• २० असार २०८१, बिहीबार
  •      Thu Jul 4 2024
  •   Unicode
Logo
Latest
★   जाउलाखेललाई महिला ह्विलचियर बास्केटबलको उपाधि ★   नेपाली खेलकुदको इतिहासमै पहिलो पटक एन्थ्रोपो मेट्रिक अनुसन्धान ★   सदभाव आचार्य गल्फ प्रतियोगिता खेल्न र प्रशिक्षण गर्न अमेरिका प्रस्थान ★   सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले बाहिरियो ★   इमानदारीपूर्वक काम गर्न अध्यक्ष ओलीको सुझाव ★   नयाँ बन्ने ओली नेतृत्वको सरकारले शिक्षा क्षेत्रका समस्या नयाँ उचाईबाट समाधान गर्छ: उपाध्यक्ष पौडेल ★   रवि लामिछाने विरुद्धको मुद्दामा दुई न्यायाधीशबीच राय बाझियो ★   रौतहट कटहरियाका मेयर र उपमेयरसहित ११ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर ★   एकीकृत समाजवादीको अध्यक्षमा नेपाल र महासचिवमा भूसाल सर्वसम्मत ★   एकीकृत समाजवादीको नेतृत्व सर्वसम्मत चयन गर्नुपर्नेमा महाधिवेशन प्रतिनिधिहरुको जोड

मुस्ताङी च्याङ्ग्राको भुवा पश्मिनाका लागि उपयुक्त



म्याग्दी ।  मुस्ताङमा पािलएका च्याङ्ग्राको भुवा पश्मिना बनाउने कच्चापदार्थका रुपमा प्रयोग गर्न उपयुक्त देखिएको छ ।

अन्तर्राष्ट्रिय व्यापार केन्द्रले अन्तर्राष्ट्रिय पश्मिना विशेषज्ञ, कृषि अनुसन्धान परिषद्अन्तर्गत नेपाल पशु प्रजनन् तथा आनुवांशिक अनुसन्धान केन्द्र, नेपाल पश्मिना सङ्घ र च्याङ्ग्रा पश्मिना किसान सङ्घको समन्वयमा नेपालमा पहिलो पटक गरेको परीक्षणबाट मुस्ताङी च्याङ्ग्राको भुवा गुणस्तरका हिसाबले पश्मिनाका लागि उपयुक्त भएको पुष्टि भएको हो ।

पश्मिना सङ्घका अध्यक्ष धनप्रसाद लामिछानेले मङ्गोलियामा रहेको अन्तर्राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा मुस्ताङी च्याङ्ग्राको भुवाको गुणस्तर पश्मिनाको कच्चा पदार्थकारुपमा प्रयोग गर्न उपयुक्त रहेको प्रतिवेदन प्राप्त भएको जानकारी दिनुभयो ।

“एक वर्षअघि विज्ञहरुको टोली यहाँ आएर लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, बारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाबाट आठ सय च्याङ्ग्राको भुवा नमुनाका रुपमा सङ्कलन गरी गुणस्तर परीक्षणका लागि लैजानुभएको थियो”, उहाँले भन्नुभयो, “यसै साता कृषक र जनप्रतिनिधिलाई भेला गरी परीक्षण प्रतिवेदन सार्वजनिक गर्दै भुवाको थप गुणस्तर सुधार र व्यावसायिक उत्पादनका लागि छलफल गरेका छौँ ।”

चारवटै पालिकाका एक सय ६० किसानले पालेका पाँच/पाँच वटा फरकफरक, भूगोल, तौल, रङ र उमेर समूहका च्याङ्ग्राको शरीरबाट नमुनाका रुपमा भुवा सङ्कलन गरी परीक्षण गरिएको लामिछानेले जानकारी दिनुभयो । परीक्षणपछि नेपालमा पश्मिना बनाउने कच्चापदार्थका रुपमा प्रयोग गरिने भुवाको स्रोत रहेको अन्तराष्ट्रियस्तरमा सन्देश प्रवाह भएको भन्दै यसले च्याङ्ग्रापालन विस्तार र पश्मिना उद्योगको सम्भावना बढेको उहाँले बताउनुभयो ।

सङ्कलित नमुनालाई पश्मिनाको मोटाइ र लम्बाइ मापन गर्ने अन्तराष्ट्रिय मान्यता प्राप्त प्रयोगशालाका साथै नेपाल गुणस्तर तथा नाप तौल विभागमा व्यवसायिक गुणस्तर परीक्षण गरिएको अन्तराष्ट्रिय व्यापार केन्द्रका परामर्शदाता सिचन श्रेष्ठले बताउनुभयो । “च्याङग्राको भूवा पस्मिनाका लागि (क) श्रेणीको कच्चा पदार्थ हो । भेडा र चौरीको तुलनामा च्याङग्राको भुवालाई गुणस्तरीय मानिएको छ”, उहाँले भन्नुभयो ।

प्रतिवेदन सार्वजनिकीकरणसँगै सुझाव अनुसार कश्मिरका डा खिलाल खान र अन्तराष्ट्रिय व्यापार केन्द्रका प्राविधिक विशेषज्ञ प्राडा सर्फराज वानीलाई ल्याएर कृषकलाई च्याङग्रा पाल्ने गोठ, आहारा र नष्ल सुधारसम्बन्धी आधुनिक ज्ञान र सीप प्रदान गरिएको परामर्शदाता श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार यही जेठ ९ गतेदेखि सुरु भएको स्थलगत तालिम १६ गते सम्पन्न भएको थियो ।

टोलीसँगै मुस्ताङ पुग्नुभएकी नेपालका लागि युरोपियन युनियन ९इयु०का राजदूत भेरोनिक लोरेन्जोले लोमान्थाङ गाउँपालिकाका छिरिङ वाङ्दीले स्थापना गर्नुभएको ‘पश्मिना रिसर्च एण्ड एग्रो टुरिजम फार्म’को उद्घाटन गर्नुभएको थियो ।

मुस्ताङमा च्याङग्राको पश्मिनाको अन्तर्राष्ट्रिय बजारमा उच्च सम्भावना देखिएकाले यसको प्रर्वर्द्धन र व्यवस्थापनमा सघाउने राजदूत लोरेन्जोले बताउनुभयो । विश्व बैंकको नेपालस्थित कार्यालयका प्रतिनिधिले पनि पश्मिनाको भुवा सङ्कलन केन्द्रको अनुगमन गर्नुभएको थियो ।

पश्मिनाको गुणस्तर सुधारका लागि विदेशी प्रशिक्षकबाट पाएको ज्ञान, सीप र अनुभव उपभोगी बन्ने कृषक वाङ्दीले बताउनुभयो । लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसीनर्बु गुरुङले च्याङ्ग्रापालनबाट कृषकलाई मासु बिक्रीका साथै पश्मिनाका लागि भुवा उत्पादन गरेर दोहोरो लाभ लिने सम्भावना रहेको बताउनुभयो । च्याङ्ग्रापालनलाई थप व्यावसायिक, आधुनिकीकरण र सङ्ख्या वृद्धि गर्न पहल गर्ने उहाँको भनाइ छ ।

प्राकृतिकरुपमा कम उत्पादन हुने च्याङ्ग्राको भुवाबाट मात्रै प्रत्येक वर्ष सानो परिमाणमा उत्पादन गरिने पश्मिनाको व्यावसायिक माग बढ्दै गएको छ । राम्रो गुणस्तरको च्याङ्ग्रा पश्मिनाका लागि आकर्षक मूल्य तिर्न नेपाली खरिदकर्ता तयार भएकाले च्याङ्ग्रापालक कृषकले मनग्य आम्दानी गर्नसक्ने सम्भावना बढेको छ ।

नेपालबाट निर्यात हुने प्रमुख वस्तुका रुपमा रहेको पस्मिना बनाउन च्याङ्ग्राको भुवा प्रशोधन गरेर निस्किएको धागो कच्चापदार्थका रुपमा प्रयोग हुन्छ । नेपाल पश्मिना उद्योग सङ्घका अनुसार नेपालबाट वार्षिक रु तीन अर्बको पस्मिना निर्यात हुन्छ भने वार्षिक एक सय ९५ टन पस्मिना बनाउन आवश्यकपर्ने भुवाको धागो आयात हुन्छ ।

विदेशबाट कच्चापदार्थ आयात घटाउन मुस्ताङ, मनाङ, डोल्पा, मुगु, हुम्लालगायत जिल्लाका कृषकबाट पछिल्लो दुई वर्षयता च्याङ्ग्राको भुवा खरिद गर्न थालिएको पश्मिना उद्योगी भीम शेरचनले बताउनुभयो । उहाँका अनुसार सङ्घले मुस्ताङबाट वार्षिक दुई मेट्रिकटन भुवा सङ्कलन गरेर लैजाने गरेको छ ।

बजारको सुनिश्चितता नभएकाले मुस्ताङका कृषकले यसअघि ऊन निकाल्ने गरेका थिएनन् । भुवा शरीरबाटै झरेर खेर जाने गरेको थियो । तीस प्रतिशतको हाराहारीमा ऊन निकाले पनि बजार नपाउने समस्या थियो । नेपाल फाइवर प्रोसेसिङ उद्योगले लोमान्थाङमा भुवा सङ्कलन र काठमाडौँमा प्रशोधन केन्द्र स्थापना गरेको छ ।

वैशाख र जेठ महिना च्याङ्ग्राको शरीरबाट भुवा निकाल्ने याम हो । भुवा निकाल्ने सीपसँगै नयाँ प्रविधि हस्तान्तरण गरिएको छ । मुस्ताङको मुक्तिनाथ, कागबेनी, छुसाङ, जोमसोम, चैले, घमी, चराङ, लोमान्थाङलगायत ठाउँका कृषकले व्यावसायिक च्याङ्ग्रापालन गरेका छन् । भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रका अनुसार जिल्लामा ५२ हजार च्याङ्ग्रा पालिएका छन् । रासस