२० असार २०८३, शनिबार
,
Latest
घरपझोङमा चक्रपथ निर्माण सम्पन्न, आवागमन सहज परिषद्द्वारा उत्कृष्ट सूचना प्रविधि उद्यमीलाई पुरस्कृत कर्णालीमा बेपत्ता गाडी र यात्रु खोज्न सशस्त्रको विपद् शिक्षालयबाट गोताखोर परिचालन ट्राफिक प्रहरीद्वारा एकै दिन २० लाख बढी राजस्व संकलन कोलम्बिया विश्वकपको अन्तिम १६ मा प्रवेश सरकारको १०० दिनः सुदृढ सुरक्षा सङ्गठन र मजबुत आन्तरिक सुरक्षा प्राथमिकतामा शुक्लाफाँटाको दश वर्षे नगर शिक्षा योजनाः मस्यौदामाथि छलफल ‘कर्णाली प्रदेश खानेपानी तथा सरसफाइ विधेयक’माथि छलफल बागमती नदीमा डेब्रिज थुप्रिनु काठमाडौँ डुबानको मुख्य कारण वन उद्यममा जोडिँदै नवलपुरका महिला
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिजिटल प्रणालीमा रुपान्तरण हुँदै नेपाल आयल निगम



अ+ अ-

सोमनाथ लामिछाने / रासस

काठमाडौंः नेपाली समाजमा ‘जहाँ इच्छा त्यहाँ उपाय’ भन्ने एउटा उखान छ । नेपाल आयल निगमले यो उखानलाई आत्मसात गर्दै वर्षौदेखि झेल्दै आएको आन्तरिक तथा प्रशासनिक समस्यालाई समाधान गर्न अधिकतम प्रयास गरेको छ । यसै अन्तर्गत लामो समयदेखि विभिन्न कारणले रोकिएका योजनाहरुलाई एकै साथ अघि बढाएर कीर्तिमानी राख्ने तयारीमा जुटेको छ ।

सुधारका कामको नमूनाको रुपमा थानकोट डिपोलाई लिन सकिन्छ । केही समय पहिलासम्म अस्तव्यस्त रुपमा रहेको ३ नं. प्रदेशको प्रादेशिक कार्यालयसमेत रहेको सो कार्यालय अहिले नमुना कार्यालयमा दर्ज भएको छ । कार्यालय परिसर चिटिक्क पारिएको छ । अस्तव्यस्त रुपमा बाटोभरी पार्क गरिएका ट्याङकरहरु अहिले ढलान गरिएको आफ्नै पार्किङमा लाइनमा राखेको देख्न सकिन्छ ।

दश वर्ष पहिले थानकोट डिपोबाट दैनिक करिब १० गाडी पेट्रोल, १५ गाडी डिजेल र २–४ गाडी मट्टितेल खपत हुन्थ्यो । तर पछिल्ला दश वर्षमा यी इन्धनको खपत ह्वात्तै बढेको छ । अहिले १०० गाडीको हाराहारीमा दैनिक कारोबार हुने गरेको छ । अहिले दैनिक १५०० देखि २००० किलोलिटर इन्धन यहाँबाट बाहिरिन्छ । यसका लागि निगमको क्षमता बढाउनुको विकल्प थिएन । नियमित मर्मत सम्भार हुन नसक्दा डिपोको अवस्था नाजूक थियो । सेवाग्राहीको संख्या पनि व्यापक बढेको छ । पेट्रोलियम पदार्थ निकै संवेदनशील हुने भएकाले पनि उचित सुरक्षा र सरसफाई जरुरी हुन्छ, र त्यसमा निकै कमी पाइएको थियो ।

डिलर, पम्पहरुलाई राम्रो बनाउनु पर्छ भनेर दबाब दिने निगम स्वयंको डिपो भने कवाडजस्तो अवस्थामा राख्नु हुन्न भन्ने सोचाईका साथ सुधार र मर्मत सम्भारका कामलाई अघि बढाइएको निगमले जनाएको छ ।  

थानकोट डिपोका कार्यालय प्रमुख ई. प्रदीप कुमार यादव भन्नुहुन्छ – “सरकारी कार्यालय भन्नेबित्तिकै हाम्रो मानसपटलमा टुटे फुटेका झ्याल, ढोका र फोहोर शौचालयको तस्वीर आउँछ । तर अहिले यहाँ आइपुग्ने सेवाग्राही निकै प्रसन्न छन् । काममा छिटोछरितो भएको छ, सेवाग्राहीले तुरुन्त सेवा पाउने वातावरण बनेको छ । पहिले एक घण्टा लाग्ने काम अहिले १०–१५ मिनेटमै हुने गरेको छ ।”

इन्जिनियर प्रदीप कुमार यादव (तस्वीरः न्यूजपाेलार)

भौतिक सुधारका लागि थानकोट डिपोमा यस वर्ष झण्डै पाँच करोड खर्चिएको निगमले सुधारका कार्यलाई व्यापकता दिएको छ । कार्यालय प्राङ्गण सफा सुग्घर हुनुका साथै क्यान्टिन, सभाहल, प्रतीक्षालय, शौचालय समेतका आधारभूत पूर्वाधार निर्माण भएका छन् । स्थानीयवासीले सधैं गुनासो गर्दै आएको पार्किङको विषय पनि अहिले सुल्झिएको छ । थानकोटको राजमार्गदेखि निगमको डिपोसम्मको करिब ३०० मिटर भित्री बाटोमा १०० देखि १५० वटा बढी ट्याँकरहरु दिनभर पार्क गरिन्थ्यो । बाटोमा एम्बुलेन्स, स्कुलका बस हिँड्ने अवस्था पनि हुँदैनथ्यो । स्थानीयवासीका लागि पनि टाउको दुखाई हुँदै आएको यो समस्या निगमले अहिले सुल्झाएको छ । अहिले निगमकै झण्डै ६० रोपनी जग्गाभित्र पूर्वतर्फ झण्डै ३०० वटा ट्याँकर अटाउने व्यवस्थित पार्किङ स्थल बनाइएको छ ।

डिपोभित्र तेल जाँच गराउन पुगेका एक ट्याँकर चालक मनोज अधिकारी भन्नुहुन्छ, “दश महिना पहिले यहाँ सेवा लिन घण्टौं बस्नुपथ्र्यो । तेल खन्याउन र भर्न आफ्नो पालो कहिले आउला भनेर कुर्नु पथ्र्यो । अहिले त्यस्तो छैन । आफ्नो कागज पेश गरेर टोकन लियो, पालैपालो सेवा लियो । सिस्टम बसेको छ । डिपोले दिने सेवामा ८० प्रतिशतभन्दा बढी सुधार आएको छ ।”

निगमले कार्यक्षमतामा सुधार ल्याउन गरेको अर्को प्रयास हो लोड–अनलोड सेड निर्माण । करिब एक करोडको लागतमा निगमले यसैवर्ष तीन वटा सुविधासम्पन्न र अग्नि सुरक्षित सेड निर्माण गरेको छ । निगमसँग यसअघि सात वटा सेड थिए, अर्थात् एक पटकमा सात वटा ट्याँकरमा तेल भर्न सकिन्थ्यो । तर अब १० वटा ट्याँकरमा एकसाथ तेल पर्न सकिन्छ । सुरक्षात्मक उपाय मजबूत बनाइएका यी प्रत्येक सेडबाट १५–२० मिनेटभित्रै एक ट्याँकर तेल भर्न सकिन्छ ।

   निगमकाे थानकाेट डिपाे (तस्वीरः न्यूजपाेलार)

यादव भन्नुहुन्छ, “यो संवेदनशील स्थान भएको हुनाले हामी यसमा सचेत छौ । यहाँ हामीले सुरक्षाका सबै उपायहरु अवलम्बन गरेका छौ । दमकल लगायतका सबै कुरा तयारी अवस्थामा हुन्छन् । यहाँ आगलागी भएपनि दुई मिनेट भित्रै निभाउन सक्ने क्षमता निगमसँग छ ।”

सेवाग्राहीको सजिलोका लागि अहिले टोकन प्रणाली राखिएको छ । सबै काम कम्प्युटर प्रणालीमा हुने हुनाले कुनै समस्या हुँदैन र काममा छिटो हुन्छ । डिलर र ट्रान्सपोर्टरलाई कुनै समस्या हुँदैन । घण्टौ पखर्नुपर्ने काम केही समयमा नै हुन्छ । त्यसैले चाह्यो भने सिस्टममा परिवर्तन गर्न सकिने यादव बताउनु हुन्छ, तर त्यसको लागि इच्छाशक्तिको आवश्यकता पर्दछ ।

निगमका डिपोहरु अटोमेसन हुँदैछन्

इन्धन वितरणमा सहजता ल्याउन र विश्वासिलो बनाउन डिपोहरु स्वचालित (अटोमेसन)मा जानुको विकल्प छैन । अटोमेसन भनेको डिपोका ठूला ट्याँकमा तेल भर्ने, लोड–अनलोड कम्प्युटरकृत गर्ने तथा सम्पूर्ण कारोबार विद्युतीय प्रणालीमा गर्ने हो । यसो गर्दा निगमको सम्पूर्ण कार्य प्रक्रिया पारदर्शी गर्न सघाउन पुग्छ । इन्जिनियर यादव भन्नुहुन्छ, “अहिले हामीसँग म्यानुएल विधि छ, मान्छेले सबै नाँपजाँच गर्नुपर्छ । अटोमेसन भएपछि कम्प्युटरले सबै नियन्त्रण गर्दछ, मान्छेको भूमिका कम हुन्छ । जस्तै अहिले १२ हजार लिटर तेल दिनु परे मान्छेले नापेर दिन्छन् तर अटोमेसनमा गएपछि कम्प्युटरले नापेर दिन्छ, १२ हजार पुगेपछि रोकिन्छ, र स्वचालित रुपमा बिल बन्छ ।”
निगमको निकै महत्वाकाँक्षी यो योजना निकै अघि बढिसकेको ई. यादवको भनाई छ । निगमले डिपोहरुलाई अटोमेसनमा लैजान कस्ता किसिमका उपकरण चाहिन्छ, कहाँकहाँ परिवर्तन गर्नुपर्छ, के कति खर्च लाग्छ, त्यसको लागि परामर्शदाता छनौटको काम अगाडि बढाइसकेको छ । हाल परामर्शदाता छनौटका लागि मूल्याँकन प्रक्रियामा रहेको निगमले जनाएको छ । ई. यादवको भनाईमा परामर्शदाता छनौट भइसकेपछि एक वर्षभित्रै मोडालिटी तयार हुन्छ, र कुनै अबरोध नआए २ वर्षभित्रै निगमका डिपोहरु पूरै अटोमेसनमा गइसक्छन् ।

अटोमेसनमा जाँदा निगमको छविमा व्यापक सुधार हुनेछ । तेल वितरणमा विगतमा उठाइने कैयौं आशंका र प्रश्नलाई यसले सम्बोधन गर्नेछ । निगमका अनुसार हालको म्यानुएल विधिबाट काम गर्दा निगमका कर्मचारीमाथि तेल कम दियो, अथवा अन्य गुनासाहरु हुने गर्दथे, अटोमेसनले त्यसलाई सम्बोधन गर्नेछ भने सेवाग्राहीमा पनि विश्वासको वातावरण बन्ने निगमको विश्वास छ । डिलरले पनि राम्रो सेवा पाउँछन् भने कर्मचारी पनि सुरक्षित हुन्छन्, ई. यादव भन्नुहुन्छ ।

भण्डारणका लागि डिजेलको ८ हजार ४०० किलोलिटर, पेट्रोलको ६ हजार २०० किलोलिटर र मटितेलको ७ सय ६० किलोलिटरका ट्यांक छन् । उहाँले भन्नुभयो, “अहिलेकै अवस्थामा डिजेल १० दिन र पेट्रोल एक हप्ताका लागि पुग्छ । तर हामी पेट्रोलका लागि करिब ५५ देखि ६० करोडको लागतमा चार–चार हजार किलोलिटर क्षमताका दुई वटा भण्डारण ट्याँक बनाउने क्रममा छौं, र यसको टेन्डर एक महिनाभित्रै गर्ने तयारी छ । यो ट्याँक बनेपछि थानकोट डिपोले २० दिनका लागि पेट्रोल आपूर्ति गर्न सक्नेछ ।”

डिजेल आपूर्तिमा भने निगमलाई कुनै समस्या नरहेको ई. यादवको भनाई छ । उहाँका अनुसार अमलेखगन्ज डिपोसम्म भारतबाट पाइपमार्फत निर्वाध रुपमा डिजेल आपूर्ति भइरहेको हुन्छ । पेट्रोल भने निगमले भारतको रक्सौल र बरौनी डिपोबाटै ल्याइरहेको छ । खासगरी अमलेखगन्ज डिपोमा पेट्रोल भण्डारणका लागि पर्याप्त ट्याँक नभएकाले पाइपबाट पेट्रोल ल्याउने कार्य शुरु भइसकेको छैन । यादवका अनुसार चाँडै निगमले अमलेखगन्जमा डिपो बनाउँदैछ, र त्यो बनेपछि सीमामा कुनै कठिनाई भए पनि पेट्रोल र डिजेल दुबैको आपूर्ति नेपालभित्र नियमित र सुलभ हुनेछ ।

थानकोट डिपोले काठमाडौं उपत्यकाका तीन जिल्ला सहित कूल १० जिल्लाका लागि पेट्रोलियम पदार्थ वितरण गरिरहेको छ । निगमका अनुसार थानकोट डिपोका लागि भारतबाट ४२५ वटा ट्याँकरले तेल ओसार्न अनुमति पाएका छन् । यस डिपोबाट तेल लिएर बिक्री गर्नेहरु काठमाडौं उपत्यकामा १२० तथा उपत्यका बाहिरका ६० वटा बिक्रेता छन् ।