२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
जातीय भेदभाव र छुवाछूत लोकतान्त्रिक र उन्नत समाजको बाधक होः मन्त्री वादी राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयकबारे विज्ञहरुसँग छलफल हुने तुलसा अधिकारी पुर्पक्षका लागि थुनामा, सम्पत्ति शुद्धीकरण र ठगी मुद्दा दायर नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

पदयात्राको गन्तव्य बन्दै देवचुली डाँडा



अ+ अ-

मध्यविन्दु (नवलपरासी) । नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा रहेको महाभारत पर्वत शृङ्खलाको देवचुली डाँडा धार्मिक पर्यटनसँगै पदयात्राको गन्तव्य बन्दै गएको छ । तीन कन्या माईको पूजा गर्न जानेहरू मात्र नभएर पछिल्लो समय दृश्यावलोकन र पदयात्राका लागि जानेहरू नियमितजसो भेटिन थालेका छन् ।

बुलिङटार गाउँपालिका र देवचुली नगरपालिकासँग प्रत्यक्ष सम्बन्ध राख्ने यो क्षेत्र धार्मिक, ऐतिहासिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदाका दृष्टिले पनि पर्यटकीय गन्तव्यका रुपमा विकास भइरहेको छ । देवचुली डाँडा तथा आसपास क्षेत्रको प्राकृतिक स्रोत, सम्पदा, सांस्कृतिक, पुरातत्व तथा धार्मिक मान्यताको संरक्षण र सम्वद्र्धन गर्न थालेपछि यहाँ आउने बढ्न थालेको देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिका अध्यक्ष विद्रोही गिरीले बताउनुभयो ।

“चुली, गुफा, भ्यूटावर, रुद्रपुरगढी, गोल पोखरी, शान्ति पार्क, वरचुली, झेरीखण्डे, तीन कन्यामाई यहाँका प्रमुख पर्यटकीय गन्तव्य हुन्”, उहाँले भन्नुभयो, “यी पर्यटकीय क्षेत्र अवलोकन गर्न पैदल आउने आन्तरिक पर्यटक बर्सेनि बढ्दै गएका छन् ।”

देवचुली डाँडा संरक्षण तथा पर्यटकीय क्षेत्र निर्माण समितिले पैदलमार्ग क्षेत्रमा सिँढी निर्माण तथा रेलिङको काम थालेको छ । करिब दुई किलोमिटर क्षेत्रमा सिँढी बनाउने काम पूरा गरेपछि यहाँ आउने पर्यटकलाई थप सुविधा हुने अध्यक्ष गिरीले बताउनुभयो ।

“यस वर्षसमेत गरी करिब सात सय मिटरमा सिँढी निर्माण भएको छ”, उहाँले भन्नुभयो, “राजमार्गबाट छोटो दूरीको ठाउँ भए पनि स्थानीय तह, प्रदेश र सङ्घीय सरकारले पूर्वाधार निर्माणमा ध्यान नपुर्‍याउँदा देवचुलीको पर्यटकीय पूर्वाधारले गति लिन सकेको छैन ।”

यस क्षेत्रमा बिदाको समयमा आउनेको सङ्ख्या बढ्दो छ । बोझा पोखरी होमस्टेमा बास बसेर बिहान पदयात्रा जानेहरूको गर्मी मौसममा लर्को नै लाग्ने गरेको देवचुली बोझा पोखरी मगर होमस्टेका सचिव हेमलाल बरालले बताउनुभयो । “मगर समुदायको कौरा, झ्याउरे, सोरठी, कृष्णचरित्र र रामायणमा आधारित मारुनी नाच यहाँको प्रमुख लोक संस्कृति हुन्”, उहाँले भन्नुभयो ।

देवचुली क्षेत्र जैविक विविधताले समेत धनी क्षेत्र रहेको छ । यो क्षेत्रमा साल, चिलाउने, चाप, लालीगुराँस, काउलो, तेजपत्ताआदि वनस्पति छन् । यसका अतिरिक्त पाखनवेत, पाँच औले, भूतकेस, तिते, सिकारी लहरा, गुजरगानो, कुरिलो, पिपला, अमारो, अमला, हर्रो, कटुस, चिउरी, रिठ्ठा, जालपुरेनी आदि जडीबुटीका कारण यो क्षेत्र विशेष महत्व राख्ने बरालले बताउनुभयो ।

पूर्व पश्चिम राजमार्गको दलदले बजारदेखि २० किलोमिटर उत्तरमा देवचुली पर्छ भने कालीगण्डकी कोरिडोरको कोखेबाट १३ किलोमिटर दूरीमा यहाँ पुग्न सकिन्छ । परापूर्वकालदेखि चलिआएको तीनकन्यामाई पूजाको प्रचलनले यस क्षेत्रको पर्यटनमा महत्वपूर्ण स्थान लिएको छ ।

एक हजार नौ सय ३६ मिटर अग्लो चुलीबाट उत्तरतर्फ मनै लोभ्याउने हिमाली दृश्य तथा दक्षिणतर्फका फाँट, नारायणी नदी, चितवन राष्ट्रिय निकुञ्ज र विभिन्न बस्तीको दृश्यावलोकन गर्न सकिने भएकाले यहाँ आउने पर्यटकको सङ्ख्या बढेको पर्यटन समितिका अध्यक्ष गिरीले बताउनुभयो ।

“चुलीको एक हजार आठ सय मिटर उचाइमा गुफा रहेको छ । द्वापर युगमा पाँच पाण्डव द्रौपदीसहित केही समय बास बसेको किंवदन्तीका कारण यस गुफाको छुट्टै महत्व छ”, उहाँले भन्नुभयो, “गुफाभित्र मानिस र जनवारका देखिने आकृति र सारङ्गीको धुन निस्कने ढुङ्गाका कारण यो गुफा विशेष आकर्षणका केन्द्रविन्दु बनेको छ ।”

यहाँबाट नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विभिन्न भूभागसहित तनहुँ, पाल्पा, कास्की, चितवनका भू–भाग अवलोकन गर्न सकिन्छ । देवचुली डाँडाको चुचुरोबाट उत्तरतर्फ देखिने मनमोहक हिम शृङ्खलाको दृश्यले यहाँ पुग्ने जो कसैलाई आनन्दित बनाउँछ । साथै दक्षिणतर्फ नारायणी नदी, पूर्व पश्चिम राजमार्ग छेउका घना बस्ती, चितवन राष्ट्रिय निकुञ्जको क्षेत्रसहित समथर भू–भाग डाँडाबाट सहजै अवलोकन गर्न सकिन्छ । रासस




भर्खरै