२० मंसिर २०८२, शनिबार
,
Latest
चितवनले पोखरालाई दियो १२१ रनको लक्ष्य दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु दाङको लमही बजारमा दिनदहाडै सुनचाँदी पसलमा गोली प्रहार पोखराविरुद्ध टस जितेर चितवन ब्याटिङमा दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुम्लिखामा यलम्बर उद्यान



अ+ अ-

खोटाङ । खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो ।

वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले नि:शुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्णकदको सालिक राखिएको छ । पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्णकदको सालिक, खानेपानीको धारा, प्रतिक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएका छन् ।

उद्यान स्थापनाले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताउनुभयो । “सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ”, उहाँले भन्नुभयो, “यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”

किराँत राई बान्तावा समुदायको ऐतिहासिकस्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिनुभयो ।

वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, किराँती पुर्खालगायतको उपस्थिति रहेको थियो । सुम्लिखामा हरेक वर्षको उभौली र उधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको छ ।

जिल्लाका दश स्थानीय तहमा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवर्द्धनका काम तीव्रगतिमा भइरहेका छन् । रासस