काठमाडौ । प्रधानमन्त्री केपी ओलीले नेकपाको अध्यक्ष पद कमण्डलुमा मागेर पाइने कुनै दान नभएको बताएका छन् । आज राष्ट्रिय सभाको बैठकलाई सम्बोधन गर्दै उनले भने– नेकपाको अध्यक्ष पद दान होइन कमण्डलुमा मागेर सुका मोहर सिक्काजस्तै पाउने, यसको पनि विधि हुन्छ, विधिबाट मात्र हुन सक्छ, यसै सुम्पन सकिँदैन ।
प्रधानमन्त्री ओलीको यो व्यङ्ग्य नेकपाका अर्का अध्यक्ष प्रचण्डप्रति लक्षित थियो । उनले प्रचण्ड र माधव नेपालले देशमा अस्थिरता मच्चाउन लागेको आरोप पनि लगाए । आफूले चुनाव गर्न लागेको तर चुनावलाई नै अस्थिरता भनेर उनीहरु कुर्लिरहेको ओलीको आरोप थियो ।
उनले दाहाल-नेपाल समहूलाई बाह्य शक्तिको आडमा गोटी बनेर राजनीतिक अस्थिरता मच्चाएको र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न नदिएर निरीह बनाउने काम गरेको आरोप लगाए । तर आफूले चालेको कदम स्थिरताको लागि भएको उनले बताए । पाँच वर्ष राम्रोसँग सरकार चलाउन पाए हुन्थो भन्ने भए पनि भारी मन लिएर संसद विघटनको निर्णय लिएको उनले बताए ।
उनले देशमा सञ्चारमाध्यम आफूप्रति पूर्वाग्रही भएको असन्तुष्टि पनि पोखे । उनले भने, मिडियामात्र होइन यो देशका बुद्धिजीवी पनि पूर्वाग्रही छन् ।











