१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar सफ्टवेयर विकास केन्द्रको नियुक्तिमा सेटिङको आरोप, संसदीय छानबिन माग News Polar शनिबार र आइतबार अनिवार्य बिदा दिन विद्यालयलाई निर्देशन News Polar सेप्टेम्बरमा नेपाल भित्रिए ८८ हजार २४८ विदेशी पर्यटक News Polar परिवर्तनशील हिमालयमा जल सुरक्षाबारे संवाद News Polar कृषि क्षेत्रलाई उद्योगसँग जोड्ने नीति निर्माणमा सरकार केन्द्रित : मन्त्री चौधरी News Polar थापाथलीमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, तीन घाइते News Polar एसियाली तेक्वान्दोमा नेपालका दुई खेलाडी पहिलो चरणबाटै बाहिरिए News Polar हिमलुङ हिमपहिरोमा थप चार शव फेला, मृतकको संख्या ११ पुग्यो News Polar सांसदहरुले उठाएको राष्ट्रिय मुद्दालाई सरकारले बेवास्ता गर्‍योः प्रमुख सचेतक राई News Polar युटिएलले तिर्नुपर्ने बक्यौता र जरिवाना सरकारी बाँकी सरह असुलउपर गरिने News Polar हिमालय एयरलाइन्स द्वारा काठमाडौं–हाङझाउ–काठमाडौं सिधा उडान सुरु News Polar विश्वव्यापी साझा अवधारणाका साथ हिमालय संरक्षण अभियानमा निरन्तर पहल हुन आवश्यकः उपनेता पराजुली News Polar प्रधानमन्त्री शाहद्वारा अष्ट्रेलियाको सहयोगप्रति कृतज्ञता व्यक्त News Polar राईको सरकारलाई प्रश्न–‘सुशासन नारामै सीमित, जनताका मुद्दामा परिणाम खोइ?’ News Polar दूध ट्याङ्कर दुर्घटनाः सहचालकको मृत्यु News Polar कृषिको व्यावसायिकताका माध्यमबाट समृद्धिको लक्ष्यमा मकवानपुरको बकैया News Polar  प्रधानमन्त्रीज्यू, संसद् तपाईंको अनुकूलतामा चल्ने संस्था होइन News Polar धानखेती भरपर्दो नहुँदा किसान अन्योलमा News Polar प्रधानमन्त्री शाहसँग अष्ट्रेलियाका राजदूत अर्न्स्टको शिष्टाचार भेट News Polar गल्छी–बेत्रावती सडकको ट्रयाक खुल्यो, बेलिब्रिज जडानको तयारी

कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’

कलापरिषद्मा ‘देवीदेवता र तिनका बासस्थल’
अ अ+ अ-

काठमाडौँ । नेपाल कलापरिषद् यतिबेला झकिझकाउ छ । लाग्छ यहाँ देवीदेवताहरुको सम्मेलन भइरहेको छ । परिषद्का हल देवीदेवता र तिनका बासस्थलसम्बन्धी कलाले भरिएका छन् । अमूल्य चित्र यहाँ देख्न पाइन्छ । अग्रज र पुराना कलाकारका सिर्जना पनि राखिएका छन् । यो देवीदेवतासम्बन्धी अध्ययन गर्न र कलाकारका सीप अवलोकन तथा सिक्नका लागि उपयुक्त थलो बनेको छ ।

परिषद् र नेपाल हस्तकला महासङ्घले यो अवसर जुराइदिएको हो । योक्रम यही जेठ २८ गतेसम्म जारी रहनेछ । ‘नेपालका देवीदेवताहरु’ नामक दोस्रो संस्करणको जारी कला प्रदर्शनीमा देवीदेवताका आधुनिक, लोक, परम्परागत र समसामयिक कलाहरुलाई एउटै धरातलमा अन्तर्निहित गरी यहाँ प्रस्तुत गरिएको छ । प्रदर्शनीमा नेपाली कलाकारहरूले देवीदेवताको बाहुल्यतालाई धर्मनिरपेक्ष स्थानको सौन्दर्यतामा सजाएका छन् ।

प्रदर्शनीले देवीदेवताप्रतिको सहिष्णुता र अन्तरसम्बन्ध जगाउन, आगन्तुकलाई विविधतामा विचार गर्न उत्प्रेरित गर्ने तथा विभिन्न कलाकारको अभिव्यक्ति र प्रेरणाको सद्भाव तथा समर्पणमा जोडिन प्रेरित गरेको छ ।

यसले नेपाली कलात्मक सम्पदाको संरक्षण तथा नेपालको बलियो सांस्कृतिक सम्पदाका बारेमा आगन्तुकलाई जानकारी गराउन पनि मद्दत गर्ने परिषद् र यो प्रदर्शनीकी क्युरेटर स्वस्तीराज भण्डारी कायस्थले बताउनुभयो ।

उहाँ भन्नुहुन्छ, “यसपालीको प्रदर्शनी सन् २०२२ मा गरिएको पहिलो प्रदर्शनीको सफलताको उपलब्धि हो ।” उहाँले प्रदर्शनीमा कलापारखीभित्र छिर्नेबित्तिकै अनुभव नै देवी, देवतास्थलमा पुगेको होस् भनेर कोठाहरुलाई पनि त्यहीअनुसार सजाइएको र ढाँचा तयार पारिएको बताउनुभयो । यहाँ पाँच सय कलाकृतिमध्ये दुई चरणमा छनोट गरी उत्कृष्ट सिर्जना राखिएको उहाँको भनाइ छ ।

यस प्रदर्शनीमा हिन्दू र बुद्धधर्मसँग सम्बन्धित आधुनिककला, परम्परागतकला, लोककला र समसामयिक कलाअन्तर्गत एक सय ६३ अग्रजदेखि नव कलाकारका कलाकारले तयार पारेका दुई सय ३५ थान कलाकृति प्रस्तुत गरिएको छ । रु २२ लाख बढी मूल्य तोकिएका कलादेखि मूल्य नतोकिएका तर त्योभन्दा बढी मूल्यपर्ने कला प्रस्तुत गरिएकाले पनि यहाँको प्रदर्शनी खास देखिएको छ ।

यहाँ पुराना कलाकार तेजबहादुर मास्के, मत्स्यगोपाल वैद्य, शशि शाहलगायतका कला सिर्जना पनि अवलोकन गर्न पाइने अवसर प्राप्त छ । आज बुद्ध जयन्ती परेकाले पनि अझै यसको सान्दर्भिकता बढेको छ । स्वदेशी र विदेशी प्रदर्शनी अवलोकनमा आइरहेका छन् ।

यहाँ राखिएका कलाकृतिले हिन्दू र बौद्ध धर्मको उत्पत्ति तथा आधारभूत सिद्धान्तहरू, नेपालको मौलिक धर्म तथा दर्शन जगाउने र विगतका शताब्दीहरूमा सिद्धहरु, ऋषिहरू र विद्वानबाट पाएका विभिन्न देवीदेवताका अवतार तथा छविको असंख्य रूप, प्रतिकात्मकता र प्रतिमाको खोजीमा सघाउने छ । यस संस्करणमा देवीदेवताका बासस्थल झल्काउने कलाकृति पनि समावेश छन् ।

भुइँतलामा हिन्दू र बौद्ध धर्मका आधारभूत सिद्धान्त, ग्रह, देवता, लोकेश्वर, सम्भर र योगिनी, तारा, सिद्ध पुरुष, महाङ्काल, भैरव, अन्य बौद्ध देवता र देवीदेवताका बासस्थलको सुन्दर कलाकृति राखिएको छ । यस्तै नेपालबाट हराएका र फर्किएका देवीदेवताका फोटो प्रदर्शनी पनि गरिएको छ ।

माथिल्लो तल्लामा युरोपियन कलाकार नेल्सन फिरेराको मोबाइल फोनको फ्ल्यास लाइटबाट मात्र हेर्न सकिने ‘पेन्टिङ वीथआउट पेन्ट’ कलाकृतिले प्रदर्शनीलाई नयाँ पनि दिएको छ । परम्परागत कलाअन्तर्गत कमलको फूलको धार्मिक महत्वका बारेमा डिजिटल माध्यमबाट ‘एनिमेसन’ गरी आकर्षकरुपमा प्रस्तुत गरिएको छ । नेपालको धातुकलाको शुभारम्भदेखि अन्तसम्मका चरणबद्धरुप भिडियोसहितको प्रस्तुतिले प्रदर्शनीमा थप सुगन्ध थपिदिएको छ ।

माथिल्लो तलामा कोठालाई अँध्यारो बनाएर ‘डार्क’ कला प्रस्तुत गरी कलामा आयाम थपिदिएको छ । एउटा कोठामा कमलको फूल उनिएको सिर्जनालाई एनिमेसनमार्फत चार टुक्रा पारेर प्रोजेक्टरबाट प्रस्तुत गरी जीवन्त तुल्याइएको छ । त्यो कलालाई चलिरहेको अवस्थामा प्रस्तुत गरेर थप विस्तृत बनाइएको छ ।

एनिमेटेड सिर्जनामा तालमा कमल फूल फक्रिएको, कोपिला हाल्दै गरेको देख्न सकिन्छ । जुन प्राकृतिकरुपमा जसरी हावा चल्दा फूलहरु चलायमान हुन्छन्, त्यस्तै स्वरुपमा देख्न सकिने हुँदा कला पारखीहरु यहाँ पुगेर सेल्फी नलिइ फर्किंदैनन् । उक्त सिर्जना लोक चित्रकारले बनाउनुभएको हो । त्यसलाई डिजिटलाईजेसन गर्ने काम भने फायर स्टुडियोको सहयोगमा निकेश श्रेष्ठ, प्रविना जोशी र शशांक रञ्जितले गर्नुभएको हो ।

यहाँ ठूलाठूला मूर्तिकला र ‘इन्स्टलेसन’ कलाले प्रदर्शनीमा आकर्षण थपिदिएको छ । प्रदर्शनी उत्कृष्ट देखिएको कलाकार सिर्जनराज भण्डारीले बताउनुभयो । उहाँले पनि यहाँ भक्तपुर दरबार स्वायरलाई प्रस्तुत गर्नुभएको छ ।

अग्रज कलाकार हरिप्रसाद शर्माले इतिहास झल्काउँदै बनाउनुभएका सिर्जनाले यसअघि नै चर्चा पाइसकेको छ । यहाँ उहाँद्वारा सिर्जित पृथ्वीनारायण शाहले नेवार नाँच हेर्दै गरेको चित्र पनि राखिएको छ । उहाँको सिर्जनामा शाहले कान्तिपुर विजयसँगै वसन्तपुर हनुमानढोकामा परम्परागतरुपमा देखाइने नृत्य अवलोकन गरिरहेका छन् । साथमा नगरवासी युवायुवती तथा प्रौढ दरबारको पटाङ्गिनीमा जम्मा भएका छन् ।

प्रताप मल्लकालिन दरबार, इन्द्रजात्राको उत्सवका लागि सिँगारिएको देगुतले, जगन्नाथ, विष्णु, कागेश्वरी मन्दिरले उक्त क्षेत्र कलात्मक र शोभायमान छ । सिर्जनामा साँझको हल्का लालीयुक्त आकासले वातावरण मनमोहक पारेको देख्न सकिन्छ ।

हराएका र भेटिएका कलाकृति जान्न सकिने

प्रदर्शनीमा नेपालबाट हराएका र भेटिएका कलाकृतिबारे पनि जान्न पाइने अवसर छ । नेपाली संस्कृति र सम्पदाका आधारमा विगतदेखि ऐतिहासिक र धार्मिक कलाकृतिहरुको विशेष महत्व रहेको छ । यी सुन्दर कलाकृतिले हाम्रो दैनिकरुपमा अँगालेका रीतिथिति र जीवनशैली, सुन्दर बासस्थल आदिले नेपालीको मूर्तसांस्कृतिक सम्पदाको महत्व बोकेको छ ।

सन् १९५० पश्चात् अन्तर्राष्ट्रियस्तरमा जब नेपाली सम्पदाको पहिचान विश्वभर फैलियो । तत्पश्चात् यी कलाकृतिको चोरी निकासी संसारभरिका बजारमा हुन थाल्यो । यी पुरातात्विक महत्व भएका कलाकृति विशेष गरेर प्रस्तरकला, धातुकला, तेराकोटाका मूर्ति, अद्भूतकलाका मुखौटा, पूजाआजामा प्रयोग हुने सामग्री, हस्तलिखित पाण्डुलिपि, परम्परागत गरगहना आदि हराउने वा चोरी निकासी हुने गरेको छ ।

सन् २०२१ देखि यी हराएका एवं चोरी निकासी भएका नेपाली सांस्कृतिक सम्पदा र धरोहरको दाबी सङ्घसंस्था तथा व्यक्तिले गरी फिर्ता ल्याउने काम थालिएको थियो । फिर्ता आएका यी आस्था र श्रद्धाका प्रतीक रहेका सांस्कृतिक सम्पदा र धरोहर सम्बन्धित स्थानमा स्थापित भई पुन:धार्मिक, सामाजिक काम शुभारम्भ भएको पनि छ । परिषद्मा प्रस्तुत गरिएका फोटोले विभिन्न सालमा हराएका र फर्किएका कलाकृतिको घटनाक्रमलाई देखाइदिएको छ । रासस