२९ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालको पूर्वी क्षेत्रबाट आागमी १० दिनमा मनसुन भित्रिने



अ+ अ-

काठमाडौँ । नेपालमा आागमी १० दिनमा मनसुन भित्रिने भएको छ ।

नेपालको कोशी प्रदेशबाट अबको दशदेखि १२ दिनभित्रमा मनसुन भित्रिने विज्ञहरुको अनुमान छ । मनसुनजन्य विपद्बाट बच्न पूर्वतयारीका लागि अब एक हप्ताको समय मात्रै रहेको भन्दै विज्ञहरुले सरकारले आवश्यक तयारी गर्नुपर्ने बताएका छन् । जलवायुविज्ञ डा. धर्मराज उप्रेतीले अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिने र विकसित हुँदै सुदूरपश्चिमसम्म पुग्दा १५ देखि २० दिनसम्मको समय लाग्ने बताउनु भयो ।

उहाँले यस वर्ष अत्याधिक वर्षा हुने पूर्वानुमान रहेकाले सोहीअनुसारका योजना बनाइ तयारीमा जुट्न आग्रह गर्नुभयो । राज्यले कुनकुन ठाउँमा कस्तो आपत्कालीन पूर्वतयारी गर्ने भन्नेबारेमा समयमै ध्यान दिनुपर्नेमा जोड दिनुभयो । डा. उप्रेतीले राहत र उद्धारको लागि आवश्यक बन्दोबस्तीका सामग्री, खाद्यान्नहरुको संकलन गरी भण्डारण गर्न आवश्यक भइसकेको बताउनु भयो । उहाँले गृह मन्त्रालय, आपत्कालिन अवस्थामा खटिने सुरक्षा निकाय, स्वयंसेवक, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभाग र प्रदेश एवं स्थानीय सरकारले आजैबाट विपद्पूर्व तयारीका काम गर्न र तयारीमा जनशक्ति परिचालन गर्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अबको १० दिनमा नेपालको कोशी प्रदेशबाट मनसुन भित्रिन्छ । बढीमा १० दिनमा । त्यो बिस्तारै विकसित हुँदैहुँदै सुदूरपश्चिमसम्म पुग्दा लगभग २ हप्ता जति लाग्न सक्छ । अबको हामीसँग समय भनेको तयारीको हिसावले कोशी प्रदेश, मधेस प्रदेश र वागमती प्रदेशको हिसावले १० दिन मात्रै छ । सुदूरपश्चिम प्रदेश, कर्णाली, लुम्बिनी प्रदेशको हकमा लगभग दुई हप्ताको समय छ । त्यसैले हाम्रो तयारीमा भोलिको दिनमा बढी पानी पर्छ भन्ने प्रक्षेपणमा आइसकेको सन्दर्भमा राज्यले कुनकुन ठाउँमा कस्तो आपत्कालीन समयमा प्रयोग हुने कस्तो सामग्रीहरु पठाउनुपर्ने हो, टेन्ट, खाद्यान्नहरु आजकै दिनसम्म पुर्‍याइसक्नुपर्छ । बाटो विपद्का कारण अवरोध हुनसक्छ, मौसका कारण विमानहरु जान नसक्ने हुनसक्छन् । त्यसैले तयारीका लागि सबै निकायहरुले गृहमन्त्रालय, रेडक्रसदेखि जल तथा मौसम विज्ञान विभागदेखि लिएर स्थानीय र प्रदेश सरकारहरु शतर्क हुने र आजैदेखि जनशक्ति परिचालन गर्नुपर्छ । मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुनेछ ।’

विज्ञ उप्रेतीले मनसुन अबको १० देखि १२ दिनमा नेपालको पूर्वी भाग र १५ देखि २० दिनमा देशभर नै सक्रिय हुने भएकाले आम नागरिकले पनि शतर्कता अपनाउन जरुरी रहेको उल्लेख गर्नुभयो । जल तथा मौसम विज्ञान विभागले यस वर्ष विगतको तुलनामा बढी वर्षा हुने प्रक्षेपण गरेको छ । सोही अनुसार सरकारलाई पूर्वतयारीमा जुट्न विज्ञहरुले सुझाव दिएका छन् ।

यता विपद् पूर्वतयारीमा जुट्न नेपाल रेडक्रस सोसाइटीले ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको बताएको छ । मनसुनबाट हुनसक्ने सम्भावित जोखिमलाई कम गर्न नेपाल रेडक्रस सोसाइटीले पूर्वतयारीको काम थाल्न ७७ वटै जिल्लाका निकायहरुलाई निर्देशन दिएको हो । नेपाल रेडक्रसले जनशक्ति, आर्थिक श्रोतको सुनिश्चितता र आवश्यक सामग्रीहरुको जोहो गरी सातै प्रदेश र ७७ वटै जिल्लामा पूर्वतयारीमा खट्न आग्रह गरेको छ । शुक्रवार काठमाण्डौमा नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले वर्षभर हुनसक्ने विपद्लाई मध्यनजर योजना बनाइएको र मनसुनजन्य विपद्बाट हुनसक्ने क्षति न्युनिकरणका लागि पूर्वतयारीमा जुटिसकेको बताउनु भयो ।

उहाँले विगतका वर्षहरुको अनुभव र यस वर्ष बढी वर्षा हुने पूर्वानुमानलाई मध्यनजर गरी आफूहरुले योजना बनाएको बताउनु भयो । उहाँले विपद्बाट हुनसक्ने क्षतिलाई मध्यनजर गरी ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरुको भण्डारण भइसकेको बताउनु भयो । उहाँले ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्वतयारी गर्नका लागि निर्देशन दिइसकेको र आर्थिक श्रोत, सामग्रीहरुको सुनिश्चितताका लागि आवश्यक पहल गरिएको जानकारी दिनुभयो । उहाँले विभिन्न किसिमको प्रतिकार्यका लागि पहिला नै आकस्मिक कोषहरु छुट्याइएको र आवश्यकता अनुसार रकमहरु पनि परिचालन हुने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘भोलिबाट मनसुन शुरु भएर असोजको १४ सम्म मनसुन रहने पूर्वानुमान छ । हामीले हरेक वर्ष मनसुन शुरु हुनु भन्दाअघि नेपाल रेडक्रस सोसाइटीको तर्फबाट मनसुन प्रिपेयरनेस र रेस्पोन्सको योजना नै बनाएर काम गर्दै आइरहेका थियौँ । तर यस वर्ष हामीले मनसुन प्रिपेयरनेस र रेस्पोन्सको प्लान नबनाइकन समग्र डिजास्टर म्यानेजमेण्टको प्लान बनायौँ । जुनसुकै डिजास्टर भएपनि कसरी तयारी हुनुपर्छ र कसरी रेस्पोन्स गर्ने भनेर वर्षभरमा हुनसक्ने विपद्लाई मध्येनजर राखेर प्लान बनाएका छाँै । निश्चित रुपमा मनसुन शुरु भएको सन्दर्भमा हामीले मनसुनमा बढी केन्द्रित रहेर योजना बनाउनु स्वभाविक नै हो । यसपालि गत वर्षको भन्दा बढी हिट हुन्छ भनिएको छ । ४४ डिग्रि भन्दा बढी तापक्रम कतिपय शहरहरुमा पुगिसकेको छ ।

काठमाडौंमा पनि विगतको वर्ष भन्दा बढी गर्मी महशुस गरेका छौँ । मनसुनको पूर्वतयारीको सन्दर्भमा विगतका वर्षहरुको अनुभव र यसपालि बढी पानी परेर त्यसको क्षति ठूलो हुनसक्छ भनेर पूर्वतयारीलाई त्यत्तिकै ध्यान दिएर काम गरेका छौँ । खासगरी एउटा भनेको जनशक्ति, हामीसँग विभिन्न क्षेत्रमा तालिमप्राप्त जनशक्तिहरु हुनुहुन्छ । तालिमप्राप्त जनशक्तिलाई पूर्वतयारी अवस्थामा राखेका छाँै । आर्थिक श्रोत साधनको कुराहरु पनि छ । विभिन्न किसिमको रेस्पोन्सका लागि पहिला नै हामीले छुट्याएर राखेको फण्डहरु छन् । आवश्यक सामग्रीहरु पनि तयारी अवस्थामा हामीले राखेका छौँ । ५० प्रतिशत भन्दा बढी आवश्यक सामग्रीहरुको भण्डारण छ । पैसा उपलब्ध गराउने कुरामा पनि हामी केन्द्रित छौँ । ७ प्रदेश र ७७ जिल्लालाई नै पूर्वतयारी गर्नका लागि हामीले अनुरोध गरिसकेका छाँै ।’

उहाँले केही स्थानमा पूर्वसूचना प्रणालीका बारेमा पनि काम गरिरहेको जानकारी गराउँदै सबै निकाय र संघसंस्थाहरुले घटना हुन नदिन आवश्यक पहल गर्न आग्रह गर्नुभयो । उहाँले विपद्जन्य घटना मात्रै नभइ अधिक गर्मी, स्वास्थ्यजन्य समस्याहरुमा पनि सबैले आवश्यक चासो देखाउन जरुरी रहेको बताउनु भयो ।