पटक तानेर चुम्बन गरेको आरोप लगाएकी छन् । विश्वको दोस्रो सर्वोच्च शिखर केटु हिमाल चढ्ने बेला गाइड गरेका निम्सले दुव्र्यवहार गरेको उनले भनेकी छन् । उनको आरोपको पनि निम्सका वकिलले भने खण्डन गरेका छन् ।

सन् २००२ मा पहिलो अमेरिकी महिला सगरमाथा आरोही टोलीको नेतृत्व गरेकी एलिसन लेविन पनि आरोहणका बेला गाइडबाट मौखिक दुव्र्यवहार र धम्कीको सामना गर्नुपरेको भनेकी छन् । त्यसबेला मौसमका कारण उनी नेतृत्वको टोली बीचबाटै फर्किनुपरेको थियो । पछि २०२० मा उनी फेरि नेपाल आएर सगरमाथा आरोहरण गरेकी थिइन् ।

निर्मल पुर्जा एक कीर्तिमानी हिमाल आरोही तथा बलायती भूतपूर्व गोर्खा सैनिक हुन् । जसले ७ महिनाभन्दा कम अवधि (१८९ दिन) मा समुद्री सतहबाट ८ हजार मिटर अग्ला संसारका सबै १४ वटा हिमालको सफल आरोहण गरेका छन् । यसअघि त्यस्तो कीर्तिमान कायम गर्ने दक्षिण कोरियाका किम चाङ हो थिए । जसले १४ हिमालको आरोहण सक्न सात वर्ष १० महिना ६ दिन लगाएका थिए । सन् १९८७ मा कायम गरेको कीर्तिमान पुर्जाले आधा वर्षमै र एउटै ऋतुमा भंग गरेका हुन् ।

उनी ८ मजहरा मिटरमाथिका १४ वटै हिमाल आोहण गर्ने ४४ औं आरोही हुन् । निर्मल पुर्जा यी सबै हिमाल चढ्ने नेपालीमा पाँचौं र गैरशेर्पा नेपालीमा पहिलो हुन् ।